रेल सपनाको एउटा फड्को

रेल सपनाको एउटा फड्को

जनकपुरधाम : ६ वर्षको प्रतीक्षालाई समाप्त पार्दै नेपालको आफ्नै रेल जनकपुर आइपुगेको छ। भारतको जयनगरबाट शुक्रबार मध्याह्न साढे १२ बजेतिर हिँडेको नेपाल रेलवे अपराह्न पौने २ बजे जनकपुर आइपुगेको हो।

रेल विभागका साइट इन्जिनियर विनोद ओझाले विवाह पञ्चमीदेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एउटा सेटबाट एक पटकमा १ हजार ३ सय यात्रुले यात्रा गर्न सक्नेछन्। दुइटा सेटमा गरी २ हजार ६ सय यात्रुले एक पटकमा यात्रा गर्नेछन्।

जनकपुर–जयनगर रेलमार्गमा सेवा सञ्चालन गर्न इन्जिन र बोगी भारतको मद्रासमा बनाई हाजिपुर–जयनगर हुँदै जनकपुरधामसम्म ल्याइएकोे साइट इन्जिनियर ओझाले बताए। २ थान १६ सय एचपी डेमु रेल सेट ८३ करोड ९३ लाख ६० हजार रुपैयाँमा खरिद गरिएको विभागले जनाएको छ। यसमा एउटा ड्राइभिङ पावर कार, एउटा ड्राइभिङ ट्रेलर कार, दुईवटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छन्। रेलको डिजाइन स्पिड प्रतिघण्टा १ सय १० किलोमिटर छ।

राष्ट्रिय झन्डाको रङमा रंगिएको रेललाई स्वागत गर्न हजारौं स्थानीय शुक्रबार बिहानदेखि जनकपुर स्टेसन पुगेका थिए। रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागको टोली पनि उपस्थित थिए। आफ्नो रेलको स्वागत गर्न पुगेका स्थानीयलाई व्यवस्थित पार्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

यसअघि भारतको जयनगरबाट नेपालको कुर्थासम्म ३५ किलोमिटरमा रेल परीक्षण गरिएको थियो। जयनगर—जनकपुर—सीतापुर भंगाहा—बर्दिबास रेलमार्गमा यात्रु रेल सेवा सञ्चालन गर्न २०७५ चैत ४ गते मन्त्रिपरिषद्बाट निर्णय भएको थियो। सोहीअनुसार विभाग र भारतको कोकन रेलवे कर्पोरेसनबीच सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट रेल नेपाल ल्याइएको हो।

न्यारोगेज रेल सेवा २०७१ माघदेखि बन्द भएको थियो। त्यसलाई ब्रोड गेजमा विस्तार गर्न २०७१ चैतमा काम सुरु गरिएको थियो। रेलमार्ग निर्माण, स्टेसन र अन्य भौतिक पूर्वाधार निर्माण गर्न भारतको नायक इन्फ्रास्ट्रक्चर कम्पनी र नेपालको कालिका रमण जेभीसँग सम्झौता गरिएको थियो। ३ वर्षभित्र रेल सञ्चालन गर्ने लक्ष्यसहित पहिलो चरणको भौतिक संरचना निर्माण थालिएको थियो। तर, त्यस बेला बन्द, हडताल र बाढीपहिरोले गर्दा समयमा काम हुन सकेन।

३५ किलोमिटर निर्माण सम्पन्न भएको रेलमार्गमा जयनगर, इनर्वा, खजुरी, वैदेही र कुर्था गरी पाँच स्टेसन छन्। महिनाथपुर, परवाहा र जनकपुर गरी तीन वटा हल्ट छन्।

यसकारण बन्द भएको थियो रेल

ब्रिटिस–इन्डिया सरकारले सन् १९२७ मा नेपालमा अमलेखगन्ज–रक्सौल ३९ किलोमिटर रेलमार्ग निर्माण गरेको थियो। त्यस्तै, जनकपुर–जयनगर ४५ किलोमिटर रेलमार्ग सन् १९३७ मा निर्माण गरिएको थियो। जनकपुर–जयनगर रेलमार्ग महोत्तरीको विजलपुरासम्म विस्तार गरियो। त्यसको केही दिन नबित्दै जनकपुर–विजलपुर २२ किलोमिटर खण्डको पुल बगाएपछि सेवा अवरुद्ध भएको थियो। त्यसपछि जनकपुर–जयनगरमा सीमित रेल सेवा अहिले आएर महोत्तरीको बर्दिबाससम्म विस्तार गरिएको छ।

ब्रिटिस–इन्डिया सरकारले जनकपुर–जयनगर रेलमार्ग नेपालको काठ भारत लैजान निर्माण गराएको थियो। तर, नेपालको काठ निकासीमा रोक लागेपछि सोही रेलबाट यात्रु आवतजावत गर्न थाले। साथै दुईदेशीय पारवहन सेवासमेत रेलको माध्यमबाटै हुन्थ्यो।

व्यापारिक दृष्टिले पनि प्रभावकारी रहेको रेल सेवा २०६३ पछि थला पर्दै गयो। सरकार परिवर्तनसँगै रेलवे महाप्रबन्धकको राजनीतिक नियुक्ति र फेरबदल तथा कर्मचारीको हेलचक्र्याइँले गर्दा रेल सेवा जर्जर बन्दै गयो। पुरानो इन्जिन र गाडीले सवारी धान्न गाह्रो भयो। पटक–पटकको बाढीबाट जर्जर रेलमार्गको ट्र्याक कामै नलाग्ने भयो। हुँदाहुँदै २०७१ माघ महिनादेखि रेलमार्ग पूर्णरूपमै बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.