दाहाल—नेपालले विरोध सभामार्फत के दिए सन्देश ?

दाहाल—नेपालले विरोध सभामार्फत के दिए सन्देश ?

काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन पटक शक्ति प्रदर्शन गर्‍यो। त्यसमध्येको पछिल्लो हो, बुधबार काठमाडौंमा गरेको बृहत् विरोध प्रदर्शन। 

यसअघि पुस १४ र माघ ९ गते शक्ति प्रदर्शन गरिसकेको दाहाल–नेपाल समूहले बुधबार देशभरबाट हजारौं नेता कार्यकर्ता काठमाडौंमा जम्मा पारेर विरोध सभामार्फत तीन सन्देशसमेत दिए। 
पहिलो, निर्वाचन आयोगलाई बहुमत पक्षलाई वैधानिकता देऊ ! दोस्रो, सर्वाेच्च अदालतलाई प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला दिन ढिलाइ नगर। अनि, तेस्रो सन्देश, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका अन्य दललाई संयुक्त आन्दोलनमा आउन आह्वान।

 
प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने निर्णय लिएपछि नेकपा विभाजित छ। अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले ओलीको कदमलाई प्रतिगमनकारी भन्दै चरणबद्ध सडक संघर्ष गरिरहेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वाेच्चमा विचाराधीन छ। नेकपाको आधिकारिकता सम्बन्धी विवाद भने निर्वाचन आयोगमा विचाराधीन छ। कांग्र्रेस, जसपालगायतका दलले दाहाल—नेपाल नेतृत्वको नेकपासँग मिलेर संयुक्त आन्दोलन गरिरहेका छैनन्। 
 
प्रधानमन्त्री ओली पक्षले २३ माघमा काठमाडौंकै नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको जनसभादेखि निर्वाचन आयोगमा पुगेर गरेको तर्कसम्मलाई दाहाल—नेपाल समूहले आयोजना गरेको विरोधसभाका वक्ताहरूले चर्को कटाक्ष र टिप्पणी गरे। अध्यक्ष पुष्पकमल दाहालले सभामा उपस्थित जनमास देखाउँदै सर्वोच्च अदालतलाई ढिलो नगरी निर्णय लिन आग्रह गरे।
‘यो लाखौं जनताको उपस्थिति मलाई लाग्छ, सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देख्नु भएको छ आज राम्रोसँग। जनताले के चाहेका छन्, जनभावना के छ ? भन्ने सर्वाेच्चका न्यायाधीशहरूले हेर्नु भएको छ भन्ने मलाई लागेको छ। अब ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनु हुनेछ,’ दाहालले भने। उनले संविधानको मर्म र भावनाविपरीत भयो भने देशमा आँधी आउने चेतावनी पनि दिए। 

दाहालले निर्वाचन आयोगप्रति भने शंका गर्दै आयोगले लक्षण राम्रो नदेखाएको आरोप लगाए। ‘अहिले आयोगका केही मान्छेहरू खोइ के हो के हो... अहिले नभनौं। भन्यो भने फेरि बिग्रने हो कि,’ दाहालले निर्वाचन आयोगप्रति आशंका व्यक्त गर्दै भने, ‘तर लक्षण राम्रो देखाएको छैन।’ उनले कांग्रेसलाई पनि संयुक्त आन्दोलनमा आउन अपिल गरे। 

अर्का अध्यक्ष नेपालले पनि निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई थर्काउने र धम्क्याउने काम गरिरहेको आरोप लगाए। निर्वाचन आयोगले ओलीको कुरा पत्याउन जरुरी नरहेको भन्दै अध्यक्ष नेपालले पार्टीका विधान, निर्णय, सर्कुलर जे हेरे पनि आफूहरूलाई राजनीतिक दलको दफा ४४ का आधारमा आधिकारिकताको निर्णय दिनबाट कसैले रोक्न नसक्ने बताए। आयोगले राजनीतिक दलसम्बन्धी ऐनदेखि पार्टीको विधान सबै हेरेर सही निर्णय नगरे आयोगलाई पनि कसैले मानिरहन जरुरी नभएको नेपालको भनाइ थियो। 
 
‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ। अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नु भएको छ,’ अध्यक्ष नेपालले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ। पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्। अधर्मीलाई पशुपतिनाथले माया गर्नुहुन्न। केपी ओलीलाई चेतना भया।’
 
वरिष्ठ नेता झलनाथ खनालले केपी ओली बेलैमा नसच्चिए देशले फेरि २०६२/०६३ को जस्तै अर्काे जनआन्दोलनको उठान गर्ने बताए। उनले निर्वाचन आयोगलाई नअलमलिकन आफूहरूलाई आधिकारिकता दिन आग्रह पनि गरे। उनले ओलीको १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट जमानत जफत हुने दाबी पनि गरे।

प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आफूहरूले संयुक्त संघर्ष चाहेको बताए। उनले कांग्रेस र जसपा पनि संयुक्त आन्दोलनमा आउनुपर्ने बताए।
कार्यक्रममा रामचन्द्र झा, जनार्दन शर्मा, रघुजी पन्त, देव गुरुङ, अमृता थापा, रामकुमारी झाँक्री, भानुभक्त जोशीलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। सभाअघि काठमाडौंका पाँच स्थानबाट जुलुस निकालेर सुन्धारामा केन्द्रित गरी शक्ति प्रदर्शन गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.