किसानको रोजाइमा तरकारी खेती : छाकमात्रै टरेको छैन,आर्थिकस्तर नै फेरियो

किसानको रोजाइमा तरकारी खेती : छाकमात्रै टरेको छैन,आर्थिकस्तर नै फेरियो
तरकारी खेती गोडमेल गर्दै दुल्लुका एक किसान ।     हिक्मतबहादुर नेपा

दैलेख : पहाडी बस्ती । हरियाली गाउँ । जिल्लाको दुल्लु नगरपालिका–२ वडापोखराबासी सधैंजसो तरकारी खेतीको स्याहारमै व्यस्त रहन्छन् । तरकारी खेतीले यहाँका स्थानीयको बिहान बेलुकीको छाकमात्रै टरेको छैन्, आर्थिकस्तरमै फेरिएको छ । व्यवसायिक तरकारी खेती सिपले स्थानीयको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ । स्थानीय ३५ वर्षिया हिरा रावतको दिनको अधिकाँश समय घरछेउको पोखो बारीमा लगाएको तरकारी खेतीमै बित्छ ।

 यसअघि उनी सोहि बारीमा परम्परागत रुपमा नगदे बाली लगाउँथिन् । त्यसले परिवारको गर्जो टार्न धौ–धौ पथ्र्यो । तरकारी खेतीबाट हिरा सन्तुष्ट छिन् । भन्छिन्, ‘बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी चाहार्ने, बेर्ना छर्ने लगायतका काममै बित्छ,तरकारी खेतीले छाकमात्रै टरेको छैन्,आम्दानी पनि मिलेको छ ।’ 

null

बारीमा लगाएको टमाटर काँटछाँट गर्दै दुल्लुको भण्डारी गाउँकी एक महिला ।

दुईवर्षअघिसम्म हिराको परिवारले आफूलाई खानका लागि मात्र थोरै जग्गामा तरकारी लगाउँथ्यो । तरकारी खेतीबाटै मनग्य आम्दानी हुने देखेपछि ०७८ देखि व्यवसायिक रुपमै तरकारी खेती थालेको हिरा बताउँछिन् । ‘पहिला आफूलाई खान पुग्ने मात्रै तरकारी लगाउँथ्यौं, हाल ३ रोपनी क्षेत्रफलमा लटरम्म तरकारी फलेको छ,’हिरा भन्छिन् । उनका अनुसार उनको पाखो बारीमा टमाटर, प्याज, गोभी, करेला, रायो लगाएतका तरकारी उत्पादन हुने गरेको छ । उनी तरकारीका बेर्ना समेत उत्पादन गर्छिन् । ‘मौषम अनुसार तरकारीको बेर्ना पनि बिक्री हुन्छ,उत्पादन भएको तरकारी नजिकको बजारमा लगेर बेच्ने गरेका छौँ, आफ्नै बारीमा उत्पादन भएको अर्गानिक तरकारी खान पाएका पनी छौँ,व्यवसायिक तरकारी खेती सुरु गरेपछि आम्दानीसँगै खुसी मिलेको छ,’उनले भनिन् । 

तरकारीको अभावमा चाउचाउको तरकारी खानुपर्ने बाध्यता अहिले अन्त्य भएको हिराको भनाइ छ । अहिले त उनको गाउँ ‘स्मार्ट कृषि गाउँ’ ले परिचित   छ । दुल्लु क्षेत्रमा हजारौँ किसानहरु कृषि पेशामा आवद्ध छन् । तीमध्ये केहिले परम्परागत नगदेबाली खेती र तरकारी खेती दुवै अंगालेका छन् । 

null

तरकारीमा प्रयोग गर्न घरमै तयार पारिएको झोलमल ।

अधिकाँश परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीमा लागेका हुन् । सिजन अनुसार उत्पादित तरकारीले राम्रो भाउ पाएको भन्दै उनीहरु उत्साहित छन् । ‘वडापोखरा गाउँकै ४८ वर्षिय धर्मबहादुर थापा भन्छन्, ‘परम्परागत रुपमा नगदे बाली छोडेर तरकारी खेती लगाउँदा राम्रो उत्पादन भईरहेको छ,हामी त मख्ख छौँ ।’ उनले व्यवसायिक तरकारी खेती थालेको चारवर्ष भयो । स्थानीय वडापोखरा कृषक समुहका अध्यक्ष समेत रहेका थापा भन्छन् ‘वडापोखरा गाउँका ४८ घरपरिवार कृषक समुहमा आबद्ध छन्, उहाँहरु सबै तरकारी खेतीमै आबद्ध हुनुहुन्छ, पहिले जुन पाखो बारीमा नगदे बाली उत्पादन हुन्थ्यो, त्यो भन्दा बढी मौषम अनुसारको तरकारी फलिरहेको छ, सिजन अनुसार २–४ लाख कमाई हुन्छ, सबै खुसी छन् ।’ समूहमा आवद्ध भएकाहरुले जलवायूमैत्री तरकारी खेतीबारे ज्ञान सिप पाएको उनको भनाइ छ । 

यहाँका स्थानीयले वर्षौअघिदेखि लगाउँदै आएको नगदेबाली उत्पादन विस्तारै ह्रास आउन थाल्यो । व्यवस्थित नभएर होकी भन्ने लागेर किसानले विषादीको प्रयोग बढाए । विषादीको प्रयोगले उत्पादन बढ्नुपर्नेमा झन घट्दै गयो । माटोको उर्बरा शक्ति बढाउने उपाय खोज्दै जाँदा विषादीको प्रयोग छोडेर घरमै बनाउन सकिने कम्पोष्ट मल, झोल मल लगायत प्रविधि प्रयोग गरेको थापा बताउँछन् । स्थानीयस्तरमै बनाउन सकिने मल प्रयोगमा ल्याएपछि तरकारी उत्पादनमा वृद्धि भएको उनको अनुभव छ । 

किटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

किसानहरुले व्यवसायिक तरकारी खेतीमा होमिएपछि बजारमा पाइने किटनाशक विषादी प्रयोग गर्न छोडेका छन् । किसानहरुले जलवायु अनुकूलनमैत्री कृषि प्रविधि अपनाउँदै तरकारी खेती गरिरहेका छन्। उनीहरुले घरमै बनाउन सकिने जैविक विषादी, मल प्रयोग गर्ने गरेका छन् । रासायनिक मल र किटनाशक विषादी प्रयोग गर्दा रोग किरा बढि देखिने, तरकारी कुहिने, छिट्टै सड्ने समस्या बढि भएको किसानहरु बताउँछन् । 

जलवायु अनुकूलमैत्री कृषि प्रविधिबाट व्यवसायिक तरकारी खेती थालेपछि उत्पादन र आम्दानी राम्रो भएको स्थानीय नानकला थापा बताउँछिन् । भन्छिन्, ‘बजारमा पाइने किटनाशक विषादीको प्रयोगले उत्पादन कम हुने रहेछ, तरकारीमा लाग्ने रोग किरा नियन्त्रणका लागि विषादीको साटो जैविक विषादी प्रयोग गरिरहेका छौँ ।’ 

जैविक मल र जैविक विषादीको प्रयोग गरेर अर्गानिक तरकारी फलाएको उनको दाबी छ । आफूहरुलाई विभिन्न एनजीओ–आईएनजीओबाट आर्थिक तथा प्राविधिक सहयोग मिलेको थापा बताउँछिन् । संघसंस्थाको साथ पाएर तरकारी उत्पादनमा वृद्धिसँगै किसान परिवारको आर्थिकस्थिती सुधार तथा आत्मनिर्भर बन्न सहयोग पुगेको थापा बताउँछिन् । ‘हामी आत्मनिर्भर हुने बाटो खुलेको छ, तरकारी बेचेर परिवारको खर्च चलाउन र छोराछोरीलाई पढाउन सक्ने भएका छौँ,’ थापा भन्छिन् ‘घरखर्च कटाएर बचेको रकम समुहमा बचत गर्ने गरेका छौँ ।’

कृषि प्राविधिकहरुले घर–घरमा पुगेर प्राविधिक सल्लाह दिने गरेका छन् । किसानहरुले पक्की र कच्ची टनेलसमेत प्राप्त गरेका थिए । वडापोखरासँगै दुल्लुका विभिन्न वडाका किसान कृषक समूहमा आवद्ध भई व्यवसायिक तरकारी खेतीमा होमिएको कृषि प्राविधिक हिक्मेन्द्र माझी बताउँछन् ।

 दुल्लुको विभिन्न वडास्थित भगवती वडापोखरा कृषक समुह, तरिँया बेमौषमी तरकारी उत्पादन समूह, मुलपानी कृषक समूह, भण्डारी टोल बहुउद्देश्यीय कृषक समूह, कालिका दलित कृषि तथा पशुपंक्षी सहकारी समूहमा आवद्ध किसानहरु व्यवसायिक तरकारी खेतीमा सक्रिय छन् । उनीहरु परम्परागत खेती छोडेर तरकारी खेतीमा होमिएको कृषि प्राविधिक माझीको भनाइ छ । ‘यहाँका झण्डै दुई सय किसानहरुलाई अर्गानिक उत्पादनमा जोड्न जैविक विषादी, झोल मल प्रयोग गर्ने ज्ञान र सिप सिकाईएका छौँ,’जसले जमिनको उर्वरा शक्तिमा वृद्धि हुनुका साथै अर्गानिक उत्पादनमा टेवा पुगेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.