महामारीको त्यो भोगाइ
लकडाउन भएपछिका ती दश महिना कहालीलाग्दो बनेर कोठाभित्रको संसारमा बित्यो। परिवार र पहँुच हुनेका लागि इन्टरनेट, टीभी, मोबाइलजस्ता सञ्चारमाध्यम साथी बने तर तीबाहेक सम्पूर्ण कामकाज ठप्पप्रायः रह्यो। त्रासैत्रासले भरिएको जीवन कोभिड संक्रमण भइहाल्ने पो हो कि भन्ने त्रास रहिरह्यो। सामान्य रुघा, ज्वरो र खोकी लाग्नेबित्तिकै कोभिड भनेर आत्तिनुपर्ने अवस्थाले बरोबर जिउ सिरिङ्ग बनाइरह्यो। परिवारकै सदस्य हच्किनुपर्ने अवस्था देखियो।
बाह्य मुलुक खासगरी भारतमा दैनिक लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। नेपालमा पनि छिटफुट रूपमा कोरोना संक्रमितको दर बढिरहेको छ। गत वर्षको चैत महिनाको मध्यपछि विस्तारित रूप लिएको कोभिडको दर यसपालि पनि चैत लागेसँगै बढ्दो छ। पुनः लकडाउन हुने हल्ला चल्न थालेको छ। सरकारले नै बोलिसकेको छ– लकडाउन नहोला भन्न सकिन्न। सामुदायिक स्कुल तीन साताका लागि बन्द भएको देख्दा लाग्छ– कतै पुरानै अवस्था फर्किने त हैन ?
कोभिड उन्मूलन भयो भनेर सजगतामा लापरबाही गर्ने अवस्था छैन। यो हर व्यत्तिाmमा लुकेर बसेको हुन सक्छ। यसैले सतर्कता र सावधानी विगतमा जस्तै अपनाउन जरुरी छ।
कोरोनाबाट प्रभावित नभएको क्षेत्र कुनै रहेन। अर्थतन्त्रको ढोका बन्द भएर थिलोथिलोजस्तै रहन पुग्यो। त्यसमा पनि ठप्प अवस्थामा रहेको शैक्षिक क्षेत्र नै हो। यो क्षेत्रले औपचारिक रूपमा पुरानै अवस्थामा फर्कन १० महिना कुर्नुपर्यो।
कोरोना भित्रिएसँगै मानिस सामाजिक दूरी कायम गर्न र सरसफाइमा ध्यान दिन सचेत हुन थाले। बन्दाबन्दी खुकुलो भएसँगै मानिसहरू कामकाजमा फर्किएसँगै कोरोना कहर पनि भुल्दै गए। अहिले मानिसहरू कोभिड संक्रमणलाई सामान्य सोच्न थालेका छन्।
गत वर्षको चैतदेखि सुरु भएको बन्दाबन्दी साउनमा आइपुगेपछि केही खुकुलो भयो। मानिसहरू कोही कामकाजमा फर्के। अधिकांशतः डरैडरमा घरबाट बाहिर निस्कन बाध्य भए। धेरैलाई चुलो जलाउनदेखि व्यवहार चलाउनसम्म हम्मेहम्मे भयो। धेरैले कोभिडलाई मौसमी फ्लुका रूपमा लिए। थोरै कोभिडको आतंकबाट निस्कन सकेनन्। जो विज्ञानमा भरोसा गर्थे, जो आफ्नो परिवार गुमाएका थिए, तिनका निमित्त अभिशाप बन्यो। मुटुभित्र गहिरो नमेटिने घाउ बन्यो। जति नै दबाइ र औषधिमूलो गरे पनि नपुरिने भयो। पुनश्चः चैत महिना सुरु भएसँगै कोभिड दर बढ्दै गयो। प्रश्न खडा भएको छ– गर्मीयाम सुरु भएसँगै फेरि इतिहास दोहोरिने त होइन।
कतिपय त कोरोना आए के हुन्छ र भन्न थालेका छन् भने जो कोभिडको दलदलमा फसेका थिए उनीहरू मनसिक पीडामै छन्। सामान्य दैनिकी जीवन जिइरहेकाका लागि इतिहास दोहोरिँदा खासै फरक नपर्ला तर जो दैनिकी ज्यालादारी गर्ने, निजी संघसंस्थामा काम गर्ने तथा न्यून लगानीकर्ताहरूले झस्किनुपर्ने अवस्था छ। कोभिड केही होइन भनेर लापरबाही गर्ने, सामाजिक दूरी कायम नराख्ने, कोभिड नियन्त्रणका साधनहरूको अपहेलना गर्ने, कोभिडप्रति हेय दृष्टि राख्ने कतिपयको व्यवहारले कोरोना संकटको अवस्था गहिरिने त होइन ?
सम्पन्नता र अहमतावादका कारण कोभिड न्यूनीकरण हुनुको साटो फैलिन सक्ने प्रशस्त पथ खुला गरिएको छ। मानिसका अर्धज्ञान र सीमित क्षमताले धेरैमा मानसिक रोगको संक्रमणको सम्भावना बढाएको छ। सम्पन्न राष्ट्र त कोभिडको दलदलबाट बाहिरिन सकेका छैनन् भने हामीजस्ता न्यून स्रोतसाधन र साँघुरो सोचाइले कोभिड उन्मूलन प्रायः असम्भव छ। कोभिड न्यूनीकरणका लागि सावधानीका सुरक्षित उपायलाई निरन्तरता दिनु, साहस र समझादारीबाट विगतबाट पाठ सिकेर अगाडि बढ्न जरुरी छ।
हर समय होसियारी रहे र नियम पालना गरे कोरोनाबाट बच्न असम्भव छैन। कोरोना संक्रमण केही हदसम्म कम भएको हो। कोभिड उन्मूलन भयो भनेर सजगतामा लापरबाही गर्ने अवस्था छैन। कोभिड हटेको छैन भन्ने कुरा पछिल्लो संक्रमण दर हेरे स्पष्ट हुन्छ। समाजका हरव्यक्तिमा कोभिड लुकेर बसेको छ। यो बाह्य देशमा जस्तै कुनै पनि बेला समाजमा फैलिन सक्छ। यसैले सतर्कता र सावधानी हिजोजस्तै अपनाउन जरुरी छ।
विद्यालय खुलेको तीन महिना नहुँदै पुनः विद्यालय बन्द गर्ने चर्चा चल्यो। बितेका १० महिनामा भोगेका पीडा नबिर्सौं। वातावरण भयभीत नबनाऔं। बरु बालबालबालिका संयमित रहन सिकाऔं। मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई बरोबर ख्याल गरौं। विद्यालय शिक्षित व्यक्तिहरूको थलो हो, जहाँबाट व्यक्ति, घर र समाजलाई सभ्य, सुसज्जित र अब्बल तुल्याउने जनशक्तिको जन्म हुन्छ।
यो समयमा संयम बनौं। द्विविधा र हल्लाको पछि नलागौं। विद्यालय, घर, स्वास्थ्य क्षेत्रलाई सफा बनाउन आआफ्ना क्षेत्रबाट सकेको सहयोग गरौं। विज्ञानलाई हेलचेक्र्याइँ गरेर होइन, त्यसका नियमहरूको परिपालन गरेर कोभिड संक्रमित हुनबाट जोगिन जरुरी छ। व्यक्तिव्यक्ति र समाज मिलेर जसरी हामी भूकम्पको दलदलबाट निस्कन सक्यौं र पुनः नयाँ जनजीवन सुरु गर्न सफल भयौं, त्यसरी नै हर सुरक्षित उपाय अपनाएर कोरोना कहरबाट बच्न सिकौं र सिकाऔं। स्पष्ट होऔं र सदैव सचेत रहौं।