आयोजक बाहिरियो, चर्च ब्याइज झापा गोल्डकपको फाइनलमा

आयोजक बाहिरियो, चर्च ब्याइज झापा गोल्डकपको फाइनलमा
सुन्नुहोस्

झापा : चर्च ब्याइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै आयोजक झापा ११ एफसी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा आयोजक झापा ११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्च ब्याइज फाइनलमा प्रवेश छ। 

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्याइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो। झापा यसअघिका पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहँदै आएको छ। यो पटक सेमिबाटै बाहिरिँदा समर्थक मैदानमा निराश देखिए। 

उपाधिका लागि फागुन २८ गते हुने फाइनलमा चर्च ब्याइज विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग भिड्नेछ। पेनाल्टी सुटआउटमा चर्च ब्याइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे। चर्च ब्याइजका सर्ज डिकाको प्रहार विपक्षी गोलकिपर सुदिप लिम्बूले बचाए।  

झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष् चापागाईंले गोल गरे। प्रदीप बुढाथोकीको प्रहार क्रस वारमा लागेर फर्कियो। विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार चर्च ब्याइजका गोलकिपर दीप कार्कीले बचाए। खेल बराबरी भएपछि १४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो। सो समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो। अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्याइजको संकट टारेका थिए।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। घरेलु समर्थन पाएको झापाको तुलनामा चर्च ब्याइज बलियो देखिएको थियो। उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो।

पहिलो हाफमा भने दुवै टोली फिक्का रहे। खासै गतिलो अवसर बनाउन सकेनन्। खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए। ५३औँ मिनेटमा सुरज जिउ ठकुरीले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन्।

६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन्। एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे।  झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो। खेलको २६औँ मिनेटमा आशिष् चापागाईँले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए। ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो। 

आशिष् चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए। सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की घोषित भए। उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फागुन १९ बाट सुरु भएको गोल्डकपको विजेताले नगद १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.