आठौं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको भव्य समापन

आठौं संस्करणको अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको भव्य समापन

काठमाडौं : अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको आठौं संस्करण शनिबार भव्य समारोहबीच सम्पन्न भएको छ। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा तीन दिन चलेको प्रतियोगिता समापन भएको हो। कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अतिथिलाई पुष्प गुच्छा र बिरुवा दिएर स्वागत गरे। 

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनले कर्पोरेट जगतमा छुट्टै छाप पारेको बताए।‘यो प्रतियोगिताले नेपालमा मात्र नभएर विदेशमा पनि पहिचान बनाउन सफल भएको छ। यति मात्रै नभएर अन्नपूर्णले सञ्चालन गरेको जलवायुविरुद्धको अभियानले विश्वभर फरक सन्देश दिएको छ,’ उपाध्यायले भने, ‘यसरी विविध क्षेत्रबाट समाज र राष्ट्रलाई योगदान दिनुभएका अध्यक्ष क्याप्टेन रामेश्वर थापाबाट हामीले पनि सिक्न जरुरी छ।’ अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनलाई आफ्नो बैंकले पनि सहयोग गर्ने उनले बताए। ब्याडमिन्टनको विकास गर्न नेपालको बैंकिङ क्षेत्र नै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। 

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतिकुल अवस्थामा पनि प्रतियोगिता सफल गरेको भन्दै खुसी व्यक्त गरे। भविष्यमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रगियोगितामा अन्नपूर्णसँग सहकार्य गर्ने श्रेष्ठले बताए। कार्यक्रममा स्वाग मन्तव्य राख्दै अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले स्वस्थ राष्ट्र बनाउने अभियानमा अन्नपूर्ण मिडिया नेटवर्क चौतर्फि ढंगले लागेको बताए।

‘राजनीतिको प्रदूषण, जलवायु परिवर्तनको प्रदूषणदेखि मान्छेको शरिरभित्र हुने प्रदूषण अर्थात् अस्वस्थतालाई हटाउने अभियानमासमेत काम गर्दै आएका छौं,’ भण्डारीले भने, ‘यसै क्रममा यो ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो।’ समाजलाई सचेतनातर्फ लैजाने र नयाँ कुरा दिने काम समाचारबाट मात्र नभई अरु माध्यमबाट पनि गरिरहेका छौं भन्ने उदाहरण यो कार्यक्रम भएको उनको भनाइ थियो।

समापन मन्तव्य राख्दै नेटवर्कका चिफ मार्केटिङ अफिसर प्रनिल अर्यालले आगामी वर्ष अझ भव्य प्रतियोगिता गर्ने बताए। उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

कर्पोरेट ब्याडमिन्टनअन्तर्गत् कर्पोरेट रेगेलर मेन्स डबल्स, कर्पोरेट मेन्स सिंगल्स र स्पेसियल्ली बैंकिङ/इन्स्योरेन्स मेन्स सिंगल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। पुस २९ गते सुरु भएको प्रतियोगितामा दुई दर्जन कर्पोरेट हाउसका ५४ जना खेलाडीको सहभागिता थियो। 

विजयी खेलाडीलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी, इन्जिनीयर सागर थापा र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। 

अफिसियल, रेफ्री, म्याच कन्ट्रोल, अम्पायरहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागि सबैले अन्नपूर्ण मिडिया नेटवर्कको जलवायु परिवर्तनविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका थिए। 

प्रभु बैंक, एनसेल, यामाह फ्यासिनो, महालक्ष्मी पेन्ट्स, एभरेष्ट बैंक, रियल जुस, योनेक्स, शिखर इन्सुरेन्स, म्याजिक ह्यान्डवास, गोदरेज, अल्का हस्पिटल, यमयम क्याफे र काठमाडौं जिल्ला ब्याडमिन्टन संघले सहयोग गरेका थिए। कभर्डहलमा प्रवेश गर्दा माक्स र खोप कार्ड अनिवार्य गरिएको थियो। 

मेन्स डबल्सको उपाधि विशाल र विश्वासलाई

आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन रेगुलर मेन्स डबल्सको उपाधि विशाल खड्का र विश्वास नेपालले जितेका छन्। विन्दवासिनी प्रिन्टिङ एन्ड प्रेसका खड्का र बीएनएम सप्लायर्सका नेपालको जोडिले फाइनलमा केआरएस ट्रेडिङका रामकुमार बानियाँ र जेस्ट सेभिङ एन्ड क्रेडिटका सुजन थापालाई २१–१९, २२–२० ले पराजित गरे।  

शनिबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। यो विधामा सिटिजन लाइफ इन्स्योरेन्सका अभिषेक बोश र नाइग्रा फल्सका सुशिल श्रेष्ठ तथा इसा एन्ड इसिकाका नारायणप्रसाद गौतम र न्यु बिएस इन्टरप्राइजका अभिषेक गुरुङ सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्। 

बैंकिङ इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि रायमाझीलाई
आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन बैंकिङ/इन्स्योरेन्स मेन्स सिङगल्सको उपाधि लुम्बिनी जेनेरल इन्स्योरेन्सका गणेश रायमाझीले हात पारेका छन्। प्रतिद्धन्द्वि घाइते भएर खेल्न नसकेपछि उनी विजेता बनेका हुन्। 
फाइनल पुगेका सिटिजन लाइफका अभिषेक बोश डबल्सतर्फको सेमिफाइनल खेलका क्रममा घाइते भएपछि खेल्न सकेनन्। लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा शनिबार सकिएको खेलमा नेपाल एसबिआई बैंकका नवराज जोशी र कृषि विकास बैंका टक्कर कुँवर सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्। 

विशालले जिते मेन्स सिंगलको उपाधि
आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन रेगुलर मेन्स सिङगल्स उपाधि विन्दवासिनी प्रिन्टिङ एन्ड प्रेसका विशाल खड्काले जितेका छन्। बीएनएम सप्लायर्सका विश्वास नेपाललाई २१–१४, २१–१३ ले पराजित गर्दै खड्का विजयी गएका हुन्। 

खेल लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा भएको थियो। यो विधामा युनिक स्पोर्टका अनिल लाखे र जेस्ट सेभिङका सुजन थापा सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्। 

तस्बिर : अशोक दुलाल/ दीपेन श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.