कोरोना, कलह र सलह

कोरोना, कलह र सलह

असाध्यै मिल्ने दुई दाजुभाइ अंशका कारण पानी बाराबारको अवस्थामा पुग्छन्। घर गाउँले मिलेर जग्गाको साँध–सिमाना मिलाउने भगीरथ प्रयास सफल नभएपछि उनीहरू अदालतको शरणमा पुग्छन्। यसका लागि दुवैले सहरमा नाम चलेका वकिल राखेर मुद्दा लड्छन्। वर्षौंपछि मुद्दाको फैसला हुन्छ। मुद्दा दुईमध्ये एउटाले जित्नुपर्नेमा त्यसो नभई तेस्रो पक्ष अर्थात् वकिलले मुद्दा जित्छ। मुद्दाको दस्तुर तिर्दा तिर्दा उनीहरू सुकुम्बासी हुन्छन्। भएको जग्गा वकिलको हुन पुग्छ। घर फुट्दा पराइ मोटाउने दिव्यज्ञान पाएपछि दाजुभाइ नङमासु भएर मिल्न थाले। काटाकाटको अवस्थामा पुगेको सम्बन्ध कसरी जोडियो भनेर छिमेकीले सोध्दा उनीहरूको जवाफ हुन्थ्यो– जुन चीजका लागि झगडा गरियो, त्यो नै नरहेपछि झगडा गर्नुको औचित्य के रह्यो र ?’

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद जग्गाका लागि किचलो गर्ने तिनै दाजुभाइको जस्तै हो। यो कुनै सैद्धान्तिक एजेन्डाका लागि नभएर कुर्सीको मुखिया को बन्ने भन्ने एकसूत्रीय धोखाधडी खेलमा सीमित छ। बाझ्ने र मिल्ने दुवैको एउटै गन्तव्य हो– जसरी भए पनि सत्ता र शक्तिको जोहो गर्ने। यो खेलमा जसले जतिबेला जसलाई पनि धोका दिन सक्छ। प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत हुनु भनेको दाह्रा निकालेको बाघ हुनु हो भने घाँटी घाँटीसम्म थाहा छ। माधव नेपालले डेढ दशकसम्म सत्ता र पार्र्टीलाई ‘जनैको साँचो’ बनाउँदा आफूले घाट कुरेर बस्नुको पीडा केपी ओलीलाई राम्रोसँग थाहा छ। त्यसअघि झलनाथ खनाल हाकिम हुँदा आफ्नो भविष्यमा लागेको ग्रहण नेपाल र ओलीले झन् स्पष्टसँग बुझेका होलान्।

‘आज हामीलाई दुनियाँले ध्यान दिएर हेरेको छ। कारण हामी युद्ध तथा अन्य आन्दोलनबाट नभई चुनावी प्रक्रियाबाट सरकारमा पुगेका हौं। जुन विश्व कम्युनिस्ट आन्दोलनका लागि फरक उदाहरण हो। हामीले चुनावी प्रक्रियाबाट जनताको मन जितेर करिब दुईतिहाइको सरकार बनाएका छौं। यो हाम्रो लागि ठूलो सफलता हो। यो सफलतापूर्वक अगाडि बढेको छ र बढ्छ पनि।’ गएको माघ १ गते बुधबारदेखि सुरु नेकपाको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीको सम्बोधनको केही अंश हो यो। जतिबेला कोरोनाको महामारीले हामी कहाँ छोपिसकेको थिएन।

विश्व समुदायको ध्यान आफूतिर रहेको गर्व गर्ने पार्टीका नेताहरू सत्ता र शक्ति बिलो लगाउने प्रतिस्पर्धामा किन छन् ? अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छ। कोरोनाले बजारमा पैसाको कारोबार ठप्प छ। रगत बग्ने अर्थतन्त्रको धमनीमा पानी पनि बग्न सकेको छैन। रोजगारका क्षेत्र शतप्रतिशतजस्तै साँघुरिएका छन्। निजी क्षेत्र अस्तव्यस्त छ। सरकारको ढुकुटीमा जम्मा भएको राजस्व तलबभत्ता र पेन्सनमै ठिक्क हुने स्थिति छ। विकासको चक्र उही आर्थिक वर्षको अन्त्य असार र साउनको भेलमा घुम्नेबाहेक केही हुन सकेको छैन। प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिका लागि त्यहाँ जाने पैसा अन्तिम वनभोजजस्तै भएको छ। कोरोना सलहभन्दा दुईचार नेता कलहले पुस्तापुस्तासम्म हान्ने शृंखला बढ्दो छ। राजा महेन्द्र–बीपी, बहुदल आएपछि किसुनजी–गिरिजा, प्रचण्ड–बाबुराम हुँदै ओली–दाहालको शीतयुद्धको बाछिटाले प्रकारान्तरमा जनताको भाग्यमा बञ्चरो हानेको छ। फर्सीले चुलेसी या चुलेसीले फर्सी जसलाई हाने पनि आखिर क्षति व्यहोर्ने त फर्सीले नै हो। पद भनेको विलासिता नभएर उत्तरदायित्व भन्ने सत्यलाई यहाँका मुखियाले कहिल्यै बुझेनन्।

नेकपा एक उपलब्धि अनेक
नेकपाको नेतृत्वमा सरकार छ। केन्द्र र तीनै तहमा सरकार सञ्चालन गरिरहेको छ। संविधान कार्यान्वयनको सन्दर्भमा महŒवपूर्ण उपलब्धि हात पार्न नेकपा नेतृत्वको सरकार सफल भएकै हो। संविधानको मर्मअनुरूप नीतिनियम बनाउनु आफैंमा चुनौतीपूर्ण कर्म हो। संघ मात्र हैन, प्रदेश र स्थानीय निकायको व्यवस्थापनमा सरकारको तदारुकता सराहनीय रह्यो। कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भयो। नेपालको इतिहासमै यो गौरवपूर्ण क्षण हो। भला त्यसको परिणाम के आउँछ, त्यो समयकै गर्भमा छाडौं। थुप्रै बहुआयामिक योजना सुरु भएका छन्। अबको केही महिनामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुने क्रममा छ। पोखराको क्षेत्रीय विमानस्थलको काम तदारुकताका साथ अघि बढिरहेको छ।

भ्रष्टाचार, लुट र गुटतन्त्रभन्दा माथि उठेर अब खान नपाउने, लगाउन नपाउने, आबासविहीन नेपालीका लागि सहाराको काम नेकपाबाट हुन सक्यो भने मात्र करिब दुईतिहाइ बहुमतको अर्थ हुनेछ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी यही सरकारका पालामा धाराको टुटीबाट पानी झर्ने निश्चित छ। स्थानीय निकायमा समेत विकासले विस्तारै गति लिन थालेको छ। कतिपय पालिकाले उत्कृष्ट काम गरेको छन्। पोखरा महानगरपालिका– १३ ले महानगरपालिकाले गर्न नसकेको काम जस्तै– अपांगमैत्री सडक, माटोमैत्री कृषि प्रणालीलगायत कोरोनाको महामारीमा विदेशमा रहेका आफ्नो वडावासीलाई आफैं खर्च हालेर स्वदेश ल्याउने काम सक्रियतापूर्वक अघि बढाएको छ। विश्वभरि नै कम्युनिस्ट पार्टीलाई भूमण्डलीकृत पुँजीवादले आक्रान्त बनाइरहेको छ। यस्तो प्रतिकूल अवस्थामा नेकपाले झन्डै दुईतिहाइनजिकको मत प्राप्त गर्‍यो। संसदीय राजनीतिक व्यवस्थामा यो मत ठूलो उपलब्धि हो। नेकपा नेतृत्व सरकारले जनमतबाट प्राप्त उपलब्धिलाई श्रमजीवी जनताका पक्षमा दृढतापूर्वक कार्य गर्न ठूलो अवसर प्राप्त गरेको छ।

अस्पष्ट राजनीति
लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली र त्यसअन्तर्गतका प्रक्रिया, मानवअधिकार र स्वतन्त्रताको प्रश्नलाई नेकपाले आदर्शका रूपमा अंगीकार गरेको छ। हामी शान्तिपूर्ण ढंगले परिवर्तन गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं भनेर गर्वका साथ भन्ने नेकपाले लोकतान्त्रिक पद्धति हिँड्ने क्रममा बाटो बिराएको छ। यात्रा गर्ने क्रममा पार्टीका टाउकेहरूले चलाएको जहाज कुहिरोमा हराएको छ। त्यो जहाज कुन हालतमा अवतरण हुने हो भन्न सक्ने अवस्था छैन। पद र पहुँचको शक्तिले नेकपाका नेतादेखि तलसम्मका कार्यकर्ताका आँखामा पट्टी लागेको छ। उनीहरू विचारशून्यजस्तो भएका छन्। न्यायसहितको आर्थिक अधिकारको कुरा गर्ने कम्युनिस्टहरू आज कमाउनिस्ट हुँदा नेकपाले परिकल्पनाको गरेको सबैका लागि सुरक्षित र शान्तिपूर्ण समृद्ध समाज व्यर्थको नारामा सीमित भएको छ।

पुँजीवादमा आधारित शासन व्यवस्था लगभग विश्वव्यापीजस्तै हुँदै छ। नेपालको शासन व्यवस्थामा तथा राजनीतिक दलहरूमा यसको स्वाभाविक प्रभाव छ। वर्तमान समयमा दलहरूको मुख्य चुनौती दलाल पुँजीवादको उपस्थित भएको छ। परिणामस्वरूप आजको राष्ट्रको ढुकुटीमा हुनुपर्ने रकम व्यक्तिको स्वामित्वमा छ।

संघर्ष नगरी कमाइएको पुँजी बैंक तथा सहकारीमा सञ्चित रहेको अवस्थामा छ। पुँजी चलायमान नहुँदा राष्ट्र गरिब, सीमित व्यक्ति धनी बन्ने स्थिति छ। हामी आत्मनिर्भरको कल्पनासम्म गर्न सक्ने अवस्थामा छैनौं। परनिर्भरता बढ्दो छ। यसैलाई मध्यनजर राख्दै बजेट अर्थात् अर्थनीति, आयात र निर्यातको सन्तुलनकारी भूमिका निर्वाह गर्ने साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन जरुरी छ। साथै यसका लागि योजना चाहिन्छ अनि दृढ इच्छाशक्तिसहितको सर्मपण पनि। यो बाटोमा नेकपाले पाइलासमेत चाल्न सकेको छैन।

नेताहरूलाई यतिबेला पद, प्रतिष्ठा र सम्मान चाहिएको छ। राज्यलाई आँखा नदेख्ने बनाएर वा प्रयोग गरेर अदृश्य कार्यमार्फत अकूत द्रव्य आर्जन गरेका व्यक्ति राजनीति अगुवाको कमिसार भएका छन्। कुण्ठा व्यक्त गर्ने आफूसँग सम्बन्धित समितिको बैठकमा हो। कम्युनिस्ट पार्टीमा हुनुपर्ने न्यूनतम मान्यता भनेको आलोचना र आत्मालोचना गर्न सक्नु हो। आफ्नो जिम्मेवारीको जवाफदेही आफैं हुनुपर्छ। कुरा समाजवादका गर्ने अनि कार्यशैली पुँजीवादी अपनाएपछि लक्ष्य धर्मराउँछ। समाजवादलाई दिगो बनाउन नेताहरूको जीवनशैलीमा निर्भर हुन्छ।

वैचारिक संक्रमण र भावी दिशा

पटकपटक स्थायी कमिटी बैठक स्थगित गरेपछि धेरैलाई पार्टी विवादले निकास पाउला कि भन्ने कतिपयको बुझाइ छ। तर तय भएका एजेन्डामै छलफल नहुने र बरु एजेन्डा थपिँदै जाने अनि छलफल र निष्कर्ष कुनैको नआउने भएपछि बैठकको कुनै अर्थ नहुने देखिएको छ। जुन मानसिकता पार्टीको शीर्ष तहमा समेत हावी भइसकेको छ। त्यसै पनि ओलीले बैठकको अन्त्य गर्न अर्का अध्यक्ष प्रचण्डलाई मुखै फोरिसकेका छन्। तर प्रचण्डसँगको सहकार्यमा रहेको माधवकुमार नेपाल समूह बैठक अन्त्य गर्ने कुराको विपक्षमा छ।

एकातिर ओली सरकारको केन्द्रीकृत घमण्ड र अर्कातिर कूटनीतिक अपरिपक्कता देखाइरहेको नेपाली वाम राजनीति अनिश्चयको दिशातिर मोडिएर नेपालको तटस्थ, असंलग्न पञ्चशीलको विशेषता बोकेको विदेश नीतिमै फेरबदल हुने त होइन ? सत्ताधारी दल वैचारिक र कार्यदिशामा अलमलिएर बरालिने प्रवृत्तिले देखिएको छ।

भनिन्छ– दम्भले आफैं पोखिन्छांै। त्यसैको परिणाम होला नेकपा वैचारिक संक्रमणमा छ। वैचारिक कुरालाई स्पष्ट पारेर अगाडि बढ्न नसक्नु नेकपाको कमजोरी हो। गन्तव्य र बाटोबारे स्पष्ट नभई अगाडि बढ्न सकिँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.