माओवादीको विधान सम्मेलन

बहसमा माओवादीको निर्वाचन प्रणाली

बहसमा माओवादीको निर्वाचन प्रणाली

शीर्ष नेतृत्वले हालसम्म आफूनिकट व्यक्तिलाई टीका लगाइदिएर नेता बनाउँदै आएका छन्। जसको कडा विरोध कार्यकर्ताले गरेका हुन्।

काठमाडौं : माओवादी ‘एकल’ नेतृत्वमा चल्दै आएको तीन दशक भयो। यो पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै एकछत्र चलिरहेको छ। नेतृत्वले नै पार्टीका नेता छान्दै आएको अवस्था छ। यसले आन्तरिक लोकतन्त्र कमजोर रहेको देखाउँछ। जसकारण ‘टिके प्रथा’ अन्त्य गरी कार्यकर्ताले नेता छान्न पाउनुपर्ने माग जबर्जस्त रूपमा उठेको छ। 

यसै सन्दर्भमा पहिलोपटक माओवादीको विधान सम्मेलन मंगलबार सुरु हुँदै छ। काठमाडौंमा तीन दिनसम्म चल्ने सम्मेलनले विधान संशोधन गर्ने कार्यक्रम छ। यसअघि त्यसको मस्यौदा तल्ला कमिटीमा पठाएर सुझाव लिइएको थियो। त्यस क्रममा देशभरका कार्यकर्ताले तल्लो कमिटीदेखि केन्द्रीय पदाधिकारीसम्म प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुन्नुपर्ने सुझाव आएको नेताहरू बताउँछन्।

नयाँ युग, नयाँ परिस्थितिअनुसार नयाँ पुस्तालाई अटाउने विधान बनाउन पार्टीले विधान सम्मेलन गर्न लागेको सचिव दिनानाथ शर्मा बताउँछन्। उनका अनुसार कस्तो निर्वाचन प्रणालीमार्फत पार्टी कमिटी चयन गर्ने भन्ने विषयमा बहस चलिरहेको छ। 

‘आंशिक निर्वाचन प्रणाली (६० प्रतिशत मनोनीत र ४० प्रतिशत निर्वाचन) कि पूर्ण समानुपातिक प्रणाली अवलम्बन गर्ने वा प्रत्यक्ष प्रणालीबाटै पार्टीका तल्ला कमिटी, केन्द्रीय समिति, पदाधिकारी चयन गर्नेबारे तीनवटै कोणबाटै सुझाव आएका छन्’, शर्मा भन्छन्, ‘निर्वाचन प्रणाली छाड्दैनौं। प्रतिशतका आधारमा यसलाई निर्धारण गर्नुपर्छ।’

पार्टी संगठन निर्माणमा प्रत्यक्ष चुनावी प्रक्रिया अवलम्बन गर्नुपर्ने माग ‘भुइँतह’ बाटै आएको हो। अब नेता बन्न कार्यकर्ताबाट ‘टेस्टेड’ भएर आउनुपर्ने सुझाव आएको सचिव शर्माको भनाइ छ। ‘कार्यकर्ताले माग गरेअनुसार प्रचण्डजी पनि पार्टी अध्यक्ष बन्न अब चुनाव लडेर आउनुपर्छ। निर्वाचनबाट डराउनुपर्ने आवश्यकता छैन। यो लोकतान्त्रिक प्रणाली हो’, उनी भन्छन्, ‘पार्टीभित्र स्थापित हुनका लागि पनि चुनाव लडेरै आउनुपर्छ भन्ने कुरा हामीले होइन युगले नै माग्यो।’

nullपार्टीको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । 

विधान संशोधन गरी प्रत्यक्ष प्रणालीबाटै पार्टीका नेतृत्व चयन गर्न पाउनुपर्छ भन्ने मत जर्बजस्त उठेको बताउँछन् केन्द्रीय सदस्य सुदन किराती। ‘जनवादी केन्द्रीयता र लोकतन्त्रको अभ्यासले मात्रै माओवादी पार्टीलाई जीवित बनाउन सक्छ। सही मान्छेको छनोट पनि हुन्छ भन्ने धारणा छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका किराती भन्छन्।

उनका अनुसार जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा देशैभरिबाट चुनावी प्रक्रियामार्फत तल्लोदेखि माथिल्लो तहसम्मका कमिटी चयन गर्न असंख्य सुझाव आएको हो। ‘अब कसैको दयामायाको भरमा, कसैले टेकोभरो लगाएर नेतृत्व स्थापित हुनेभन्दा पनि आफ्नो क्षमता प्रदर्शन र योग्यता प्रदर्शन गरेर आएको नेतृत्व नै नेतृत्व हुन्छ’, उनी भन्छन्, ‘त्यो नै फिल्डबाट आएको मुख्य सुझाव र निष्कर्ष हो।’

शीर्ष नेतृत्वले हालसम्म आफूनिकट व्यक्तिलाई टीका लगाइदिएर नेता बनाउँदै आएका छन्। जसको कडा विरोध कार्यकर्ताले गरेका हुन्। ‘टिके प्रथा’ले पार्टीमा गुटगत हाँगाबिंगा फैलिँदै गएको उनीहरूको भनाइ छ। त्यसले भुइँतहमा काम गर्ने इमानदार, क्षमतावान र निष्ठावान नेता ओझेलमा परेको सुझाव उनीहरूले पार्टीलाई दिएका छन्। 

कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ पार्टी रूपान्तरण गर्न नेताहरूको व्यवहार र शैली सुधार्न तल्लो तहबाट निकै सुझाव आएको सुनाउँछन्। नेतृत्वको नजिक भए नेता बनिहाल्ने र नेतृत्वले पनि पत्याएर उसैलाई टीका लाइहाल्ने प्रवृत्तिले सक्रिय कार्यकर्ता निराश भएको उनको भनाइ छ। भन्छन्, ‘राजनीतिक वस्तुस्थित बुझ्ने, लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने, समाजवादी यात्राको ठीक ढंगले तय गर्ने र नेतृत्व गर्ने नेतृत्व आजको आवश्यकता हो।’ उनका अनुसार पार्टीभित्र पनि चुनावबाटै संगठन निर्माण हुनुपर्छ भन्ने मत बलियो देखिएको छ। कार्यकर्ताबाट नेता चयन गर्दा ती नेता कार्यकर्ता र जनताप्रति उत्तरदायी बन्छन्। तर, नेतृत्वबाट टीका लगाएर बनेका नेता कार्यकर्ता र जनताप्रति वफादार र प्रतिबद्ध नभएको पाइएको उनी सुनाउँछन्। 

‘त्यसैले इमानदार र निष्ठावान पात्रलाई राजनीतिमा टिकाउन र ल्याउन प्रत्यक्ष चुनावी प्रक्रियाबाट नेता छनौट गर्नुपर्ने माग उठ्यो’, नेता नेम्बाङ भन्छन्, ‘चुनाव जितेकाहरू जनता र कार्यकर्तालाई बढी सयम दिएर काम गर्छन्। उसैले सबैको मन जित्छ। र लोकप्रिय पनि बन्छ। तर, अहिले त नेताको आशीर्वाद पाएर नेता बन्छ। आफ्नै पार्टीका कार्यकर्ताले आफ्नै नेता चिन्दैन। अब टिके प्रथाको अन्त्य गर्ने प्रवधान पार्टीको विधानै ल्याउनुपर्ने माग उठेको छ।’

अर्का केन्द्रीय सदस्य सुबोध सेर्पाली तलदेखि माथिसम्मको कमिटी छनोटको चुनावी मोडेल विधानमै क्लियर हुनुपर्ने बताउँछन्। ‘प्रत्यक्ष निर्वाचन विधिबाट आउने हो वा पार्टीले बनाएको निश्चित मापदण्ड— कार्यसम्पदान मूल्याकन, क्षमता, इतिहास, योगदानलाई ५० प्रतिशत र बाँकी ५० प्रतिशतका कार्यकर्ताबाट मत ल्याएर नेता चुन्ने कि ? भन्ने बहस चलेको छ’, उनी भन्छन्। 

चुनावी मैदानबाट नेता छनौट गर्दा चुनौती भने सामना गर्न पार्टी नेतृत्व तयार र चनाखो रहनुपर्ने सेर्पाली बताउँछन्। ‘चुनावमा देखिएको अन्तरविरोध समाधान गर्न सकिएन भने पूरै पार्टी सकिन्छ। त्यसैले विधान बनाउँदा यसतर्फ पनि ख्याल गर्नुपर्छ’, उनी भन्छन्, ‘तर, नेतृत्वले पार्टी रूपान्तरणका लागि जोखिम नमोलिकन हुँदैन।’ उनका अनुसार धेरै कम चुनाव र धेरै सर्वसम्मत हुँदा केन्द्रीय नेतृत्वलाई एउटा आरोप लाग्छ— टिके प्रथाबाट आफ्नो मान्छेलाई टीका लगाइदियो। नेता बनाइदियो। ‘अब यो अन्त्य हुनै पर्छ’, उनी भन्छन्, ‘चुनावी प्रक्रियाले नेतृत्व छनौट भए भूगोलमा काम गर्ने इमानदार, विचार, सिद्धान्तमा अडिक र निष्ठावान कार्यकर्ता जसले जनताको बीचमा काम गर्छ, उनीहरूको मनोवल बढेर जान्छ।’

केन्द्रीय सदस्य राजन दाहाल युवालाई पार्टीभित्र सजिलो गरी अटाउने विधान बनाउन पार्टी नेतृत्वमाथि दबाब बढेको बताउँछन्। ‘हाम्रो विचार, नीति, योजना, कार्यान्वयन र नेतृत्व सबै ठीक छ। मुख्य समस्या नै संगठनमा छ। विधानमार्फत संगठनात्मक क्षेत्रमा देखिएका सबै समस्याको गाँठो फुकाउँछौं’, उनी भन्छन्, ‘स्वचालित संगठनात्मक संरचान र युवा अटाउने संगठन निर्माणका लागि प्रत्यक्ष निर्वाचित कमिटी प्रणालीमा पार्टी जानुपर्छ।’ सचिव शर्माका अनुसार केन्द्रीय समिति ठूलो भएकाले त्यसलाई १ सय ५१ सदस्यीयमा झारेर सानो बनाउने तयारी छ। कार्यकर्ताको योगदान, क्षमता, निष्ठा, बुझाइको एकरूपतालाई संश्लेषण गरेर कमिटी निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

‘जनवादलाई मुख्य केन्द्रमा राख्नुपर्ने भयो। नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्ने छ। नयाँ युगको नेतृत्व नयाँ पुस्ताले मात्रै गर्छ। उनीहरूले जिम्मेवारी लिनुपर्छ। अबको परिवतर्नको बाहक नै युवा शक्ति हो’, उनी भन्छन्, ‘त्यसैले उठेका सवाललाई विधान सम्मेलनमार्फत समाधान गर्दै युग सुहाउँदो पार्टीको विधान निर्माण गर्छौं।’ 

किन उठ्यो निर्वाचनको कुरो ?

नेतृत्वले गोजीबाट नेता छान्दा माओवादी पार्टी कमजोर मात्रै होइन् लथालिङ र भत्ताभुङ भयो। नेताहरू कार्यकर्ता र जनताको कुरा सुन्न छाडे। रानो माहुरी वरिपरि अरू माहुरी घुमेजस्तै नेतृत्वकै चाकडी र चाप्लुसीमा कार्यकर्ता तल्लिन भए। तल्लो तहमा पार्टी नै नभएजस्तो भएकाले कार्यकर्ताहरूले चुनावबाट कमिटी चयन गर्नुपर्ने माग गर्दै आएको नेताहरू बताउँछन्।  

माओवादीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेल कार्यकर्ताले अहिलेको युग सुहाउँदो पार्टी निर्माणका लागि चुनावको माग गरेको बताए। ‘संविधानसभाको चुनाव हुँदै हामी प्रतिस्पर्धाको राजनीतिमा आयौं। तर, पार्टी कमिटी गठन गर्दा सहमतीय पद्धति अबलम्बन गर्‍यौं। जसले कमिटीहरू ठूला भए। त्यसलाई व्यवस्थित बनाउन कार्यकर्ताले निर्वाचनको माग गरेका हुन्’, उनी भन्छन्। राज्यको शासन प्रणालीमा भइरहेको प्रतिस्पर्धा पार्टीमा पनि लैजानुपर्छ भनेर चुनावको कुरा उठेको उनले बताए।

अर्का उपमहासचिव हरिबोल गजुरेलले गोजीबाट नेतृत्वले नेता बनाउँदा पार्टी समस्याग्रस्त भएको दाबी गरे। ‘हामी खुला प्रतिस्पर्धामा छौं। तर, पार्टी कमिटी ताली बजाएर चयन गरेपछि समस्या आएका हुन्’, उनले भने, ‘आठौं महाधिवेशन भएको ९ महिनासम्म पनि पदाधिकारी छनोट हुन सकेन। यसले पार्टीमाथि धेरै प्रश्न उठायो। त्यसैले अब पार्टीमा संगठन निर्माण गर्दा निर्वाचनबाटै गर्नुपर्छ भन्ने मत बढेर आयो।’ निर्वाचन प्रणाली कस्तो हुने ? भन्ने नै मुख्य एजेन्डा रहेको उनले बताए।

‘हिजो पनि माओवादीमा निर्वाचन भएको हो। तर, भोटिङ मात्रै नभएको हो। त्यतिबेला बहुमतबाट निर्णय गर्ने काम भयो’, उनले भने, ‘गोजीबाट नेतृत्वले नेता बनाउँदा पार्टीमा व्यथिति बढेपछि चुनावको माग उठेको हो। ताली बजाउने परम्पराले मानिसको चित्त बुझ्दैन। अहिलेको प्रजातान्त्रिक अभ्यासमा यो परम्परा ठीक भएन। अब संगठन प्रजातान्त्रिक हुनुपर्छ। निर्वाचनमा जानुपर्छ भन्नेमा प्रचण्डजीलगायत कसैको पनि विमति छैन। तर एमाले जस्तो कि कांग्रेसको जस्तो परम्परागत बनाउने भन्ने बहस भइरहेको छ।’ 

nullजनार्दन शर्माका चार फरक मत

पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा प्रस्ताव कार्यदल बनाइएको थियो। जसको सदस्यमा पार्टी उपमहासचिव जनार्दन शर्मा पनि थिए। उनले पार्टी रूपान्तरणका लागि कार्यदलमा चार फरक प्रस्ताव गरेका थिए। तर, कार्यदलमा रहेका अन्य नेताले उनको कुरा सुनेनन्। त्यसपछि उनले विधान मस्यौदा छलफलमा फरक चार मत राखेका थिए। 

प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टीका सबै तहमा चुनाव हुनुपर्ने र संगठनलाई उनीहरूको योजनाअनुरूप चल्न दिनुपर्ने उनले उठाएका मुख्य एजेन्डा थियो। स्थायी समितिमा शर्माले पेस गरेको प्रस्तावका कारण माओवादीभित्र तरंग उत्पन्न भएको थियो। कार्यदलले गत माघ १ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधान मस्यौदाको प्रस्ताव बुझाएको थियो।

  • १. प्रत्यक्ष निर्वाचन प्रणाली 

पार्टीका सबै तह र पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने, मनोनयन र चयन बन्द गर्नुपर्ने माग शर्माले राखेका छन्। उनले मनोनयन र चयनले पार्टी अघि बढ्न नसकेको र नेतृत्व पनि विकास नभएको बताउँदै आएका छन्।

  • २. केन्द्रको हस्तक्षेत्र बन्द गर्नुपर्ने

प्रदेश र जिल्लालाई केन्द्रबाट पूर्ण स्वायत्त राख्नुपर्ने र प्रदेशका मन्त्री छान्दा या तल्लो तहमा उम्मेदवार छान्दा केन्द्रबाट हस्तक्षेप गर्न नहुनेमा उनले जोड दिँदै आएका छन्।

  • ३. पार्टीको नाम फेर्नु पर्ने

पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने माग शर्माको छ। पार्टीको नाम फेरेपछि माओवादीबाट अन्यत्र गएका नेता तथा कार्यकर्तालाई मिलाएर समाजवादी यात्रा अघि बढाउन सहज हुने धारणा उनको छ। 

  • ४. जनवर्गीय संगठनलाई योजनामा चल्न दिनुपर्ने 

जनवर्गीय संगठनहरूलाई पार्टीको वैचारिक बाटोबाहेक अन्य विषयमा आफ्नै योजनामा चल्न दिनुपर्ने आवाज उनले उठाएका छन्। 


परिस्थितिको मागलाई सम्बोधन गर्नुपर्छ
देव गुरुङ,महासचिव, माओवादी केन्द्र  

पार्टीको आवश्यकताअनुसार विधान बनाउँछौं। अहिलेसम्मको सबै खाले अभ्यासका आधारमा विधान बनाउँदै छौं। विधान छलफलको क्रममा छ। हामीले चलाएको संगठन, विस्तार तथा सुदृढीकरणको समीक्षा भएको छ।

फागुन १ गतेबाट विधान मस्यौदामाथि बृहत् छलफल गर्दै छौं। आवश्यकताअनुसार रूपान्तरित हुन्छौं। परिस्थितिको मागअनुसार अघि बढ्नुपर्छ। संविधान, कानुन र राज्यको नीतिलाई पनि पार्टीमा लागू गर्नुपर्छ। अहिलेको अभियानै भनेको समाजवाद दिशामा जानुपर्छ भन्नेमा केन्द्रित छ।  

समाजवादी क्रान्तिलाई हाँक्ने नेतृत्व चाहियो
गिरिराजमणि पोखरेल, उपमहासचिव तथा स्कुल विभाग प्रमुख

कम्युनिस्ट पार्टी  अरू जस्तो पुँजीवादी पार्टी हुँदैन। लामो विचारको संघर्षबाट त्यो आउँछ र आएको पनि छ। बीचमा जुन ढंगबाट अगाडि बढ्यौं, त्यसले पार्टीलाई बलियो बनाएन। ठूला कमिटी बनायौं। त्यसलाई व्यस्थित पार्न कार्यकर्ता तथा नेताहरूले चुनावको कुरा गर्नुभएको हो। भुइँ तहमा केही वडामा कमिटी गठन गर्न चुनावी अभ्यास पनि भयो।

कम्युनिस्ट पार्टी बुर्जुवा पार्टीभन्दा फरक हो। हामी पार्टीभित्र चुनावको पक्षधर हौं। तर, गुट बनाउने, बुर्जाहरूले अबलम्बन गर्ने पैसाको खेल गरेर भोट किन्ने जस्ता कैयौं कुराले समाजवादी क्रान्तिलाई हाँक्ने पार्टी बन्न दिँदैन। त्यसैले इलेक्सनलाई अबलम्बन गर्दा पार्टीको मूल चरित्र प्रतिस्पर्धा पनि गर्ने, राज्यमा हस्तक्षेप पनि गर्ने अनि चुनावबाट समाजवादको बाटोतिर पनि जाने गरि सोच्नुपर्छ। पार्टी विचार प्रशोधन गर्दै, विचारलाई मूल पक्षमा असर नपर्ने गरी चुनावमा जानुपर्छ भन्ने हाम्रो बुझाइ हो।

क्रान्तिकारी नेतृत्वको मूल्यांकन गर्ने र उसले खेलेको भूमिकालाई पनि स्थापित बनाउने गरी चुनावी मोडेल बनाउनुपर्छ। समकालीन राजनीतिमा अभ्यास गरिएको कुराको वरिपरि मात्रै समाधान खोज्नु हुँदैन। कम्युनिस्ट पार्टी चरित्र, बदलिएको विश्व परिवेश, नेपालको प्रतिस्पर्धाको राजनीति, माओवादीको योग्दानले निर्माणको शासकीय स्वरूपलाई आत्म साथ गर्दै चुन्ने र चुनिने सवाल विचार र संगठन जोडिन्छ। चुनावी मोडेल तयार गर्न हामी व्यापक छलफल गर्दैछौं। यसले नेपाली राजनीतिमा नयाँ चुनावी मोडेल लिएर आउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.