सिन्क्यौली सेउली शेलेले...

सिन्क्यौली सेउली शेलेले...

सिन्क्यौली सेउली शेलेले

नाच्दैमा जाऊ है पेलेले
पानको पात पानको पात
साकेला सिली जिन्दावाद

पूर्वतिर यतिबेला यही लय र तालमा किराँती समुदाय मस्त हुन्छन्, व्यस्त हुन्छन्। पूर्वी पहाडी जिल्लाहरूमा बसोबास गर्ने किराँत समुदायमा यतिवेला उभौली चाडको रौनक छ। वैशाख शुक्ल पूर्णिमाबाट १५ दिनसम्म मनाउने किराँती समुदायसँग ढोलझ्याम्टासँगै सुमधुर लयका साथ एकअर्कासँग आपसी सद्भाव सुखदुःख आदानप्रदान गर्न यो चाड युगौंदेखि किराँती समुदायले जीवन्त बनाउँदै आएका छन्।

केटाकेटी, युवायुवती मात्र हैन वृद्धवृद्धाहरू पनि लामबद्ध हुन्छन् अनि ढोलझ्याम्टाको तालमा गोलाकार हुँदै गीतको लयमा नाच्न थाल्छन्। सक्नेहरू गोलो घेरामा कैद हुन्छन् नसक्नेहरू रमाइरहेकाहरूसँगको दृश्य अवलोकन गर्दै रमाउँछन्, मीठो भलाकुसारी गर्छन्, आफन्तहरूसँगको सद्भाव साटासाट गर्छन्। किराँती समुदायले आफ्नो राष्ट्रिय चाडको रूपमा उभौली र उधौलीको रूपमा वर्षमा दुई पटक मनाउने गरेका छन्। यतिबेला पूर्वका हरेक गाउँ, टोल, सहर बजारमा ढोलको ताल, झ्याम्टाको आवाजसँगै पूर्वेली लोकलयका गीत गुञ्जन्छन् अनि सांस्कृतिक भेषभूषाका साथ गोलाकार हुँदै रमाइरहेका भेटिन्छन्।

तर गत वर्षदेखि सुरु भएको कोभिडको प्रभावले खास उल्लास नभए पनि बिम्बात्मक शैलीमा उनीहरू रमाइरहेकै भेटिन्छन्। उभौली उधौलीसँगको सामीप्यता, प्यासलाई मेटाउन उद्यत् नै छन् किराँती समुदाय।

उभौली र उधौलीमा मुन्धुमी शैलीमा इष्टदेवताको पूजापाठ आशीर्वाद ग्रहण गर्नु मात्र हैन प्रकृतिसँगको सम्बन्धलाई गीत र नाचको तर्फबाट अभिव्यत्तिाm गर्नु स्मरण गर्नु र कालान्तरसम्मको सम्बन्धलाई पुस्तान्तरण गर्नु पनि हो।

उभौलीको सांस्कृतिक मिथक
वैशाखशुक्ल पूर्णिमाको दिन उभौली र मार्गशुक्ल पूर्णिमाको दिन उधौली गरी किराँती समुदायले वर्षमा दुईपटक भव्य रूपमा यो चाड मनाउने गरेका छन्। उभौली र उधौलीसँग किराँती समुदायको आत्मिक र भावनात्मक मात्र हैन सुखदुःख आदानप्रदान गर्दै आफन्तहरूसँग भेटघाट गरी सम्बन्धलाई नवीकरण गर्ने चाडको रूपमा मनाउने प्रचलन छ। युगौंदेखि किराँती समुदायले उभौली र उधौली चाडलाई निरन्तर रूपमा प्रकृतिसँग साक्षात्कार गर्दै विधि र प्रक्रियाका साथ पुस्तान्तरण गर्दै आइरहेको छ। किराँती समुदाय भित्र राई, लिम्बु, याक्खा, सुनुवारलगायतले आ–आफ्नै रीतिथिति र संस्कारअनुसार उभौली र उधौलीलाई सांस्कृतिक महत्त्वका साथ चाडको रूपमा निरन्तरता दिने गरेका छन्।

विशेषत लेक र बेंसीसँगकौ भौगोलिक सामीप्यता र जनजीवन तथा युगौंसम्मको जनजीविकालाई उहीउस्तै गरी प्रवाह गर्न आदिम किराँती पुर्खाहरूको रहनसहन उभौली र उधौलीसँग जोडिएको छ। जाडो बढेसँगै बेंसी झर्ने र गर्मी बढेसँगै लेकखर्कतिर उक्लने परम्परा नै उभौली र उधौलीको रूपमा विकास भएर आएको देखिन्छ। यति मात्र हैन प्रकृतिपूजक किराँती समुदायले अन्नबाली लगाउने समय र थन्क्याउने समयलाई समेत यो चाडसँग जोडेका छन्।

बालीनाली सप्रियोस् भन्दै किराँती समुदायका अग्रज, होमे तथा नक्छुङले कुलपूजा गर्ने तथा पुर्खाहरूलाई सम्झिने परम्परा उभौली परम्परा हो। यता बालीनाली थन्क्याउने समयमा मार्गशुक्ल पूर्णिमाको दिन पुर्खाहरूलाई सम्झिएर वर्षभरिका लागि पुग्ने गरी अन्न उत्पादन भयो भन्दै पुर्खालाई चढाएर अन्न भण्डार गर्ने परम्परालाई उधौलीको रूपमा बुझ्ने प्रचलन छ। यसरी अन्नबालीसँग जोडिएको किराँती समुदायको रहनसहन तथा लेकबेंसी गर्ने जीवनशैलीलाई उनीहरूले वर्षमा दुई पटक हर्षोल्लासको साथ मनाउने गरेका छन्।

गीतको लय र नाच
उभौली उधौली चाढमा मुन्धुमी शैलीबाट घरभित्र राखिएका इष्ट देवताको पूजापाठ गर्दै आशीर्वाद माग्ने र सामूहिक भेला भएर हर्षाेल्लासका साथ यो चाड किराँती समुदायले मनाउँछन्। सुखदुःख समेटिएका पिरमर्काहरू गीतको शब्दमा व्यक्त गर्ने गरिन्छ। एउटाको सुखदुःखलाई उसैगरी समाधान गर्ने शैलीमा सुखदुःख आफ्नै गरी अनुभूत गरी दोहोरी शब्दहरू भाकाहरू पोखिन्छन्। यसरी गीतको माध्यमबाट वर्षभरिको आफ्नो अनुभूति उभौली उधौलीमा अभिव्यक्त गरिन्छ। सुखदःुखसँग मात्र हैन माया प्रेमका कुराहरू पनि गीतको माध्यमबाट पोखाउने गरिन्छ मनभित्र गुम्सिएको भावना व्यक्त गर्ने माध्यमको रूपमा समेत कालान्तरदेखि किराँती समुदायले उभौली उधौलीको प्रयोग गरेका छन्।

हात र खुट्टाको माध्यमबाट प्रकृतिमा रहेका अनेकन जीवजन्तुहरूको नक्कल, जीवनशैलीको नक्कल गर्दै गोलाकार भएर नाच्ने गरिन्छ। खासगरी मानव जीवनको प्रारम्भकालका सुरुआती रहनसहनलाई समेत हाउभाउ गर्दै एकै लयमा नाचिन्छ गाइन्छ। अन्नबाली लगाएदेखि भिœयाएसम्मको प्रक्रियालाई मेलै गरी नाचमा उतार्ने गरिन्छ। प्रकृतिसँगका मानवीय शैली र सम्बन्ध नाचमा चित्रित हुन्छ। उनीहरूसँगको आत्मिक, भौगोलिक तथा भावनात्मक सम्बन्धसमेत रहेको नाचबाट मात्र पुष्टि हुँदैन सँगसँगै सुमधुर लयमा गाइने भाकामा समेत ती सम्बन्ध प्रष्फुटित हुन्छ। उभौली र उधौलीमा मुन्धुमी शैलीमा इष्टदेवताको पूजापाठ आशीर्वाद ग्रहण गर्नु मात्र हैन प्रकृतिसँगको सम्बन्धलाई गीत र नाचको तर्फबाट अभिव्यक्ति गर्नु स्मरण गर्नु र कालान्तरसम्मको सम्बन्धलाई पुस्तान्तरण गर्नु पनि हो।

सांस्कृतिक प्रतिरोध
किराँती समुदायको सांस्कृतिक बिम्ब मिथकहरूलाई केलाउँदा उनीहरूले आफूलाई भूमिपुरुष आदिमकालदेखि जंगली युग हँुदै समाज विकासक्रमहरूमा जोडिँदै आएकाले आदिवासीको रूपमा बुझ्छन्। र उनीहरूको हाउभाउ गीतको लयहरूमा समेत तिनै कुराहरूलाई जोड दिएका हुन्छन्।

मानव सभ्यता जंगली युग, कुषि पशुपालन युग हुँदै वर्तमान आधुनिक युगसम्म आइपुगेका छौ। मानिसहरूका हरेक सभ्यता विकासक्रममा नयाँनयाँ चिजको खोजी र विकास गर्न पनि पुराना भोगिआएका चेतिआएका कुराहरूको पुनरावृत्तिले समेत थुप्रै सघाउ पु¥याउने देखिन्छ। यसर्थ किराँती समुदायमा कथन पनि छ कि मानिसहरूको प्रगति, मानव सम्बन्ध, हाम्रो पुर्खाहरूको आपसी सम्बन्धलाई भुलिएन भने अगाडिको बाटो झन् स्पातिलो धारिलो हुन मद्दत गर्दछ। यसर्थ किराँती समुदायका हरेक सांस्कृतिक बिम्बहरूमा पुर्खाहरूका जीवनशैली र उनीहरूले विकास गरेका समाजका मनोविज्ञानहरू प्रशस्तै भेटिन्छन्।

प्रकृतिका विलक्षण गुणहरूको खोजी गर्दै मानिसहरूको जीवनशैलीमा रूपान्तरण गर्ने र सहज जीवनयापनको लागि प्रकृति वनजंगललाई आधार बनाउने पुर्खाहरूको नवीनतम अभ्यास संस्कृतिको रूपमा विकास भएर किराँती समुदायले निरन्तरता दिइरहेका छन्। यति मात्र हैन पछिल्लो पटक भएका थुप्रै व्यवस्था परिवर्तनका संघारहरूमा समेत किराँती समुदायले चाडको रूपमा निरन्तरता दिएको उभौली उधौलीमा भेला भई सांस्कृतिक रूपमा प्रतिरोधसमेत जनाउने गरेका छन्। बिम्बात्मक रूपमा बुझ्दा उनीहरूले आफ्नो भाका लयमा राज्य संयन्त्रप्रतिको असन्तुष्टि र आफ्नो समुदायको प्रतिरोधलाई अभिव्यक्त गर्दै आन्दोलनकै रूपमा समेत उभौलीउधौलीमार्फत सामूहिक रूपमा प्रतिरोध गर्ने गरेको दृष्टान्त भेटिन्छ।

प्रकृतिपूजक किराँती समुदायले मानवसभ्यताको विकासक्रम प्रकृतिका गुण, अवगुण तथा पुर्खाहरूको जीवनशैलीलाई मात्र संस्कृतिको रूपमा उतार्ने नभई व्यवस्थाप्रतिको आक्रोशलाई समेत संस्कृति मार्फत पोख्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.