डियर टिचर्ससँग अनुरोध

डियर टिचर्ससँग अनुरोध

कञ्चनपुरको भीमदत्त नगरपालिका- १७ स्थित महाकाली बालविद्यालयका छात्र माधव कलौनीले शिक्षककै कुटाइबाट ज्यान गुमाउनुपर्‍यो । विद्यालयबाहिर साथीभाइसँग माधवले झगडा गरेको र अनुशासन सिकाउन भन्दै शिक्षकले कुटेको भनिएको छ । घटनापछि प्रहरीले प्रधानाध्यापक यशोदा जोशीसहित पाँचजनालाई नियन्त्रणमा लिएको सुनियो । यो घटना हुनुअघि धनकुटामा शिक्षकको कुटाइबाट तीन छात्रा घाइते भएको खबर बाहिरिएको थियो । यसुन ओझा नाम गरेका शिक्षकको कुटाइबाट जिल्लाको सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका १० कक्षाका छात्रा चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका थिए । प्रश्न सोध्ने क्रममा उत्तर दिन नसकेपछि शिक्षक कुटपिटमा उत्रिएका भनिएको छ ।

यसअघि यस्तै घटना गोरखा र रोल्पामा पनि भएको थियो । यसको फेहरिस्त लामो र दर्दनाक छ । डियर टिचर्स..., ‘एकपटक सोचिदिनुस् । के तपाईं, तपाईंले पढाएबाहेक अन्यत्र स्कुलमा आफ्ना नानीबाबू भर्ना गर्न सक्नुहुन्छ ?       अहँ ९९ प्रतिशतले यसो गर्न सक्नुहुन्न । किनभने, तपाईं आफ्ना नानीबाबूलाई पलभर पनि आफ्नो आँखादेखि दूर राख्न सक्नुहुन्न । तपाईंले हाम्रा नानीहरूलाई जुन व्यवहार गरिरहनुभएको छ, तपाईंलाई डर छ कि, अरू स्कुलमा कतै आफ्ना नानीले पनि यस्तै भोग्न नपरोस् । यसैले पनि तपाईं आफैंले पढाउने स्कुलमा नै आफ्ना बच्चा भर्ना गर्नुभएको छ । अर्काले तपाईंको बच्चालाई कुटेको त परै जाओस्, कर्के नजरले हेरिदिएको पनि तपाईंलाई मञ्जुर हुँदैन ।

रह्यो कुरा कलिलो ज्यानै लिने, भन्नुस् यो कसरी सहनुहोला तपाईं ? दुःखजिलो गरेर, आफूले पेट काटेरै भए पनि प्रत्येक महिनाको सुुरुवातमै तपाईंको स्कुलमा फी जम्मा गरिदिएर ६ घण्टाका लागि तपाईंलाई बच्चा सुम्पिने हो अभिभावकले । अनुरोध छ, कृपया सम्झिदिनुस् । चर्को फी तिरेर आफ्ना छोराछारी कुटाउन पिटाउन वा मार्न हामीले विद्यालय पठाएका हैनौं ।

डियर टिचर्स .... तपाईंको बच्चा अबोध र अर्काको बच्चा सबै जान्ने कसरी हुन सक्छ र ?       तपाईंको नानी अनुशासित र अरूको नानी मात्रै निकम्मा हुन कसरी सम्भव होला र ?       कि त तपाईंले दिने शिक्षा नै विभेदकारी हुनुपर्‍यो, जसले एउटा विद्यार्थी गतिलो र अर्को बेकम्मा भई हुर्कोस् । नत्र भने कुनै शिक्षकले, आफ्नै स्कुलमा, आफैंले पढाउने, आफ्नै बच्चालाई पिटेको मारेको किन छैन ?       कतै सुन्नुभएको छ, यस्तो ?       होइन भने आफ्ना नानी र अरूका नानी एकै देख्न किन नसकेको ?       साना नानीलाई अहिलेको चलनअनुसार यसै पनि पढाइको भार धेरै छ । पहिले पाँच वर्षसम्म आमाको काखमा हुन्थ्यो नानी । अहिले दुई अढाई वर्षबाटै आफूभन्दा धेरै वजनको झोला बोकेर स्कुल जाँदै छन् ।

एकातिर कलिलो मस्तिष्क, अर्कोतिर मास्टरको गाली, धम्की, कुटाइपिटाइ । मोबाइल, फोनजस्ता प्रविधिजन्य सामानको नजानिँदो लत अनि अभिभावककै समेत गाली र गुनासो । प्रविधिले गाँजेको अहिलेको युगमा चारैतिरबाट कोही निराश छन् भने अहिलेका साना नानी नै छन् । यस्तै नैरास्यमा ललितपुरका एक बालकले आत्महत्या गरेको समाचार पुरानो भएको छैन । स्कुलमा आफूलाई पढाउने शिक्षकले बिसञ्चो भएको कुरा नपत्याएको, छात्राको तुलनामा छात्रहरूलाई बढी यातना दिने गरेको भनेर उनले नामै किटेर आफ्नो जीवनकै अन्तिम हरफमा लेखेका छन् । ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा पढ्ने पाँच कक्षाका समीर लुङवाले सरस्वती मिस, दिवाकर सर र गोविन्द सरले आफू बिरामी भएको कुरा नपत्याएको उनले लेखेका छन् । यो घटनाले साना नानीको अनुरोधलाई बेवास्ता गरिनु हुँदैन भन्ने गतिलो सिख दिन खोजेको छ । उनीहरूको सानै केही अनुरोधमा कतिसम्मको भित्री रहस्य लुकेका हुँदा रहेछन्, त्यो पनि शिक्षा लिन सकिन्छ ।

आफ्नाजस्तै सबै स्कुले बालबालिका प्यारा हुन्छन् भन्ने मनन गरेर उनीहरूसामु कठोर होइन, दया-करुणा पोखेर नजिक हुनु टिचर्सको कर्तव्य हो ।

डियर टिचर्स.... कहिल्यै यो नसोच्नु कि तपाईंहाम्रा नानीलाई सित्तैमा पढाइरहेको छु । हामीले महिनाको सुरुवातमै तपाईंको स्कुलको अकाउन्टमा फी जम्मा गरिदिएका हुन्छौं । तपाईंको दक्षताअनुसार स्कुलले तपाईंलाई तलब दिएरै काम गराइरहेको हुनुपर्छ । फेरि किन नानीहरूलाई बारबार धम्कीको भाषा बोल्नुहुन्छ ?       सक्नुहुन्छ मायाले नै सिकाउनुस् । सक्नुहुन्न थोरै जाँच पडताल गर्नुस् । त्यो पनि सक्नुहुन्न भने अभिभावकलाई नै उसका कमजोरी बताइदिनोस् । होइन यतिले पनि बच्चा सुध्रिएन भने उसलाई उसकै हालतमा छोडिदिनोस् । वा त्यस्तो बच्चा राख्दा तपाईंको स्कुलको मान घट्छ भने अभिभावकलाई सम्झाइबुझाई गरी अरू नै स्कुलमा स्थानान्तर गर्न सइज्जत भूमिका खेल्दिनुस् । यसमा तपाईंको के जान्छ ?

तर होइन । तपाईंले एउटा भ्रम नै पालिरहनुभएको छ कि बालबालिकालाई प्रिन्सिपलकहाँ पुर्‍याएर उसलाई बेइज्जत गरिसकेपछि मात्र तपाईं एक अब्बल शिक्षक कहलिन्छु भन्न्े लाग्छ । सानै गल्ती गरेको किन नहोस्, कक्षाकोठका अरू सहपाठी, स्कुलकै अरू नानीहरू र प्रिन्सिपलकहाँ लगेर बरू नभएका उसका कमजोरी पनि खोतलिसकेपछि मात्र तपाईंले चैनको सास लिनुहुन्छ । त्यतिखेर तपाईं यो भुल्नुहुन्छ कि, तपाईंले दिएको पाइपवाला लौरोको शारीरिक चोटभन्दा सय गुना बढी मानसिक चोट उसलाई दिइसक्नुभएको छ । जुन कहिल्यै केही चिजले भर्पाइ गर्न सक्दैन । उखानै छ नि- एकले थुकी सुकी, सयले थुकी नदी । तपाईंले गाली गरे पो उसले भुलिजाला । किनकि, त्यो एक्लो डाँट भो । तर सबैसामु उसलाई सजाय दिँदा उसले सबैको हेय भावना कसरी सहन गर्ला ? कुरा कुटाइपिटाइको मात्र होइन । तिर्खाउँदा पानी पिउन नदिने, दिसा-पिसाब लाग्दा खपेर बस्नुपर्ने, कम्प्युटर क्लास भनेर फी काट्ने तर नानीहरूले कम्प्युटर देख्नै पनि नपाउनेजस्ता धेरै कुरा धरै स्कुलमा सुनिन्छ । सुधार्नु पक्ष धेरै छन् ।

डियर टिचर्स... तपाईंका कक्षाकोठाका नानीको कमजोरी तापाईंलाई थाहा होस्, उही कक्षाका साथीलाई थाहा होस्, उसका अभिभावकलाई थाहा होस् । योभन्दा बाहिरकालाई चर्को स्वरले थाहा दिएर हुनेवाला केही छैन । किनभने, सिकाउने तपाईं नै हो र सिक्ने तपाईंकै विद्यार्थी हो । प्रिन्सिपलले पनि केही गर्नुहुने छैन । साना नानीको कुन कुरा अब्बल छैन, त्यसलाई नउचालिदिनुस्, तपाईंको क्लासका नानीको कुन कुरा राम्रो छ, त्यसैलाई बुझेर अघि बढाइदिनोस् । अभिभावक सबैको पारिवारिक आर्थिक अवस्था एकै खालको हुँदैन । दुःखै गरेर भए पनि आफ्ना नानी राम्रा स्कुल पढून् भन्ने सबै आमाबुवा चाहन्छन् । कहिले च्यातिएको पोसाकमा आउला नानी, कहिले रुझेभिजेको बेलामा अरू नै पोसाकमा पनि आउला, उसलाई नहकार्नुस् । कारण सोध्नुस् । कहिले होमवर्क नसकिँदै आउला यस्तो बेला मायाका दुई शब्द बोलिदिनुस् । यसले उनीहरूलाई गल्ती नदोहोर्‍याउन सचेत गराउँछ । उनीहरूलाई मायाले राखिदिनोस् ।

डियर टिचर्स... तपाईंका नानी तपाईंलाई जति प्यारा छन्, हामीलाई पनि उत्तिकै प्यारा छन् । सन्तानको पीडामा तपाईं पनि रुनुहुन्छ र हामी पनि । आखिर हामीसँग माया गर्ने मुटु छ भने त्यो माया पाउने अधिकार पनि छ साना नानीहरूको । उनीहरूसामु कृपया कठोर भएर होइन, दया र करुणा पोखेर नजिक परिदिनोस् । यसरी सिकाउनुभयो भने तपाईंको यो सिकाइ पक्कै पनि खेर जाने छैन । वास्तवमा -ज्ञान माया र करुणा नै असल गुरुका पर्यायवाची शब्द हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.