काम नगर्ने ठेकेदारलाई प्रशासन कार्यालयमा उभ्याएर 'केरकार'

काम नगर्ने ठेकेदारलाई प्रशासन कार्यालयमा उभ्याएर 'केरकार'
ठेकेदारलाई केरकार गर्न जिल्ला प्रशासन कार्यालयमा आयोजित स्थानीयबासीहरूको भेला ।तस्बिर : अन्नपूर्ण

गोरखा : जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पार्ने ठेकदारलाई पालुङ्टारका स्थानीयबासीले प्रशासन कार्यालयमा ठड्याएर केरकार गरेका छन् । प्याउदीखोला खत्रीटार पौवाटार हुँदै कालामाटा राधाकृष्णचोक जोड्ने सडक स्तरोन्नतिको जिम्मा लिएर काम नगर्ने अमर कन्स्ट्रक्शनका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय गोरखामा ठड्याएर स्थानीयबासीले झाँको झारेका हुन् ।

दुई वर्षभित्र सम्पन्न गर्नेगरी जिम्मा लिएको काम पाँच वर्ष वितिसक्दा पनि सम्पन्न नगरेको भन्दै पालुङ्टार नगरपालिका वडा नं ५, ६ र ७ का स्थानीयबासीहरुले निर्माण कम्पनीका प्रतिनिधि शिव चौलागाईँलाई काम गर्न प्रतिवद्ध गराएका हुन् ।

गण्डकी प्रदेशका पूर्वमन्त्री हरिशरण आचार्य, वडा नं. ६ का पूर्ववडाअध्यक्ष गोविन्द बराकोटीको नेतृत्वमा आएका स्थानीयहरुले काम अलपत्र पारेको,कामदारलाई भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीप्रति आक्रोश पोखेका थिए । साथै गरेको काम पनि गुणस्तरहिन नभएको आरोप लगाएका थिए ।

सो सडक स्तरोन्नतिको ठेक्का पारेको मुख्य कम्पनी अमर कन्स्ट्रक्शनसंग ज्ञानेश निर्माण सेवाका प्रोप्राईटर चौलागाईले २३ करोडमा जिम्मा लिएका थिए । पूर्वाधार कार्यालयमार्फत कार्यान्वयन गर्ने सो योजना गण्डकी प्रदेश सरकारबाट प्राप्त कार्यक्रम हो । 

दुईवर्षभित्र निर्माण सम्पन्न गर्न सो कम्पनीले कार्यालयसंग २०७६ सालमा ठेक्का सम्झौता गरेको थियो । तर पाँच वर्ष बित्दासम्म ५६ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । आयोजनाको दुई पटकसम्म म्याद थप हुँदा प्रगति भने जम्मा ५६ प्रतिशत मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

‘१० किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा ७ किलोमिटरसम्म बेस ओछ्याउने काम बाँकी छ’, पूर्व वडाअध्यक्ष बराकोटीले भने, ‘पुलको स्ल्याब, नाला निर्माण, सडक पिचको काम लगायतका कामहरु भएकै छैनन् । काम सक्नु त परको कुरा, गरेको काम पनि भत्किदै गएका छन् । पर्खाल र नालाहरु भत्किसके ।’

गुणस्तरहीन काम गरेको भनेर पूर्वाधार कार्यालयलाई जानकारी गराउँदा गराउँदै पनि वास्ता नगरेको उनले गुनासो गरे । ‘यो आयोजनाका लागि भनेर चलेको क्रसरबाट तनहूँतिर सामान गएको गयै छ । हामीले पूर्वाधार कार्यालयलाई पनि भनेका छौँ,प्रहरीलाई पनि भनेका छौँ,तर कसैले वास्ता गर्दैनन् । गिटी बालुवा ह्वार्रह्वारी बाहिर गएको गयै छ’,बराकोटीले भने,‘२० जना,२५ जना काम गर्न आउँछन् । १०, १५ दिन काम गर्छन् । तर कम्पनीले सामान पनि दिँदैन,पैसा पनि दिँदैन, रासन पनि दिँदैन । अनि रुँदै जान्छन् ।’

ठेकेदार कम्पनीलाई सडक निर्माणमा आवश्यक पर्ने नदीजन्य सामाग्री स्थानीयहरुको पहलमा पालुङटार नगरपालिका वडा नं ७ अबन्डाबाट उपलब्ध गराइएको छ । तर, ठेकेदारलाई उपलब्ध गराइएको नदीजन्य सामाग्री सो सडक निर्माणमा नभई अन्यन्त्र लगेर बेचिने गरेको आरोप पूर्वमन्त्री हरिशरण आचार्यको छ ।

 ‘साँढे दुई वर्षभित्र गर्नुपर्ने कालोपत्रेको काम करिब पाँच वर्ष पुगिसक्यो । दोब्बर समय थप हुँदा पनि आधा पनि काम नगर्ने तपाई कस्तो ठेकेदार हो ?’,उनले भने,‘राम्रो काम गरेको भए फूलको माला लगाएर घुमाउने भन्ने थियो,अब जुत्ताको माला लगाएर घुमाउनु पर्ने भएको छ । चार पटकसम्म मिटिङ भएको छ । प्रतिवद्धता व्यक्त गरेको गर्‍यै गर्ने, काम नगर्ने भएको छ ।’

केही दिन काम गरे जस्तो गरी बिल भुक्तानी गरेर लाने,भुक्तानी गरेको भोलिपल्टदेखि कामदार फिर्ता गरेर लैजाने गरेको उनले बताए । साथै उनले काम गर्न सजिलो होस् भनेर अवन्डाबाट बालुवा, गिटी, ढुङगा झिक्न दिएको तर यता रोड बनाउन दैनिक १, २ ट्रिप माल ल्यायो भने १०, १२ ट्रिप चाँहि बाहिर बेच्ने गरेको आरोप लगाए ।

ठेकेदार चौलागाईका कामदारका नाइके मकवानपुर उपमहानगरपालिका १२ का आईतमान घलानले ठेकेदारबाट भुक्तानी नपाउँदा समस्या भएको पीडा पोखेका छन् । मकवानपुरबाट आफ्नो छरछिमेकका २५ जनाको जिम्मा लिएर आयोजनामा काम गर्न आएको तर,आफूले लगायत २५ जनाले काम गरेको करिब १७ लाख रुपैयाँ रकम ठेकेदारले भुक्तानी नदिएको घलानले गुनासो गरे । 

घलान दम्पती अहिले पौवाटारको स्कुलमा जसो तसो जिविका चलाई रहेका छन् । उनीहरुलाई काम गरेका कामदारले पैसा मागेर धम्की दिँदै आएका छन् । पैसा तिर्न नसकेकै कारण बिगत एक वर्षदेखि गाउँ फर्कन नसकेको घलानको पीडा छ । ‘उता कामदार छिमेकीहरु घर घेरेर बसेका छन् । यता ठेकेदारले पैसा दिएको छैन । दशै, तिहार, माघेसंक्रान्ति मान्न घर जान पनि पाइएको छैन ।’

कामदारहरुको अगाडि आफु दोषी बन्नु परेको उनले बताए । ‘अरुको अगाडि त मै नराम्रो छु । पैसा दे नत्र मार्छु भन्छन्,त्यसैले बुढाबुढी र म यतै बसेका छौँ ,'उनले भने।’ उनी ठेकेदारले पैसा नदिएकै कारण लुकी लुकी बस्नु परेको बताउँछन् ।

यता ठेकेदार शिव चौलागाईले भने कोरोनाका कारण काम समयमा नसकिएको दाबी गरेका छन् । साथै मूल्यवृद्धि भएकाले मूल्यवृद्धि घट्ला र काम गरौँला भन्दाभन्दै ढिलाइ भएको पनि बताएका छन् । उनले मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीको रोहोबरमा भएको कार्यक्रममा काम सम्पन्न गर्न फेरि म्याद मागेका छन् । 

उनले अबदेखि आफू स्वयम् बसेर कामलाई गति दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ठेकेदार चौलागाईले पहिला काम गरेको ७० लाख भुक्तानी नपाएका कारणपनि कामको गति ढिलो भएको उनले बताए । स्थानीयहरुले भने आफूहरुले ठेकेदारलाई आवश्यक सहयोग र समन्वय गरिदिँदा समेत लापरवाहीपूर्वक काम गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.