रक्तदाताको मूल्य !

रक्तदाताको मूल्य !

‘सुरक्षित रगतले बचाउँछ जीवन,रक्तदान गरौं र स्वस्थ्य संसार बनाऔं’ नारासहित यस वर्षको विश्व रक्तदाता दिवस आज मनाइँदैछ। विश्व स्वास्थ्य संगठनले हरेक वर्ष जून १४ मा यो दिवस मनाउँदै आएको छ। ‘रगतले जीवन बचाउँछ, स्वस्थ रगत म आफैंबाट सुरु हुन्छ’ भन्ने नारासहित पहिलोपटक विश्व स्वास्थ्य संगठनले सन् २००४ मा यो दिवस मनाउन थालेको हो। आफ्नो शरीरको रगत पीडित पक्षलाई दानस्वरूप प्रदान गरी पीडित पक्षको स्वास्थ्य लाभ होस् भन्ने हेतुले प्रत्येक स्वयंसेवी रक्तदाताले निर्विकल्प रहेको रगत निरन्तर दान दिँदै आएका छन्। यस अर्थमा उनीहरूका लागि यो महान् उत्सव रहँदै आएको छ।

विविध नारासहित प्रत्येक वर्ष मनाइँदै आइएको विश्व रक्तदाता दिवस, दिवसमा मात्र सीमित भयो कि साँच्चै उपलब्धिमूलक भयो त ? यसको लेखाजोखा हुन जरुरी छ। हाम्रो देशको सन्दर्भमा भने यो दिवसलाई परिणाममुखी बनाउन सकिएको छैन। जसको कारण रगत अभावका समाचार सुन्न र पढ्न बाध्य हुनुपर्छ। सक्षम जनशक्ति र गुणस्तरीय प्रविधि पर्याप्त नहुँदा रगतकै कारण अनाहकमा पीडितले आफ्नो ज्यानसमेत गुमाएको अवस्था छ।

रगत नपाएर कसैले पनि उपचारका क्रममा प्राण त्याग्न नपरोस् भनी नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आफ्ना सदस्यको देशव्यापी सञ्जालमार्फत् पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएको रक्त–तत्तवहरू ढिलोचाँडो आवश्यकता अनुरूप उपलब्ध हुँदै आएको छ। स्वयंसेवी तवरले निस्स्वार्थ भावका साथ आफ्नो शरीरको रगत दान गर्ने मनग्ये स्वयंसेवी रक्तदाता हुँदाहुँदै प्राविधिक पक्षको लापरबाहीका कारण उपचारका क्रममा पीडितले ज्यान गुमाउनु परेको तीतो सत्य हामीसँग छ। उपचारका क्रममा चिकित्सकबाट माग गरिएका रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको सम्बन्धित निकायद्वारा सम्बोधन हुन नसक्दा पीडित पक्षले हाम्रो सञ्जालमा हारगुहार गर्दै सेवाका लागि सम्पर्क गर्दै आएको छ। हालसम्म स्वयंसेवी रक्तदाताको सक्रियतामा पीडित पक्षलाई खालि हात पठाउनु परेको छैन।

हाम्रो देशमा स्वयंसेवी रक्तदाताको संख्या दिनप्रतिदिन उल्लेख्य वृद्धि भइरहेको छ। संसारमै स्वयंसेवी रक्तदाताको संख्यामा क्रमिक रूपमा गुणात्मक वृद्धि हुँदै गइरहेको देश नेपाल नै हो भन्दा अत्युक्ति नहोला। हाम्रो देशमा रगत संकलक र वितरकबीच तालमेल नमिल्दा रगत र रगतबाट तयार पारिएका रक्ततत्वलाई समयमै प्रयोगमा ल्याउन सकिएको छैन। त्यसले गर्दा नष्ट पार्नुपर्ने दुःखद् अवस्था सामना गर्नु परिरहेको छ। यो व्यवस्थापन पक्षका लागि शोभनीय होइन। यो व्यवस्थापनमा देखिएको कमजोरी हो।

विविध नारासहित प्रत्येक वर्ष मनाइँदै आइएको विश्व रक्तदाता दिवस, दिवसमा मात्र सीमित भयो कि साँच्चै उपलब्धिमूलक भयो त ?

यो पुनीत दिनमा स्वयंसेवी रक्तदातालाई सम्मान र धन्यवाद मात्र दिएर टार्दा कतै अन्याय त हुँदैन ? स्वयंसेवी रक्तदाताले दिएको अमूल्य रगतको उचित व्यवस्थापन गरी एक थोपा रगत पनि नालीमा फाल्ने छैनौं भनी सम्बन्धित निकायले प्रतिबद्धता जनाउनुपर्ने दिन पनि हो आज। तबमात्र रगत र रगतबाट तयार पारिएको रक्ततत्वहरूको महत्तव थप दर्शिनेछ, सही सदुपयोग भएको बोध पनि हुनेछ। गत वर्ष विश्व रक्तदाता दिवस नेपालमा मनाइरहँदा रूवाण्डाको किरिगाल सहरमा विश्व रक्तदाता दिवसको अन्तर्राष्ट्रिय कार्यक्रम भइरहेको थियो। स्वयंसेवी रक्तदातालाई थप हौसला र उत्साह प्रदान गर्न देशभर विविध कार्यक्रम आयोजना गरी मनाएका थियौं। तर यस वर्ष कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रूप लिइरहेको दुःखद् अवस्था छ। संसारभरमै कुनै पनि प्रकारका सभा,सम्मेलन,गोष्ठी र र्‍याली गर्न सान्दर्भिक नहुने डब्लूएचओले जानकारी दिएको छ। यस्ता कार्यक्रमले रक्तदाताको उत्साह बढ्नेछ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा संसारभर अवैतनिक रक्तदाताबाट मात्र रगत दान गराउने लक्ष्य लिई सोहीअनुरूप संसारभर प्रचारप्रसार गरी उत्प्रेरणा जगाउने कार्यक्रम गर्दै आइरहेको छ। संगठनले सन् २०२० सम्ममा हासिल गर्ने जुन लक्ष्य लिइरहेको छ, त्यो लक्ष्य हामीले आजभन्दा झन्डै २५ वर्षअघि नै हासिल गरिसकेका थियौं। विडम्बना, त्यो उपलब्धि संरक्षण गर्न सकेनौं। फलस्वरूप आजको अवस्थामा आएर रगत र रगतबाट तयार पारिएको रक्ततत्तवको अभाव झेल्नुपरेको छ।

तत्कालीन अवस्थामा स्वयंसेवी रक्तदाताको संख्यामा उल्लेख्य वृद्धि मात्र नभई रक्त समूहअनुसार आवश्यक मात्रामा मात्र स्वयंसेवी रक्तदाताहरूबाट रगत दान गराउने काम हुन्थ्यो। रक्तसञ्चार सेवा केन्द्रमा अत्यधिक मात्रामा मौजाद रगत दान नगर्न अनुरोध समेत गर्नु पर्दथ्यो। अत्यधिक मात्रामा मौजाद रहेकाले बोर्ड नै टाँगेर समेत रक्तदान नगर्न अनुरोध गर्नु परेको थियो। तर आज त्यो अवस्था छैन। फेरि पनि हामी त्यो अवस्थाको पुनरागमन गराउने कोसिसमा छा‌ैं। समयसापेक्ष स्वयंसेवी रक्तदातालाई स्वयंसेवी तवरले नेतृत्व दिँदै रक्त व्यवस्थापनको क्षेत्रमा देखिएको पूर्णतः कर्मचारी तन्त्रलाई सेवामुखी बनाउनेतर्फ उन्मुख हुन जरुरी छ। विश्व रक्तदाता दिवसले केवल स्वयंसेवी रक्तदाता मात्र नभई यस क्षेत्रमा खटिएका कर्मचारीसमेतलाई उचित व्यवस्थापनमा समर्पित हुन उत्प्रेरित बनाउन सक्नुपर्छ।

—कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.