सामाजिक सञ्जालले सेलिब्रेटी बनाएका बालबालिका

सामाजिक सञ्जालले सेलिब्रेटी बनाएका बालबालिका

हिजोआज आफ्नो प्रतिभा देखाउन कुनै स्टेज वा प्लेटफर्म खोज्दै भौंतारिनु पर्दैन। प्रविधिले यसलाई सजिलो बनाइदिएको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालमा विश्वका ठूलठूला सेलिब्रेटीदेखि प्रतिभाशाली व्यक्ति जो कोहीले सजिलै आफ्नो क्षमता देखाउन सक्छ।

यस्ता सञ्जालको भरपूर प्रयोग गर्नबाट बालबालिका पनि पछि परेका छैनन्। भर्खरै मामा, पापा भन्न सिकेका बालबालिकादेखि ठूला बालबालिका पनि सेलिब्रेटी बनिसकेका छन्।

फेसबुक, इन्स्टाग्राम, युट्युब आदिमा निकै चर्चा बटुलेर बालसेलिब्रेटी बनिसकेकी बालिका हुन् साइलेन श्रेष्ठ। उनको भिडियो देशमा मात्र होइन विदेशमा पनि निकै लोकप्रिय बनेको छ। साइलेन भर्खर तीन वर्षकी भइन्। उनले अभिनय थालेको जम्मा ६÷७ महिनामै पाँच सयभन्दा बढी भिडियोमा अभिनय गरिसकेकी छिन्।

साइलेनका बुवा सञ्जित श्रेष्ठ विगत करिव १२ वर्षदेखि गायन, निर्देशन, सिनेम्याटोग्राफरलगायतका क्षेत्रमा संलग्न छन्। जतिबेला साइलेन १८ महिनाकी मात्र थिइन्, त्यतिबेलादेखि सञ्जितले उनले गरेका विभिन्न क्रियाकलापलाई भिडियो बनाएर फेसबुकमा राख्न थालेका हुन्। ती भिडियोलाई दर्शकले खुब रुचाए। सबैले सेयर गरेपछि साइलेन एकाएक भाइरल भएको उनले बताए। उनले भने, ‘कमेन्ट मात्रै ३० देखि ४० हजारसम्म आउँथे।’

यसरी जुन भिडियो हाले पनि एक हजारभन्दा बढी कमेन्ट र दुई हजारको हाराहारीमा सेयर हुन थाले। ती भिडियोहरू युट्युबबाट तानेर अरूले टिकटकमा हालेपछि उनी टिकटकमा पनि भाइरल भइन्। भर्खरै दुई महिना अगाडि मात्र उनको नामको टिकटक आईडी उनका बुवाले बनाइदिए। दुई महिनामै एक लाख ५० हजारभन्दा बढी फलोअर्स उनले कमाइसकिन्।

धेरैले रुचाएपछि उनले ‘बुवा र छोरी’ नामको एक एपिसोड सुरु गरे। जसमा उनी जेजे भन्थे साइलेनले त्यो नक्कल गर्छिन्। साथै बुवाले सोधेको प्रश्नको जवाफ दिन्थिन्। यसको २५ वटा एपिसोड अपलोड भइसकेका छन्। निरन्तर अभ्यासले साइलेन क्यामेरासँग निकै फ्यामिलियर भएको बताउँछन,् सञ्जित। उनी भन्छन्, ‘पहिले उनलाई चार मिनेटको भिडियोमा अभिनय गर्न दुई तीन दिन लाग्थ्यो भने अहिले उनले दुई तीन घण्टामै गर्न सक्छे।’ उनले केही समयअगाडि देवीका बन्धना र राजेश महर्जनको स्वरमा सजिएको ‘आँखी झ्यालैमा’ बोलको गीतमा पनि अभिनय गरिसकेकी छिन्। यसको भ्युज एक मिलियनभन्दा बढी नाघिसकेको छ। त्यसैगरी नेपाल सरकारले दादुरा, रुबेलाविद्धको खोप अभियान सुरु गरेको छ। एक साता अगाडि बनाइएको यसको विज्ञापनमा उनलाई नै देख्न पाइने भएको छ। साथै उनी क्यारिकेचर गर्नमा पनि निकै सिपालु छिन्।

साइलेन फिल्म हेर्न, गेम खेल्न, फेसबुक चलाउनभन्दा पुस्तक पढ्न, कलम समातेर चित्र कोर्न र लेख्न रुचाउने बताउँछन्, सञ्जित। उनको भिडियो खासगरी आफ्नो छोराछोरीलाई छोडेर विदेश गएकाहरूले बढी रुचाएको उनको अनुभव छ।

पूर्वमिस नेपाल जेनिशा मोक्तान र व्यावसायि दिकेश मल्होत्राकी छोरी दिया पनि युट्युबमा चर्चित बालसेलिब्रेटीमध्येकी हुन्।

क्रिसमसको दिन जन्मिएकी दियाको जन्मनेबित्तिकै उनका आमाबाबुले इन्स्टाग्राम एकाउन्ट खोलेर उनको पहिलो फोटो सार्वजनिक गरेका थिए।

दिकेशले आफ्ना धेरैजसो ब्लगमा आफ्नी छोरीलाई पनि राख्ने गरेका छन्। दिया केही महिनाको हुँदा नै हङकङ गएको र अन्य धेरै देशको भ्रमण गरेको भिडियो युट्युबमा राखिएको छ। त्यसैगरी दियाको पास्नी, पहिलो दसैंलगायतका विभिन्न अवसरदेखि उनको दुई वर्षको जन्मदिन मनाउँदाको पूजाआजादेखि उनको ग्रान्ड बर्थ डे पार्टीको समेत भिडियोलाई धेरैले हेरिसकेका छन्।

आफ्नो नृत्यले युट्युव तथा फेसबुकमा दर्शकको मन जितेर निकै चर्चा कमाइसकेको अर्को बालसेलिब्रेटी जोडी हो, अभय र आयुष चौधरी। यी दुवै दाजुभाइ हुन्।

नौ वर्षीय आयुष अहिले कक्षा ३ मा पढ्छन् भने १३ वर्षीय अभय कक्षा ७ मा पढ्छन्। उनीहरू आफ्नो सपनाभन्दा बुवाको सपना पूरा गर्न यस क्षेत्रमा लागेको सुनाउँछन्। तर, आफूहरू पनि नृत्यकै लागि जन्मिएको भन्दै गर्व महसुुस गर्छन्। भन्छन्, ‘हाम्रो बुवाको डान्सर बन्ने ठूलो सपना थियो। उहाँले हामीलाई सिकाउनुहुन्छ। हामी उहाँकै लागि डान्स गर्छौं। हामीमा त्यो क्षमता पनि छ।’

उनीहरूका बुवा हुन्, ओम चौधरी। ओमले छोराहरूको कला सबैले हेरुन् र नृत्यमा पनि भविष्य छ भन्ने समाजले बुझोस् भनेर छोराहरूलाई नृत्यमै लगाए। सन् २०१७ फ्रेब्रुअरी ७ मा आफ्ना छोराहरूको नामको पहिलो अक्षरबाट ‘ए स्क्वायर क्रु’ नामक युट्युब च्यानल खोले। यसमा उनीहरूको नृत्य अपलोड गर्न थाले। अहिले उनीहरू ‘ए स्क्वायर क्रु’कै नामले चिनिन्छन्।

ओमलाई डान्सर बन्ने ठूलो सपना थियो। आर्थिक अभावका कारण आफ्नो सपना पूरा गर्न सकेका थिएनन्। त्यसैले उनी आफ्ना छोराहरूमार्फत त्यो सपना पूरा गर्न चाहन्थे। उनी आफ्नो छोराहरूलाई लिएर भारतको डान्स रियालिटी सो ‘डान्स प्लस ४’ मा पुगे। अडिसन राउन्ड पार गरे। उक्त भिडियो पनि फेसबुक तथा युट्युबमा भाइरल भएको थियो।

‘नाइँ मलाई थाहा छैन’ भन्ने गीतको बोलमा नृत्य गरेपछि ‘ए स्क्वायर’ सबैको नजरमा परे। त्यसपछि निरन्तर धमाकेदार नृत्य अपलोड गरे। उनीहरूको च्यानललाई करिब पाँच लाख दुई हजारभन्दा बढीले सब्सक्राइब गरेका छन्। अहिलेसम्मकै सबैभन्दा बढी भ्युज पाएको भिडियो हो, ‘दामे टु कोसिटा’। यसले एक सय एक मिलियन भ्युज पाएको छ। उनीहरूको प्रायजसो भिडियोले लाखौंको संख्यामा भ्युज बटुल्ने गरेको छ। पछिल्लो समयमा ‘बाला’ बोलको गीतमा उनीहरूले नृत्य गरेका छन्। उक्त भिडियोलाई दर्शकले निकै रुचाएका छन्। आफ्नो च्यानलबाट यिनीहरूले एक सय ३० भन्दा बढी भिडियोहरू अपलोड गरिसकेका छन्।

अहिले उनीहरूले युट्युबबाट मात्र नभएर प्रत्यक्ष रूपमा मानिसलाई आफ्नो नृत्यबाट मनोरञ्जन दिँदै भिडियो बनाउने गरेका छन्। यसबारे ओम भन्छन्, ‘मेरा छोराहरूको आत्मविश्वास अझै बढोस् भनेर मानिसकै अगाडि नाच्न लगाएर भिडियो बनाउने गरेको छुँ। यो निकै प्रभावकारी पनि भएको छ।’

त्यसैगरी बालबालिकाले गाएका विभिन्न गीतका भिडियोहरू पनि युट्युबमा लोकप्रिय बनेका छन्। ओएसआर डिजिटलले राखेको ‘बालाखैमा दिल बस्यो गौंथली, नभागौं त मनमा पो खल्बली, भागौं भने बालविवाहको मुद्दा चलानी’ बोलको गीतले एक करोड ३३ लाखभन्दा बढी भ्युअर्स बटुल्न सफल भएको छ। यसका गायक रूपेश चन्द पनि युट्युबमा निकै लोकप्रिय छन्।

एक अनलाइन मिडियाले गत नोभेम्बर महिनामा युट्युबमा चर्चित १० उत्कृष्ट बालगायक गायिका क्रमशः दसौंदेखि एआर बुढाथोकी, जिग्मे छ्योकी घिसिङ, समीर तामाङ, शिशिर श्रेष्ठ, रूपेश चन्द, संयोग योगी, अशोक दर्जी, आयुश केसी, प्रितम आचार्य र कमला घिमिरे रहेकी छन्।

तेस्रो र दोस्रोमा पर्न सफल १२ वर्षीय आयुश केसी र ११ वर्षीय प्रितम आचार्यले एक भारतीय रियालिटी सोमा समेत आफ्नो स्वरको जादु देखाइसकेका छन्। त्यसैगरी नम्बर एकमा पर्न सफल ११ वर्षीया कमला घिमिरेका लोकदोहोरी गीतले विश्वभर करोडौं प्रशंसकको मन जित्न सफल भइसकेकी छन्। अंकुर

बक्समा


युट्युबर श्रीराजको प्यासन

बानेश्वरमा बस्ने श्रीराज चापागाईं काठमाडौं गुरुकुल स्कुलमा कक्षा ४ मा पढ्छन्। उनी ९ वर्षका भए। उनको मुख्य ‘प्यासन’ युट्युबर बन्नु हो। उनले युट्युबमा भिडियो बनाउन भर्खरै सुरु गरेका हुन्।

पढ्नमा पनि उनी राम्रा छन्। कक्षामा उनको पोजिसन तेस्रो हो। पढाइसँगसँगै उनले युट्युब भिडियो पनि बनाउँछन्। भिडियो बिदाको बेलामा आफ्नै आईप्याडमा बसेर बनाउने गर्छन्।

भिडियो बनाउँदा पहिले रेकर्ड गर्ने अनि त्यसलाई इडिट गरेर युट्युबमा राख्छन् श्रीराज। उनका भ्युअर्स त्यति धेरै छैनन्, तर उनले प्रयास जारी राखेका छन्।

उनको युट्युब आईडी ‘आएमफायरस्लाइम’ हो। उक्त नाम उनले दुईवटा युट्युबरको नाम जोडेर राखेका हुन्।

उनले धेरै लाइभ भिडियोहरू बनाउँछन्। लाइभ भिडियोबाहेक गेमका न्युज, स्टोरी टेलिङ, गेमिङ, एनिमेसनजस्ता भिडियोहरू उनले बनाउने गरेका छन्। वेबसाइट डिजाइनिङ, फुटबल, बास्केटबललगायतका खेल खेल्ने र चित्र बनाउने उनका रुचि हुन्।

अहिलेसम्म उनले बनाएका भिडियोहरू एक सय ६ वटा भइसकेका छन्। भविष्यमा उत्कृष्ट युट्युबर बन्ने उनको लक्ष्य छ।

उनले नेपाली तथा अमेरिकी युट्युबरलाई फलो गर्छन्। भन्छन्, ‘कुनै कुनै भिडियोहरू तीनै युट्युबरलाई हैर्दै बनाएको छु। युट्युबरमा टप हुने सपना छ।’

उनलाई आमाबुबाले पनि भिडियो बनाउन सहयोग गर्छन्। नेपालमा युट्युबरको भविष्य राम्रो होला जस्तो उनलाई लाग्दैन। त्यसैले अमेरिका गएर चर्चित युट्युबर बन्ने उनको सपना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.