बेंसीमा जाडो छल्दै घुम्ती स्कुलमा पढ्दै मुस्ताङका विद्यार्थी

बेंसीमा जाडो छल्दै घुम्ती स्कुलमा पढ्दै मुस्ताङका विद्यार्थी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम :  मुस्ताङका डेढ दर्जन सामुदायिक,संस्थागत र गुम्बा विद्यालय यतिखेर बेसींमा घुम्ती कक्षा सञ्चालनमा व्यस्त छन् ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको लोमान्थाङ  र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय  हिउँदयामको सम्भावित हिमपात र जाडो छल्न गण्डकी प्रदेशको राजधानी पोखरालगायतका स्थानमा झरेका हुन् ।

मुस्ताङका ५ स्थानीय तहका कूल ३४ सामुदायिक विद्यालयमध्ये उपल्लो मुस्ताङको लोमान्थाङ  र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका सामुदायिक,संस्थागत र गुम्बा विद्यालयहरू चालु शैक्षिक सत्रको मंसिर अगावै जाडो छल्न पारिलो स्थानमा स्थान्तरण गरिएको हो ।

 यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जननर्मल प्रस्तावित मावि,मुक्तिनमुना र लुप्रा आधारभूत विद्यालय पनि जाडो छल्न पोखरा झरेको बताइएको छ । तर,लोघेकर दामोदरकुण्ड -२ घमीको घमी आधारभूत र वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको जनशान्ति माविले विद्यालर्थीलाई पुस र माघ गरी  दुई महिना हिउँदे बिदा दिएको छ । 

तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका अन्तर्गतका पुरै विद्यालयलाई स्थानीय तहको निर्णय अनुसार हिउँदे बिदा दिएर विद्यालयको शैक्षिक पठन/पाठन बन्द गरिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट दिव्यदीप मावि छोसेर, छोन्हुप जिन्जु आधारभूत र राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ मंसिर अगावै घुम्ती कक्षाका लागि पोखरा झारिएको हो । उनीहरुलाई हिमाली छात्रावास सुविधा प्राप्त नगर्ने विद्यार्थीलाई प्रति विद्यार्थी दैनिक १२० रुपैयाँ गाउँपालिकाले दिने गरी घुम्ती कक्षा व्यवस्थापन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय बमोजिम बर्खायाममा साविक र हिउँदयाममा बेसीमा राखेर पठन/पाठन सञ्चालन गरिएको विद्यालय प्रधानाध्यापक वाङ्दी गुरुङले जानकारी दिए । हिउँदयाममा मौसम प्रतिकूलताका कारण यथास्थानमा राखेर विद्यार्थीलाई पढाउन नसकिने र साविकको स्थानमा पढाइ सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्यमा समेत समस्या हुने भएकाले बेसीमा घुम्ती कक्षा सञ्चालन गर्नु परेको प्रअ गुरुङको भनाइ छ ।

पोखरा महानगर पालिका—२५ हेमजा सुइखेतमा सो विद्यालयको आफ्नै निजी जग्गामा दुई तले पक्की भवन छ । हिउँदे कक्षा सञ्चालन गर्न स्थानीय शिक्षाप्रेमीहरुको आर्थिक सहयोगमा ३ रोपनी जग्गा खरिद गरेको विद्यालयले एक विदेशी संस्थाको सहयोगमा भवन समेत बनाएको विद्यालयका प्रअ वाङ्दी गुरुङले उल्लेख गरे । बेसीमा विद्यालयको भवन भएकाले घुम्ती कक्षा सञ्चालन गर्न सहज भएको उनको भनाइ छ । सो विद्यालयमा अहिले २३ जना विद्यार्थी र ६ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

यसैगरी लोमान्थाङ गाउँपालिकामा अवस्थित मञ्जुश्री गुम्बा विद्यालय,निफुक नाम्डोक गुम्बा विद्यालय, पाल नाम्ग्याल गुम्बा विद्यालय र महाकरुणा शाक्यापा गुम्बा विद्यालयले विगत वर्षझै यसवर्षपनि घुम्ती कक्षा सञ्चालन गर्न मंसिरको पहिलो सातामा बेसी झरेको हो । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाको ८ सामुदायिक विद्यालय मध्ये ७ वटा विद्यालयले यसवर्ष घुम्ती कक्षाका लागि बेसीमा शैक्षिक पठन/पाठन सञ्चालन गरिरहेका छन् ।

लोघेकर दामोदरकुण्ड-३ घिलिङको जनज्योति आधारभूत विद्यालयले तनहुको ढोरफेंदीमा कक्षा सञ्चालन गरेको छ । गतवर्ष घुम्तीमा नझरेको सो विद्यालयले यसवर्ष मंसिर ६ गतेदेखि ७२ जना विद्यार्थीलाई जाडो छल्दै शैक्षिक पठन/पाठन सञ्चालन गर्दै गरेको विद्यालयका प्रअ निमा ठिले गुरुङले जानकारी दिए । बेसीमा झरेर पढाई सञ्चालन गर्दा विद्यार्थीको सिकाई उपलब्धी प्रभावकारी भएको र यसमा विद्यार्थी र शिक्षक सन्तुष्ट रहेको प्रअ गुरुङको भनाइ छ ।

मुस्ताङको जनज्योति आवि लिलिङले पहिलो पटक घुम्ती कक्षाका अलावा विद्यार्थीको शैक्षिक,मानसिक र शारिरीक वृद्धि विकासका लागि दैनिक योगाभ्यास कक्षा समेत सञ्चालन गर्ने व्यवस्था समेत गरेको छ । विद्यालयले त्यहाँको एक तिब्बतीय स्कुललाई मासिक १ लाख बढी दिने गरी ३ महिनाका लागि भवन भाडामा लिएको हो । विद्यालयको घुम्ती कक्षा सञ्चालनका लागि सबै खर्च पालिकाले व्यवहोर्ने गरी विद्यार्थीलाई घमिलो स्थानमा पठन/पाठन गराइएको हो ।

यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयलाई पोखरा हेमजाको एक स्कुल भवन भाडामा लिएर घुम्ती कक्षा सञ्चालन गरिएको छ । लोघेकरको चराङ आवि,मराङ आवि,ढाक्मर आवि,शालिग्राम आवि, यारा आवि र घमी आवि गरी ६ वटा विद्यालयलाई अस्थायी मर्ज गरी पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको चराङ आविका शिक्षक  कमलकान्त न्यौपानेले जानकारी दिए । सो पालिकाको ६ वटा विद्यालयमा कक्षा १-३ पढ्ने जम्मा २३ जना विद्यार्थी छन् । 

बालविकाससहित कक्षा १/३ मा करिब ५ देखि ७ वर्ष उमेर समुहका बालबालिका छन् । हिउँदयाममा बेसीमा राखेर कक्षा सञ्चालन गर्दा अभिभावक,शिक्षक र कार्यालय सहयोगी सबैलाई सहज भएको उनले बताए । विद्यार्थी संख्या ज्यादै रहेको लोघेकरको ६ वटा सरकारी विद्यायलमा एक शिक्षक र एक कास मात्र कार्यरत छन् । घुम्ती कक्षामा सबै विद्यालयका शिक्षकहरुले प्रतिनिधित्व गर्दै शैक्षिक पठन/पाठन सञ्चालन गर्ने गरेको शिक्षक न्यौपानेले उल्लेख गरे । उनले न्यून विद्यार्थी रहेको ६ वटा स्कुलाई एक ठाउँमा स्थायी मर्ज गरी आवासिय सुविधासहितको विद्यालय सञ्चालन गर्न पालिकालाई अनुरोध गरे ।

उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा विद्यालय बर्सेनि यार्तुङ,तिजी पर्व सकिएर जाडो सुरु हुन थालेपछि बेसी झर्ने परम्परा छ । विगतमा वार्षिक शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रको पठन/पाठन गर्ने घुम्ती विद्यालयले यसपटक भने चालु शैक्षिककै पठन/पाठन गरेका छन् । उपल्लो मुस्ताङमा अहिले माइनस २० डिग्री तापक्रम रहँदा अत्यधिक चिसो छ । घुम्ती कक्षाका लागि बेसीको पारिलो स्थानमा पढ्न पाउँदा त्यहाँ विद्यार्थी समेत निकै खुसी छन् । जाडो छल्न झरेका घुम्ती विद्यालय बेसीमा ३ देखि ५ महिना सम्म रहन्छन् । त्यसपछि बैशाखमा साविककै स्थानमा शैक्षिक पठन/पाठन सञ्चालन गर्ने गरिन्छ ।

सरकारले देशभर शैक्षिक सत्र एकरुपता ल्याउन परिपत्र गरेसगै घुम्ती विद्यालयले त्यसलाई निरन्तरता दिएका हुन् । शैक्षिक सत्रले घुम्ती विद्यालयलाई असर नपर्ने भएपनि हिउँदे बिदा दिएका तल्लो मुस्ताङका विद्यालयलाई भने यसले शैक्षिक पठन/पाठन र नतिजामा नकारात्मक प्रभाव पार्ने देखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.