भारतलाई पराजित गर्दै महिला साफ च्याम्पियनशिपको उपाधि बंगलादेशलाई
काठमाडौं : बंगलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बंगलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो। खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो।
पेनाल्टीमा बंगलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे। त्यसैगरी, सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके। भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन्।
त्यसअघि, खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो। खेलको ७१औँ मिनेटमा बंगलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन्। सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो। प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश र भूटानको सहभागिता थियो। –रासस