पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि
सुन्नुहोस्

सुर्खेत : सुर्खेतमा सम्पन्न राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनल खेलमा नेपाल एपिएफ क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि हात पारेको हो। उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

उपाधिका लागि बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चमा एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल भएको थियो। उक्त खेलमा साविक विजेता एपिएफलाई ३–१ को सेटमा हराउँदै नेपाल पुलिस क्लब यसपटक राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हो। पुलिसले सुरुवाती सेट गुमाएको थियो। तर त्यसपछिका तीन वटै सेट आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि जित्न सफल भएको हो। योसँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ। 

निकै प्रतिस्पर्धात्मक देखिएको दुई समूह बीचको खेलमा एपिएफले पुलिसलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो। तर दोस्रो सेटबाट पुलिसले लगातार तीन वटा सेट जितेको थियो। पुसिलले एपिएफलाई दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–२३ ले हराउँदै प्रतियोगिताको उपाधि चुमेको हो। यो हारसँगै एपिएफले प्रतियोगितामा उपविजेतामै चित्त बुझाएको छ। 

प्रतियोगितामा च्याम्पियन बनेको पुलिसका स्पाइकरद्वय रविन चन्द र युवा स्टार पहल गहतराज सर्वोत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी बने। प्रतियोगितामा रविन सर्वोत्कृष्ट र पहल उदियमान खेलाडी घोषित भएका हुन्। पुलिसलाई प्रतियोगिताको उपाधि दिलाउन यी दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। 

सर्वोत्कृष्ट खेलाडी बनेका रविनले ट्रफीसँगै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै उदियमान खेलाडी पहलले ट्रफीसँगै ५ हजार रुपैयाँ हात पारेका छन्। पुलिसकै कप्तान इमबहादुर राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिएका छन्। 

त्यसैगरी एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए। उनीहरूले समान ५ हजार रुपैयाँका दरले नगद पुरस्कारसँगै ट्रफी हात पारेका छन्। विजयी टिम र खेलाडीहरूलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरे। 

यस्तै बिहीबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा हराएको थियो। गण्डकीले आर्मीलाई पहिलो सेटमा २५–२२ ले हराएको थियो। दोस्रो सेटमा भने गण्डकी २६–२४ ले पराजित भयो। त्यसपछिका सेटमा भने गण्डकीले लगातार बाजी मार्न सफल भयो। तेस्रो सेटमा आर्मीलाई २६–२४ ले तथा चौथो तथा अन्तिम सेटमा २५–२२ ले नतिजा निकाल्दै गण्डकीले जित निकालेको हो। 

यही पुस २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन वटा विभागीय र ७ वटा प्रदेश गरी १० वटा टिमको सहभागिता थियो। समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी प्रदेश थिए। यस्तै समूह ‘बी’ मा भने नेपाल आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश रहेका थिए। प्रतियोगितामा दर्शकको भीड लागेको थियो। 

प्रतियोगितामा खेल हेर्नका लागि दर्शकको भीड लागेपछि सहजताका लागि बसहरू नै लगिएको थियो। जहाँ दर्शकहरूले बसको छतमा बसेर खेल हेरेका थिए। कर्णालीमा २५ बर्षको अन्तरालमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको हो। 

कर्णालीले अर्को बर्ष मंसिरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ। यसैको पूर्वतयारी स्वरूप राष्ट्रिय भलिबल प्रतियोगिता कर्णालीमै सम्पन्न गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र संज्यालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.