कहिलेसम्म महिला हिंसा ?

कहिलेसम्म महिला हिंसा ?

संसारमा जहाँ पनि महिलाको भूमिका अग्रस्थानमै रहेको हुन्छ। यो कुरालाई वेद तथा उपनिषद्हरूले पनि स्पष्टरूपमा उल्लेख गरेको पाइन्छ। नेपालको संविधानमा पनि महिला अधिकारलाई प्राथमिकीकरण गरिएको छ। तर उनीहरूको अधिकार संविधानका धारा र नियमका विनियममा सीमित छन्। राज्यको माथिल्लो तहमा सीमित महिला मात्र पुगेका छन्, तर उनीहरू भूमिकाविहीन झैं छन्। महिला सशक्तीकरणमा उनीहरूको भूमिका लगभग शून्यजस्तै छ। लकडाउनपछि महिला हिंसा बढिरहेको छ। यो विषयलाई सामाजिक सञ्जालले अनर्गल रूपमा फैलाइरहेको छ।

अमेरीकामा ३० प्रतिशत महिला व्यवसायका मालिक छन्। तर नेपालमा आर्थिक रूपमा सक्षम महिला संख्या कति छ भन्ने तथ्यांक छैन। एउटी महिलाको जीवन बालिका, किशोरी युवती हुँदै वृद्धावस्थामा पुग्छ। घरबाहिर निस्केर केही गर्ने भएपछि वैवाहिक जीवनले बाँधिसक्छ। महिलाले अवसर नै पाउँदैनन्। छोरीका नामबाट सुरु भएको जीवन बुहारी, श्रीमती, आमा भएर सकिन्छ। समाज, मुलुक र महिला उत्थान र समानताका पक्षमा उभिने सपना सपनामै सीमित हुन्छ। प्रजातन्त्रको पुनस्र्थापनापछि खासगरी अझ गणतन्त्रको स्थापनापछि घरबाट बाहिर निस्कने महिलाको संख्यामा वृद्धि भएको छ। समग्रमा हेर्दा त महिलाको सिंगो जीवन अन्धकारमय छ।

मुलुक लकडाउनमा परेको तीन महिना गुज्रन लागिसकेको छ। यस अवधिमा सबैभन्दा बढी पीडित महिला वर्ग नै छन्। दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएका महिला नै यतिखेर सबैभन्दा बढी पीडित हुन पुगेका छन्। कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसेका महिलाले सुरक्षित रहन सकेका छैनन्। गर्भवतीहरूले जीविकोपार्जनका लागि बालुवा चालिरहेको मैले नै देखें। एकखाले महिलावादी समाजसेवा र राजनीतिक आवरणमा कमाउधन्दा सञ्चालन गरिरहेका छन्। संसद्मा आफ्ना तलबभत्ताका बारेमा टेबल ठोक्ने महिला सांसदहरूले मजदुर महिला मजदुरका पक्षमा खै के गरे त ? जबकि जर्मनीको बाट्रापमा एउटी युवतीलाई पछ्याउने न्याउरी मुसालाई प्रहरीले पक्राउ गरेछ। नेपालमा भने बलात्कारीहरू राजनीतिको खोल ओडेर खुलेआम हिँड्ने गरेका छन्।

कैलालीको क्वारेन्टिनमा ३१ वर्षीया महिला सामूहिक रूपमा बलात्कृत भइन्। बलात्कारमा संलग्न व्यक्ति स्वयंसेवक रहेको पाइयो। क्वारेन्टिनमा पनि महिला सुरक्षित रहन सकेनन्। यस घटनाले के स्पष्ट हुन्छ भने हरेक बिहानीका नयाँ खबर महिला र बालिका बलात्कार वा हत्या वा आत्महत्याका घटनाबाट सुरु हुन्छ।

मुलुकको सत्तामा सदैव हाबी रहँदै आएका पुरुषका दिमागमा महिला पनि अभिन्न अंग भएकाले उनीहरूको सम्मान पनि उत्तिकै नभएसम्म हिंसाका घटना भइरहन्छन्।

यसअघि ०६४ साल भदौमा जन्मिएकी आठ कक्षा उत्तीर्ण बालिकाले लमजुङ सदरमुकाम बेंसीसहरमा १३ वर्षको उमेरमा आमा बनेकी थिइन्। नाता पर्ने युवक रहेको करणीपीडित बालिकाले दिएको जाहेरीबाट स्पष्ट भएको छ। काभ्रे बस्दै आएकी रामेछाप मन्थलीकी अविवाहित १७ वर्षीया छोरीले आफ्नै बाबुको गर्भ बोकिन् र बच्चालाई जन्म दिइन्। आफ्नै छोरी जन्म दिने बाउबाट बलात्कृत हुन्छे। सँगै खेल्ने साथीबाट बालिका बलात्कृत हुन्छन्। यो त हिंसाको पराकाष्ठा नै होइन र ? सरकार महिलाहरू सुरक्षित छन् भन्छ, के यस्तै हुन्छ त सुरक्षा ? समाजमा अशिक्षा र आर्थिक समस्याका कारण हिंसाका घटना बढिरहेको छ भन्ने देख्दादेख्दै पनि महिला सुरक्षित छन् भन्ने सरकार नालायक होइन र ?

हाम्रो समाज विचित्रको छ। एकातिर तिनै बालिका देवीका रूपमा पुजिन्छिन् भने अर्कातिर बाउद्वारा बलात्कृत हुन्छिन्। बाउआमाबाट होस् या पति र सासूससुराबाट होस्, हरेक ठाउँमा महिला नै दबाब र प्रलोभनमा पर्ने गर्छन्। कतिपय ठाउँमा उनीहरू नै बलिको बोको बन्न पुग्छन्। महिला हिंसाका घटना बढिरहँदा यसलाई सशक्त रूपमा उठाउन हामी नै चुकेका छौं। हिंसाकै कारण धेरै बालबालिका सडकमा पुगेका छन्।

केहि महिनाअगाडि रुकुमको चौरजहारीमा प्रेमप्रसंगका कारण ६ जनाको अनाहकमा ज्यान भयो। यस घटनाको कारणमा महिलालाई नै बनाइएको छ। अन्तरजातीय प्रेमलाई आधार बनाएर यो घटना भएको छ। जबकि प्रेम अन्तरजातीय हुँदैन। प्रेम खासगरी युवा र युवतीका बीचमा हुन्छ। अन्तरजातीय प्रेम गर्ने नमराज विक दोषी थिएनन्। यस घटनामा नमराजले प्रेम गरेकी केटीका दाजुभाइ र अभिभावक दोषी छन्। नमराजले उपल्लो वर्गकी युवतीसँग प्रेम गर्नु गलत थिएन। सामन्ती संस्कारमा हुर्किएको उपल्लो वर्ग ठान्नेहरू नै दोषी छन्। उनीहरूले प्रेमलाई अन्तरजातीय बनाएर पराजित गर्न खोजे। यस्तैयस्तै घटनाले महिला–पुरुषबीच र जातजातिबीच गहिरो खाडल खनेको छ। यसतर्फ सरकार र समाज सजग हुनैपर्छ।

हिजोको दिन चुलोचौका र घाँसदाउरामा सीमित महिलामाथि सामाजिक भेदभाव, उचनीच, छाउप्रथा, देउकी प्रथा, सती प्रथा महिलामाथि लगाइएका कलंक हुन्। त्यही कलंकको पछिल्लो पाटा हुन् महिला हिंसाका घटना। यतिखेर मुलुकको सत्तामा पुरुषको हाबी छ र महिला हिंसाका घटना नारकीय रूपमा भइरहेका छन्। उनीहरूका दिमागमा महिला र पुरुष एउटै सिक्काका दुई पाटा हुन्, एकअर्काको अभाव भए मुलुकको रथ चल्दैन र महिला वर्गको पनि सम्मान उत्तिकै छ भन्ने कुरा राज्य, नेता र तल्लो तहबाट नभएसम्म हिंसाका घटना भइरहन्छन् र ती घटनाको दोषी पुरुष होइन, महिला नै भइरहने छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.