बलियो कानुनमै छोरीहरू बाँच्‍न सक्छन्

बलियो कानुनमै छोरीहरू बाँच्‍न सक्छन्

छोरी भएर जन्मिनु अभिशापै हो भने

बरिलै नजन्माई देऊ सृष्टिले...।

यो डिजिटल बजारमा बहुचर्चा पाएको प्रकाश सपूतको गीत हो। यसमा देवी घर्तीले स्वर दिएकी छन्। छोरी जातिमाथि भइरहेको यौनजन्य घटनालाई गीतमा सशक्त रूपमा उजागर गरिएको छ। कञ्चनपुरकी निर्मला पन्तलाई यही गीतले फेरि एकपटक सम्झाएको छ। न्याय नपाएकी निर्मला अनि उनीहरूका निमोठिएका सपना, फुल्नै नपाई ओइलिएका रहर अन्ततः सिकारीको जालमा परे। गुहारे तर कतैबाट गुहार नपाएपछि अन्ततः प्राणपखेरू नै उडाइयो। यिनै विषयलाई सपूतले ‘बदला बरिलै’ गीतमा उतारेका छन्।

लकडाउन भएयता हामी कपिलवस्तुमै छौं। छोरीहरूको पढाइ सुचारु हुन नसकिरहेको अवस्थामा काठमाडौं गइरहनुपर्ने आवश्यकता पनि देखिनँ। बारम्बार बिजुली गइरहन्छ। तैपनि नानीहरूको अनलाइन कक्षा चलिरहेको छ। एक बिहान चिया लिएर टीभी कोठा छिरें। टीभीमा राजधानीमा भएको एसिड आक्रमणको समाचार प्रसारण भइरहको थियो। सानी छोरीले सोधिन्, ‘मामु, एसिड भनेको के हो ? ’ मैले भन्न नपाउँदै ठूली छोरीले भनिन्, ‘जलाउने केमिकल त होला नि।’ समाचारमा भनिएअनुसार ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्की एसिड आक्रमणमा परेकी थिइन्।

आफ्नो जिन्दगी सपार्न भन्दै काठमाडौं आएकी छोरीको यो खबरले उनको परिवारमा के बित्यो होला ? मनमा अनेक तर्कना उठे। सुन्दा पनि कुनै फिल्मको कथाजस्तो लाग्ने। कुनै युवती मन परे प्रेम प्रस्ताव राख्ने, स्विकारे ठिकै छ, नत्र मनमा कुण्ठा पाल्ने। प्रेम स्वीकार नगरेका कारण नै जिन्दगी बर्बाद गर्दिने। ‘पख्, मेरो नभए कसैको हुन दिन्न’ भनेर हात धोएरै पछि पर्ने। अन्तिमसम्म पिछा गर्ने, नसके परिवारलाई धम्क्याउने, बाटो छेक्ने, जबर्जस्ती गर्नेे, अब उपाय छैन जस्तो देखेमा खल्तीमा एसिड बोकेर हिँड्ने अनि मौका मिल्नासाथ खन्याइदिने वाह कस्तो बहादुरी ?

अपहरण, एसिड आक्रमण, बलात्कार हत्याजस्ता जघन्य अपराधहरू बढ्दै जानु र तिनका लागि सजाय खुकुलो हुनुले छोरीहरूले सधैं प्रताडित हुनुपरेको छ।

एकतर्फी प्रेम अनि प्रेम अस्वीकार भएपछि कुण्ठा पालेर हिँड्ने। कुनै जोर नचलेपछि जघन्य अपराध गरेर आफूले जितेको भ्रम पाल्नेको जमातमा हाम्रा छोरीहरूले पिल्सिई रहनुपरेको छ। वीरगन्जकी मुस्कान खातुन, हेटौंडाकी विन्ध्यवासिनी कंसाकार अनि काठमाडौंकी संगीता थापामगर र जेनी खड्काका सपना एसिड प्रहारपछि उजाडिएको छ। ती बहिनीहरूले हिम्मत त गरिरहेकै छन् जिउने। आर्थिक पाटोको जिम्मा कसले लिइदिने ? ड्रेसिङ र अप्रेसन हुँदापिच्छेको आर्थिक भारले कति थिच्दो हो ? पुरुषवादी समाजमा उनीहरूको जलेको रूपमथि हुने टीकाटिप्पणी, काम गर्ने ठाउँको बहिष्करण, शारीरिक÷मानसिक पीडा दोस्रो व्यक्तिले महसुस गर्न सक्ला र ?

आँखैअगाडि, आफ्ना बहिनी र छोरी उमेरका नानीहरू एसिड आक्रमण, यौन दुव्र्यवहार अनि बलात्कारको सिकार भइरहेको देख्दादेख्दै तपाईंका अनि मेरा छोरीहरू सुरक्षित छन् भनेर ढुक्क कसरी हुनु ? कसरी मनलाई झूटो दिलासा दिलाउनु ? दिनदिनैको यस्तो समाचार सुन्दा वा घरमा छलफल हुँदा ठूली छोरी भन्ने गर्छे, ‘मामु, मलाई पनि बाबासँगै विदेश पठाइदिनुस्, उतै पढ्छु।’ मलाई पनि छोरीले ठिकै भनेजस्तो लाग्छ। यस्तो सोच के मलाई मात्र आएको हो ? हरेक रात कलिला छोरीहरूको सुरक्षाको चिन्ताले मेरो मात्र भतभती मन पोलेको हो ?

बलात्कार वा एसिड आक्रमणका पीडितले जिन्दगीभर त्यो कालो सम्झना बोकेर हिँड्नुपर्ने तर पीडक पक्ष दुईचार वर्ष सजाय काटेर उन्मत्त भएर हिँडेको देखिन्छ। अपराधी जेलबाट छुटेपछि फूलमाला लिएर स्वागत गर्नेको भीड यही समाजमा छ। अपहरण, एसिड आक्रमण, बलात्कार हत्याजस्ता जघन्य अपराधहरू बढ्दै जानु र तिनका लागि सजाय खुकुलो हुनुले खासगरी छोरीहरूले सधैं प्रताडित हुनुपरेको छ।

पछिल्लो समयमा भएका बलात्कार र एसिड आक्रमणजस्ता जघन्य विषय हरेक बिहानीसँगै आउने र रात परेसँगै सेलाउने गरेका उदाहरण विस्तार गरिरहनु पर्दैन। जसलाई पर्‍यो उसैले जान्यो। समग्रमा तेजाब आक्रमणका २० वटा घटना भएका छन्। यसमध्ये केही घटनाको पूर्ण विवरण प्रहरीसँग छैन। प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात वर्षयता १८ महिला र चार पुरुष एसिड आक्रमणमा परेका छन्। पछिल्लोपटक यही साउन २२ मा काठमाडौं चुच्चेपाटीमा पनि फेरि यस्तै घटना दोहोरियो। हेटौंडाका राजन विष्टले आफ्नै पत्नी र छोरीमाथि एसिड आक्रमण गरेका समाचारमा उल्लेख छ।

अब यो विषयलाई कानुनी निकायले गम्भीरतापूर्वक लिन जरुरी छ। कानुन कति बलियो होस् भने कुनै पनि व्यक्तिका मनमा कुविचार आउनै नसकोस्। आए पनि टाउको उठाउन नसकोस्। यसर्थ एसिडजन्य घटनामा भएको विद्यमान आठबर्से सजायवाला कानुन तुरुन्त परिमार्जन गरी जन्मकैदको सजाय उल्लेख भएमा आपराधिक मानसिकता स्वतः घटेर जानेमा दुईमत नहोला। यसो भएमा मात्र हाम्रा छोरीचेली र दिदीबहिनीलाई थोरै भए पनि राहत मिल्ने थियो। अर्कातर्फ एसिडको खुलमखुल्ला आयात र बिक्री हुने सिलसिला अहिल्यै बन्द गरिनुपर्छ। कानुन बलियो बनाएर छोरीलाई सुरक्षाको प्रत्याभूति दिलाऔं। ढिलाइ नगरौं। छोरीलाई बाँच्न दिऔं। उनीहरूका सपना फुल्न दिऔं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.