स्थगित प्रचण्डपथमा माओवादीको मोह

स्थगित प्रचण्डपथमा माओवादीको मोह

 माओवादी केन्द्रको यो सम्मेलनको ध्येय विचारमा बहस गर्ने स्पष्ट कार्यदिशा कार्यक्रमको मार्गचित्र कोर्ने छ।



नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हँुदैछ। सम्मेलनको सम्मुखमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रमहरूमा माओवादीको सम्मेलन एमाले र कांग्रेसको जस्तो नहुने बताइरहेका छन्। प्रचण्डले महाधिवेशन कम नेतृत्व बढी नीतिमा केन्द्रित हुने भएकाले कार्यक्रम कार्यदिशामा घनिभूत छलफल गर्दै एउटा मार्गचित्र कोर्ने बताउँदै आएका छन्। यसैको प्रारूप तथा खाका अध्यक्ष दाहालले केही दिनको भूमिगत बसाईबाट तयार गरे पनि। जुन पार्टीको स्थायी कमिटीले छलफल गर्दै सम्मेलनका लागि तय गरिसकेको छ।

माओवादी केन्द्रको यो सम्मेलनको ध्येय विचारमा बहस गर्ने स्पष्ट कार्यदिशा कार्यक्रमको मार्गचित्र कोर्ने छ। यहिबेला दोस्रो तहका नेताहरू दशकअघि स्थगित गरेकोे पार्टीको लाइन प्रचण्डपथ स्मरण गरिरहेका छन्। माओवादी केन्द्र शान्तिप्रकृयामा आएयता थुप्रै घुम्ती र मोडहरू गुजारेर यहाँ उभिएको छ। आकारले खुम्चिएको माओवादी केन्द्रसँग मुद्दा स्थापित गरेको गर्विलो आवाज साथमा छ तर संगठन कमजोर बनेको छ। विचारले स्पातिलो र सशक्त संगठन निर्माण गर्ने भनिरहेको माओवादी केन्द्रमा पुनः प्रचण्डपथको पथप्रदर्शक कार्यदिशा ब्युँताउने विषयमा नेताबीच माथापच्ची भइरहेको छ।

आकारले खुम्चिएको माओवादी केन्द्रसँग मुद्दा स्थापित गरेको गर्विलो आवाज साथमा छ। तर, संगठन कमजोर बनेको छ।

प्रचण्डपथको कार्यदिशा
सशस्त्र युद्धरत नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पार्टीको पथप्रदर्शक विचार प्रचण्डपथ पारित गरेको थियो। विश्व कम्युनिष्ट आन्दोलनलाई नियाल्दै नौलो विचारधारा निर्माणमा जोड दिँदै प्रचण्डपथको लाइन पारित भएको हो। तत्समयमा नेता बाबुराम भट्टराईले विचारको विकास नभइसकेको भन्दै तत्कालका लागि प्रचण्ड विचारधारा पार्टीको लाइन हुनुहुन्न भन्ने अडान लिएका थिए। छलफल उच्चविन्दुमा पुगेका बेला पार्टीका नेता रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीले प्रचण्डपथ नै हालका लागि उपयुक्त हुने प्रस्ताव गरेपछि भट्टराईलाई दबाब भएको थियो।

कार्यनीतिभन्दा अलि माथि, रणनीतिभन्दा एक तह तलको अवस्थालाई पथको संज्ञा दिँदै विचारले रूप ग्रहण गरी नसकेको अवस्था थियो। तर, कार्यनीति पार गरिसकेको निष्कर्षसहित प्रचण्डपथ स्वीकार्नेमा सर्वसहमति जुट्यो। २०५७ माघ २६ देखि फागुन १ सम्म भारतको भटिन्डा, पन्जावमा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमार्फत नेकपा माओवादीको पार्टी नेतृत्वमा विशेष प्राधिकारसहितको राजनीतिक लाइन प्रचण्डपथ पारित भएको थियो। तत्कालीन पोलिटब्युरो सदस्य हाल नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाको गीत जनयुद्धकालभर चर्चित बनेको थियो।

माक्र्सवाद, लेनिनवाद, माओवादको बाटो हो यो संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो।

स्थगित प्रचण्डपथ
दोस्रो राष्ट्रिय सम्मेलनले ‘महान् अग्रगामी छलाङ ः इतिहासको अपरिहार्य आवश्यकता’ दस्तावेजमा ‘एक महान् उपलब्धि’ उपशीर्षकमा प्रचण्डपथबारे प्रस्तुत विश्लेषणलाई पार्टीको पथप्रदर्शक विचारको रूपमा अंगीकार गर्ने गरी पारित गरेको थियो। माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ पारित गरेको नेकपा माओवादीले यसैअनुरूप वैचारिक राजनीतिक, सांगठनिक र फौजी कामकारबाही चलाएको थियो। २०५७ बाट पार्टीले बोकेको यो पथप्रदर्थक विचार शान्तिप्रकृयामा आएयता समेत कायम नै थियो। यो पथ पार्टीको भक्तपुर खरीपाटीमा आयोजना भएको राष्ट्रिय भेलासम्म कायम थियो।

त्यो भेलामा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा समेत उल्लेख थियो। तर सोही भेलामा नेता मोहन वैद्य किरणले फरक मत राख्दै पेश गरेको प्रतिवेदनमा प्रचण्डपथलाई पुनर्विचार गर्नुपर्ने कुरा उल्लेख छ। त्यससँगै यो पथको औचित्यको बहस पार्टीमा उठ्न थालेको थियो। सोही वर्ष नारायणकाजी श्रेष्ठ नेतृत्व रहेको नेकपा एकता केन्द्रसँगको पार्टी एकताका बेला अध्यक्ष दाहालले प्रस्तुत गरेको लिखित प्रतिवेदनमा प्रचण्डपथलाई स्थगित गरियो। माक्र्सवाद–लेनिनवाद–माओवाद विचारधारालाई अंगीकार गर्ने प्रस्ताव आएसँगै तत्कालका लागि पार्टीको प्रचण्डपथको पथप्रदर्शक विचार स्थगित भएको थियो।

ब्युँताउनुपर्ने बहस
शान्तिप्रक्रिया यता वैचारिक कार्यक्रम, कार्यदिशा र व्यवहारमा गहिरो अन्तर्विरोध भएको भन्दै पार्टीभित्र वैचारिक मतभिन्नता चुलिँदै गयो। दोस्रो संविधान सभाबाट संविधान जारी हुँदासम्म पार्टीभित्र टुटफुट र विभाजनको थुप्रै शृंखला पार्टीले बेहोर्नुपरेको थियो। त्यसबीच मोहन वैद्य किरणले राष्ट्रिय भेला नै गरेर पार्टी विभाजन गरे। संविधान जारी भएपछि डा. बाबुराम भट्टराई समेत पार्टीबाट अलग हँुदै नयाँ पार्टी निर्माणमा लागे। भलै १२ बुँदे सहमतिसँगै छुटेका मणि थापा, मोहन वैद्यसँग गएका रामबहादुर थापा र फरक पार्टी बनाएका मातृका यादवलगायत निष्कृय रहेका कतिपय नेता पार्टीमा जोडिएका थिए।

पार्टी २०७४ मा स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न पुग्यो भने प्रदेश र संघीय निर्वाचनमा बाम तालमेल गरेर निर्वाचनमा होमिएको थियो। बाम तालमेल मात्र भएन, माओवादी र एमालेबीच पार्टी एकता नै भयो। त्यतिबेला माओवादीले अवलम्बन गरेको २१औं शताब्दीको नौलो जनवाद र एमालेले बोकीआएको जनताको बहुदलीय जनवादलाई स्थगित गरे। जनताको जनवादलाई कार्यदिशा बनाएर महाधिवेशनसम्म जाने निर्णायमा दुई पार्टी पुगे। महाधिवेशनमा नपुग्दै पुनः पुरानै पार्टीमा फर्किनुपर्ने बाध्यता बन्यो। यतिबेला नेकपा माओवादी केन्द्रसँग रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेता छैनन्। उनीहरू पुरानै अवस्थामा पार्टी फर्किए पनि एमाले नै रोजेर बसेका छन्।

नेताहरू गम्भीर वैचारिक स्खलनमा फस्न पुग्दा पार्टी रक्षात्मक बन्न पुगेको निष्कर्षमा अध्यक्ष दाहाल र सिंगो पार्टी पुगेको छ। यसैले पार्टी अध्यक्ष दाहाल राष्ट्रिय सम्मेलनमा विश्व कम्युनिष्ट आन्दोलनलाई नियाल्दै छन्। उनी नेपालका लागि सुहाउँदो समाजवादको आधार निर्माण गर्ने कार्यदिशाबारे छलफल गर्दै निर्णयमा पुग्ने तयारीमा छन्। पार्टीले २०५७ मा पारित ०६५ सम्म अँगालेको प्रचण्डपथको पथप्रदर्शक विचार भुलेकाले परिस्थिति प्रतिकुलतातर्फ मोडिएको दोस्रो तेस्रो तहका नेताहरूले सार्वजनिक फोरममा भन्ने गरेका छन्। उनीहरूले प्रचण्डपथसँग जनयुद्धका थुप्रै सपना, जनतासँग गरिएका बाचाहरू, सहिद परिवारका कुरा, बेपत्ता, द्वन्द्वपीडितका समस्या जोडिएको कुरा दोहोर्‍याइरहेका छन्।

मुद्दा र पार्टी नै रक्षात्मक
नेकपा माओवादी केन्द्रले संविधानका मुलभूत विशेषता गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफूहरूले उठाएका मुद्दाको रूपमा लिन्छन्। मुलभूत रूपमा संविधानमा माओवादीले भनिआएको एजेण्डा स्थापित छ। जनयुद्धका शीर्षस्थ नेताहरू फरक पार्टीलाई मूलधार भन्दै विरासत बोकेको पार्टी परित्याग गरिरहेका छन्। जनयुद्धमा बाँडेका सपनाहरू सम्झौतासम्म पुगेर टुंगिएको जस्तो देखिन्छ। पार्टीभित्र तीव्र विचलन भएको आभास हुन्छ। सिंगो पार्टीपंक्ति संसदीय व्यवस्थाको गहिराइमा चुर्लुम्म डुबेर श्रमजीवी वर्गका मुद्दाबाट बेखबर मात्र छैनन्।

दलाल पुँजीवादमा होमिएको आरोप माओवादीसँग छ। स्थापित भएका मुद्दाहरूसमेत सही ढंगले व्यवहारमा कार्यान्वयन गर्न सकिरहेको छैन। गणतन्त्रप्रति मानिसको रोश झन्झन् बढिरहेको भान हुन्छ। संघीयताको अर्थ र परिभाषाभन्दा कार्यान्वयन अलग ढंगले भइरहेको छ। समानुपातिक समावेशिताको मूलमर्म विरूप बन्दैछ। मुख्य पार्टीहरूले धर्मनिरपेक्षता बारेनै जनमत संग्रहको छलफल गर्नुपर्ने मधुरो आवाज बलियो बन्दै जादैछ। सम्मेलनले प्राप्त उपलब्धिको विषयलाई गर्ने व्याख्या र समाजवादसम्म पुग्ने स्पष्ट मार्गचित्र कसरी कोर्ने हो ? सबैको ध्यान त्यतातिर छ।

उस्तै कि फरक पार्टी निर्माण ?
अहिले कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक पार्टीबीचको खास तात्विक भिन्नता भेटिन्न। उनीहरूको झन्डा ब्यानर र बोल्ने भाषामा मात्र फरक भेटिन्छ। यतिबेला वर्तमान व्यवस्थाका परिभाषित मुद्दाहरूमा कांग्रेसले आफूलाई परिमार्जित गर्ने कोशिस गर्दैछ। पछिल्लो कालखण्डबाट पाठ सिकेर प्रचण्डले आफूलाई परिमार्जित गर्ने गरी बलियो शक्तिका रूपमा दर्ज गर्ने अठोट लिएको छ। वर्तमान व्यवस्थाका उपलब्धिको हकदाबी गर्ने माओवादी पार्टी भने संगठन, विचार र स्पष्ट कार्यदिशामा रक्षात्मक अवस्थामा पुगेको पार्टीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.