दाहाल–नेपाल ‘छोडपत्र’

दाहाल–नेपाल ‘छोडपत्र’

काठमाडौं : सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अस्तित्वमा आउने भएका छन्। साविक नेकपाको एक खेमामा लागेका माधवकुमार नेपाल पुष्पकमल दाहालको साथ छाडेर एमालेमै फर्किने भएका छन्। नेपालसँगको राजनीतिक ‘डिभोर्स’सँगै दाहालले माओवादी केन्द्रकै नेतृत्व गर्ने भएका छन्।

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका दाहाल र नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हँुदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। ऋषिराम कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगले सत्तारुढ दल नेकपालाई दिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए। 

उक्त रिटमा अदालतले नेकपा कट्टेलकै भएको निर्णय सुनाउँदै पूर्ववत् पार्टीलाई ब्युँताइदिने आदेश गरेको थियो। अदालतले आयोगको एकतासम्बन्धी निर्णय बदरयोग्य रहेको र निर्णय बदरपश्चात् साबिकमा निर्वाचन आयोगमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने निर्णय गरेको थियो।

साविक नेकपाका दुई समूह आधिकारिकताका लागि निर्वाचन आयोगको मुख ताकिरहेका बेला अदालतको आदेशले दाहाल–नेपाल समूहलाई झट्का दिएको थियो। सबैभन्दा बढी असजिलो नेपाल पक्षलाई परेको थियो। यो समूहका नेता ओलीविरुद्ध दाहालसँग मिलेर मोर्चाबन्दी गरिरहेका थिए।

यो समूहको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित एक होटलमा बसेको बैठकले एमालेमै रही ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको थियो। बैठकमा १३ जना स्थायी समिति सदस्य सहभागी थियो। यही निष्कर्षसहित दिउँसो दाहाल–नेपाल पक्षकै स्थायी समिति सदस्यहरूको बैठक पेरिसडाँडामा बसेको थियो। 

त्यो बैठकले तत्कालका लागि छुट्टिएर पूर्ववत् पार्टीमै जाने निर्णय लिएको हो। अझ मजबुत एकताका लागि आआफ्नो पार्टीमा रहेर पहलकदमी लिनुपर्ने निष्कर्ष बैठकले निकालेको थियो। अदालतको आदेश रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक रूपमा आएकाले पुनरवलोकनमा जाने निष्कर्ष निकाल्दै दाहाल–नेपाल छुट्टिएका थिए। उनीहरूले सोमबारको उक्त बैठकलाई बिदाइ बैठकका रूपमा सम्पन्न गरेका थिए।

‘सर्वाेच्च अदालतले गरेको फैसलामा हामीले गम्भीर छलफल गर्‍यौँ। फैसला रिट निवेदकको मागदाबी बारिह गएर राजनीतिक रूपमा आएको छ। नामबारे निष्कर्ष दिनुपर्नेमा त्योभन्दा बाहिर गएर निर्णय अदालतले सुनाएको छ’, साविक नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कुनै पार्टीहरूको एकता गर्ने, नगर्ने वा एकीकृत पार्टीलाई विभाजित गर्ने अदालतको फैसलामा गम्भीर असहमति जनाएका छौं। राजनीतिक रूपमा आफ्नो विचार र दृष्टिकोण राख्ने, कानुनी रूपमा उपचार खोज्ने, नेकपाको एकताका बेलाको उद्देश्यमा अविचलित भएर अगाडि बढ्ने निष्कर्ष हामीले निकालेका छौं। हाम्रा लागि अब नेकपाकै रूपमा यो अन्तिम बैठक पनि हुन सक्छ।’ पूर्ववत् पार्टीको आधिकारिकता भने निर्वाचन आयोगले पत्र दिएपछि मात्र हुने पनि निष्कर्ष उनीहरूले निकालेका छन्।

ओलीले साविक नेकपाको चर्किंदो अन्तरसंघर्षका क्रममा दाहालले राखेको १७ बुँदे प्रस्तावको जवाफ दिँदै मिल्न नसक्ने हो भने एकतापूर्वको अवस्थामा फर्किएर जाने प्रस्ताव गरेका थिए। एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकता भएको थियो।

नेकपाको आधिकारिकता विवादकै बीच अदालतले पूर्वपार्टी ब्युँताइदिनेसम्मको निर्णय गरेको थियो। त्यसपछि नयाँ दल खोल्न संसदीय दलमा संख्या नपुग्ने अवस्थामा रहेका नेपाललाई एमालेमा फर्किनुपर्ने या आफ्ना सांसदको पद गुमाउने अवस्था आए पनि आओस् भनेर दाहालसँग मिल्नुपर्ने अवस्था आइलागेको थियो।

‘हामीले सबै सम्भावनाबारे छलफल गरेका छौं। सबै सम्भावनाबारे अध्ययन पनि गरिरहेका छौं। सर्वाेच्चको फैसलाले एमाले र माओवादी पूर्ववत् अवस्था भनेको छ। निर्वाचन आयोगमा पनि एमाले र माओवादी केन्द्र अरूले नै दर्ता गरेको अवस्था छ’, नेता नेपालले भने, ‘यसमा के हुन्छ ? सम्पूर्ण रूपमा पछाडि फर्किन कति सहज हुन्छ ? आयोगले कुन रूपमा पत्र पठाउँछ ? सबै पक्षको अध्ययन गरेर हामी अगाडि बढ्न खोजेका छौं।’ 

नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीले अदालतको आदेशलगत्तै आइतबार आफ्नो पक्षमा लागेका माओवादी धारका नेतालाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। त्यस क्रममा ओलीले सोधेका थिए, ‘तपार्इंहरूलाई सहजता के गर्दा हुन्छ ?’

गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु शाह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा तामाङलगायत नेतासँग ओलीले छलफल गरेका हुन्। तर, यी मन्त्रीले राजनीतिक रूपमा ओलीतिर लागेकाले पद गए पनि माओवादी केन्द्रमा नफर्किने बताएको स्रोतले जनाएको छ।

खानेपानीमन्त्री थापाले आफूहरू ओलीको विचारसँग सहमत भएर आएकाले अदालतले पूर्वपार्टी ब्युँताउने निर्णय गरे पनि ओलीसँगै एमालेमै रहने बताए। ‘हामी ओलीसँगै अब एमालेमै रहन्छौं,’ थापाले भने, ‘हाम्रा लागि पद ठूलो कुरा भएन। ओलीसँगै रहेर जाने हाम्रो सोच छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.