शिक्षित समाजमै हुन्छ महिला हिंसा

शिक्षित समाजमै हुन्छ महिला हिंसा

छब्बीस–सत्ताईस वर्षकी एउटी महिला दुई सन्तान डोर्‍याउँदै स्कुल पुर्‍याउन गएको दैनिकजसो देख्थें। उनीसँग कुराकानी त्यति नभए पनि भेट भने भइरहन्थ्यो। भेट्दा उनी मुस्कुराइहाल्थिन्। उनको चालढाल र रुपरङ हेर्दा दुःखका रेखा कतै देखिँदैनथ्यो। केही हप्तादेखि उनीसँग भेट हुन छाड्यो।उनी फर्किएर आएकै दिन उनलाई देखेर म चकित परें। उनको शरीर निकै दुब्लाइसकेको, मुस्कुराइरहने ओठ सुकेको र अनुहारमा निराशाको भाव देखें। उनले सुन्दर पहिरन हटाएर हरियो र कालो लुगा लगाएकी थिइन्। जतिबेला पनि बाटोमा रोइरहेको देख्न थालें। कारण के रहेछ भनेर बुझ्ने प्रयास गरें।

उनको नाम रोशनी थियो। उमेरले केही जेठीजस्ती देखिएकीले मैले उनलाई नजिकै गएर रोशनी दिदी भनेर बोलाएँ। उनको चेहराको पीडा जान्नका लागि मैले सुरुमा केही भूमिका बाँधेर कुरा गरेपछि सोधें, ‘दिदी, तपाईंलाई के भयो ? किन रोइरहेको देख्छु ? ’ उनले छोटकरीमा वास्तविकता बताएपछि म छाँगाबाट खसेजस्तो भएँ। हृदयघातका कारण उनको पतिको मृत्यु भएको रहेछ। हिन्दु संस्कारअनुसार पतिको काजकिरिया गरिसकेर फर्किएकी रहिछन्।

मैले सान्त्वना दिँदै भनें, ‘दिदी, यस घटनाले तपाईंको जीवनलाई आकाशपाताल मोडिदियो। यति चाँडै जीवन साथी गुमाउँदा बाँकी जीवन चलाउन त कम्ता गाह्रो होला त ? हामी मर्ने र बाँच्ने कुरा हाम्रो हातमा हुँदैन। मान्छे हो, मरण त हुन्छ नै। तर दाम्पत्य जीवन अँगालेपछि तपाईंको जीवनमा यति चाँडै दुःखदायी घटना भयो। जे नहुनुपर्ने थियो, त्यही भयो। यस अवस्थामा आँसुमा डुबेर बस्दा जीवन बचाउन झन् गाह्रो हुन्छ। बरु साहस बटुलेर आफूलाई सम्हाल्नुपर्छ, योजना बनाएर पतिको बाँकी सपना म पूरा गरेरै छाड्छु भन्ने विश्वास जगाउनुपर्छ।’

काठमाडौंजस्तो शिक्षित समाज, परिवार र व्यक्ति भएको ठाउँमा युवतीले हिंसा भोग्नुपर्छ भने गाउँघरतिरको अवस्था कस्तो होला ?

रोशनी दिदीले मेरोे कुरा सुनेपछि केही बोलिनन्, मुख छोपेर रुँदैरुँदै गइन्। मैले उनी रुँदै गएको हेरिरहें। उनी गएपछि मलाई नरामाइलो लाग्यो। उनको मन यतिखेर पीडाले भरिएको छ। छटपटी छ। जतिखेर पनि उनका आँखामा पतिको तस्बिर छचल्किरहेको छ। सन्तति तस्बिर आइरहेको छ। मान्छेलाई जीवन साथी गुमाउँदाको पीडा कति पर्दो रहेछ भन्ने कुरा रोशनी दिदीको जीवनबाट महसुस गरें।

पाँच/सात वर्षका दुई सन्तानलाई जिम्मा लगाएर उनका पति अलबिदा भए, तर बाँकी जीवन पतिको जिम्मेवारीसमेत पूरा गरेर जिउनुपर्ने उनको दायित्व छ। मासिक सात हजार रुपैयाँ कमाइ हुने फाइनान्सको जागिरका भरमा आफ्नो र दुई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको दायित्व पनि उनकै काँधमा थपिएको छ। घरपरिवारको साथ र सहयोग पाए त सहज रूपमा पूरा गर्थिन् होला, तर त्यस्तो वातावरण पाउने अवस्था छैन। उनकी सासू छोराको अप्रत्याशित रूपमा अकालमा मृत्यु कसरी, के कारणले भयो भन्ने खोजीमा छैनन्, बरु यही बुहारीका कारण मेरो छोराको मृत्यु भएको हुनुपर्छ भन्ने सोचेर रोशनीलाई दैनिक दबाब दिने र झगडा गर्ने गर्दै आएकी रहिछन्। सासूका मनमा बुहारीले ती लालाबालालाई कसरी हुर्काउँछे भनेर साथ र सहयोग गर्नुपर्ने होइन र ? उनको पतिको मृत्यु हुनुमा उनको के दोष ? रोशनी दिदी प्रतिनिधि पात्र मात्र हुन्।

नेपालमा अझै पनि कयौं महिला घरपरिवार, समाज र छिमेकबाट अनेक लाञ्छना सहन र भोग्न विवश छन््। किताब र कानुनमा महिला अधिकारका कुरा जे लेखिए पनि वास्तविकता विल्कुल फरक छ। महिलामाथि हुने हिंसामा कमी आएको छैन। युवावयमा सिन्दूर पुछिएपछि महिलाको घरपरिवारबाट अपहेलित हुनु त पर्छ नै, घरबाट निकालिनुपर्ने अवस्था पनि आउँछ। काठमाडौंजस्तो शिक्षित समाज, परिवार र व्यक्ति भएको ठाउँमा युवतीले हिंसा भोग्नुपर्छ भने गाउँघरतिरको अवस्था कस्तो होला ?

हाम्रो समाजमा महिलाप्रति हेरिने दृष्टिकोण विचित्रको छ। त्यही महिला कहिले जननी, साक्षात् देवी, कुमारी भनेर घरघरमा पुजिन्छन्, कहिले राक्षसनी, कुलाघार्नी, बोक्सी, छौंडी, वेश्या आदिआदि आरोप लगाएर तिनलाई मानसिक तथा शारीरिक यातना दिइन्छ, गाउँबाट लखेटिन्छ र मलमूत्र कोच्याइन्छ। जबकि कुनै पनि परिवारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि महिलाको अहम् भूमिका हुन्छ भन्ने कुरा हाम्रो सामन्ती समाजले कहिल्यै सोच्दैन। राजनीतिक चेतना र शिक्षाको स्तर यति माथि उठिसक्दा पनि महिलाप्रतिको हाम्रो समाजको सोचाइचाहिँ किन हट्न नसकेको हो ? 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.