एकदिन आकाश उघ्रिनेछ

एकदिन आकाश उघ्रिनेछ

तराईमा विस्तारै गर्मी बढ्दै छ। नानीहरूको परीक्षा सकेर चैत ८ मै हामी काठमाडौंबाट हिँडेका थियौं। अहिले हरेक बिहान ५/६ बजे उठेर कुचोपोछो गर्ने, हातमुख धोई उम्लेको पानीमा कागती राखेर पिउने र दिनको सुरुवात गर्ने तालिका बनिसकेको छ। फेरि आठ बजेतिर दुइटा सुक्खा रोटी र कालो चिया पिउने गर्छौं। एक घन्टापछि बिहान नौ बजेतिर खाना बनाउन भान्छा पस्ने गर्छु। सहरमा एउटा खुर्सानी पनि किन्नुपर्छ। यता त्यस्तो छैन। धेरै सजिलो छ। छिमेकमा फलेका हामीले खाने र हामीकहाँ फलेका छिमेकलाई दिने गरिन्छ। तपाईंको गाउँघरतिर पनि यस्तै होला हैन र?

भान्सा सजिलैसँग उत्रिँदै आएको छ। बारीमा हुर्कंदै गरेका लट्टे–बेथेका साग टिपेर तरकारी र अचार बनाउने गर्छु। लसुन–प्याजका पातमा आलु मिसाएर तरकारी पकाइदिन्छु। बन्दाआलु पनि पकाउँछु। सुकेका मुलाका चाना छन्। गुन्द्रक र मस्यौरा छन्। गाउँघरतिर त सजिलो छ। ऐंचोपैंचो चल्छ। केराको बुंगोको अचार बन्छ। खर्‍यानतिर कोइरालो फुलेका छन्। बारीमा काभ्रो पलाउँदै छन्। तिनको पनि अचार बनाएर खाने गर्छौं। सहरबजारका पसलबाट हजार–हजारका नोट बेचेर झोलाभरि विष हालेको तरकारी ल्याएर खानुभन्दा बरु आफ्नै करेसाबारीको तरकारी लाख गुना स्वस्थकर लाग्यो। मासु यसै पनि महँगो। महामारीका बेला माछामासु नखाएकै राम्रो भन्छन्। गृहिणीलाई सीमित पैसाले खर्च पुर्‍याउनुपर्ने बाध्यता भएका बेला माछामासु कमै खाएको राम्रो। लकडाउन खुल्ने छाँटकाँट छैन। लकडाउन हाम्रै जीवनरक्षाका लागि हो भन्ने हामीले बुझ्ने गरेका छौं।

घरभित्रै बसौं। आफ्नै बारीमा फलेका खानेकुरा खाऔं। नमीठै भए पनि खाऔं र मनलाई पनि सकारात्मक बनाऔं। बाँचियो भने मीठो खान, राम्रो लगाउन र घुम्न पाइन्छ।

हाम्रो पाँचजनाको परिवार छ–सासू, ससुरा, दुई नानी र म। सासू–बुहारी मिलेरै पालैपालो भान्छा तयार गर्छौं। यसो गर्दा फरक–फरक स्वाद पनि चाख्न पाइन्छ। एउटैलाई पकाइरहनुनपर्दा दिक्क पनि लाग्दैन। खानापछिको खाजाचाहिँ आफ्नै बारीमा फलेका कन्दमूल खान्छौं। जस्तो कि तरुल, पिँडालु, सक्खरखण्ड उसिन्छौं। बारीमा अम्बा छन्। पाकेका बेला त्यही खाजाका रूपमा खान्छौं। दुईचार लाँक्रा उखु पनि चुस्छौं। पुदिना, मरौटी टिपेर अचार बनाई रोटी खान्छौं। लकडाउनका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले वरपरका घर जाउँला, बात मारौंला भन्ने अवस्था रहेन। यस्तो बेला किताब पढेर, सिलाइ, कटाइ, बुनाइ गरेर बस्छु।

बगैंचामा क्रिसमसको ठूलो रूख छ। त्यसैको छायाँमा बसेर मोबाइलमा धार्मिक कथा सुन्छु। बत्ती कात्छु। कहिलेकाहीं टिकटकतिर पनि चियाउँछु। जे–जसरी हुन्छ समयलाई रमाइलो बनाइराख्नु छ। टीभीमा दुःख, विरह र मन रुवाउने खालका समाचार हेर्दिनँ। किनभने तिनले मन झन् अशान्त पार्छन्। युट्युबमा अपलोड भइरहेका अनेक नकारात्मक सामग्रीमा पनि घोत्लिन्न। बरु समय भए साथीभाइ, आफन्तहरूसँग बात मार्ने, हालखबर सोध्ने र रमाइला कुरा गर्ने गर्छु। समस्या कोट्याउँदिनँ। बरु राम्रा सन्देश सुनाउने गर्छु। आपत्का बेला एउटै सन्देश पनि परदेशीका लागि ठूलो सहयोग बन्ने छ। परदेशमा रहेका साथी दीपीका र राधिका, बहिनी मोनिका, भाइ प्रवेशहरूलाई फेसबुकमार्फत सन्देश पठाइदिने गर्छु।

कतिपयलाई ससाना नानीबाबु सम्हाल्न गाह्रो भएको होला। मलाई पनि गाह्रै छ। एक त दिदीबहिनीमा उमेरअन्तर बढी भएकाले उनीहरू आपसमा बिरलै मात्र मिलेर खेल्छन्। कतै घुमाउन लैजाऔं भने समय अनुकूल छैन। सुरुका दुईचार दिन उनीहरू केही छट्पटाए। अहिले त हजुरबाउसँग खेतबारीमा खेल्न जान्छन्। नजाने पनि कुटो समाउँछन्। ठूली छोरी त बेथेका साग बटुलेर ल्याउँछिन्। उनले चिया, चाउचाउ पकाउन सिकिन्। मासु बनाउन रहर गर्छिन्। एक दिन स्वादिष्ट चिकेन ग्रेभी पकाएकी थिइन्। उनले बनाएको लेमन टी पनि मीठो लाग्छ। उनी डोरी नाघ्ने खेल खेल्छिन्। मोबाइल त्यति खेल्दिनन्। टीभी भने हेर्ने गर्छिन्। सानी छोरी चित्र कोर्छिन्। भाँडाकुटी पनि खेल्छिन्। चाउमिन मःम पकाइदिन्छु भन्छिन् र मलाई खुवाउँछिन्। तिमीले पकाएको मःम त मीठो रहेछ भनेर खाएजस्तो गर्छु। मैले तिमीले पकाएको मःम मीठो रहेछ भनिदिपछि उनी खुसी हुन्छिन्।

कोरोना विकसित देशमा सबैभन्दा बढी फैलिएको छ। यतिखेर नेपालमा पनि संक्रमितको संख्या बढिरहेको छ। सरकारले पहल गर्दागर्दै पनि फितलो देखिएको छ। प्रभावकारी देखिन सकेन। स्वास्थ्य उपकरण खरिद गर्ने विषयमा व्यापक आर्थिक अनियमितता भएको आरोप छ। यतिबेला मेरा दुई सदस्य परदेशतिर हुनुहुन्छ। मेरा नानीका बाबा त आउने भन्दाभन्दै आउनुभएन कोरोना त्रासले। अहिले बाहिरबाट आउनेबाटै रोग भित्रिएकाले होला, उहाँले नआउने निर्णय गरेर राम्रै गर्नुभएजस्तो लाग्यो। तपाईंका कोही आफन्त बाहिरबाट आउनुभएको छ भने सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न सहयोग गर्नुहोस्। यो हामी सबैको भलाइका लागि हो। सम्पन्न मुलुकमा पनि बडेबडे व्यक्तिलाई समेत यो रोगले नछोडेका बेला हामी सजग होऔं र कोरोनाबाट बचौं। यसमा नै हामी सबैको भलो छ।

केटाकेटीको परीक्षा सकिएला र के–के न गराँंला भन्ने हाम्रो योजना नराम्ररी चौपट भयो। कोरोनाले के मात्र गरेन। ठूला व्यापारीका व्यापार सुकायो। मै हुँ भन्नेको पनि शिर झुकायो। सबैभन्दा पिर एसईई दिन नपाएका भाइबहिनीको लाग्छ। तर पनि हामी आत्तिनु हुँदैन। हामी बाँचिरह्यौं भने अर्को वर्ष परीक्षा दिन पाइहालिन्छ। कोरोना निमिट्यान्न हुनासाथ परीक्षा दिन पाइनेछ। बरु बेलाबेलामा किताब हेर्ने बानी छुटाउनु हुँदैन। अभिभावकले पनि आहतमा परेका नानीबाबूहरूलाई साथ दिनुपर्छ। तसर्थ घरभित्रै बसौं। आफ्नै बारीमा फलेका खानेकुरा खाऔं। नमीठै भए पनि खाऔं र मनलाई पनि सकारात्मक बनाऔं। बाँचियो भने मीठो खान, राम्रो लगाउन र घुम्न पाइन्छ। सधैंभरि झरी पर्दैन। एक दिन आकाश उघ्रिने नै छ। त्यस दिन सबैतिर झलमल्ल घाम लाग्नेछ। बरु सुनौलो बिहानीको प्रतीक्षा गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.