माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव

माओवादीको नाम र चुनाव चिह्न फेर्न सुझाव
काठमाडौंमा जारी माओवादी केन्द्रको विधान अधिवेशन ।
सुन्नुहोस्

काठमाडौं : माओवादीका नेता-कार्यकर्ताले पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव दिएका छन्। उनीहरूले जनजिब्रोमा झुन्डिने पार्टीको नाम र सबैले थाहा पाउने खालको चुनाव चिह्न राख्नुपर्ने सुझाव दिएका हुन्। 

पार्टीको जारी विधान सम्मेलनमा समूहगत छलफलका निष्कर्ष सुनाउँदै नेताहरूले पार्टीको नाम र चुनाव चिह्नबारे प्रश्न उठाएका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विधान मस्यौदामाथि छलफलका लागि २० वटा समूह बनाइएका छन्। तीमध्ये १३ वटा समूहका नेताहरूले बुधबार निष्कर्ष सुनाए। यस्तै, अधिकांश नेता÷कार्यकर्ताले पार्टीभित्रका खाओवादीका कारण पार्टी र संगठन अघि बढ्न नसकेको भन्दै उनीहरूलाई तह लगाउन सांस्कृतिक रूपान्तरण अभियान चलाउनुपर्ने पनि बताए। राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन र विकासका मुद्दामा पार्टी केन्द्रित हुनुपर्ने पनि उनीहरूको सुझाव थियो। पार्टीभित्रैका भ्रष्टाचारी, मिटरब्याजी, क्रसर माफिया र स्वार्थी समूहलाई अधिवेशन प्रतिनिधिहरूले खाओवादीको संज्ञा दिएका थिए। केन्द्रीय सदस्य सरल सहयात्रीले पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने सुझाव दिए। उनले पार्टीको महाधिवेशनको मिति पनि तोक्नुपर्ने माग गरे। 

अर्का केन्द्रीय सदस्य भवानी खड्काले पार्टीमा माफिया, दलाल, पुँजीपति वर्गको घुसपैठ भएको बताइन्। ‘जसविरुद्ध लड्नु पर्ने थियो। उनीहरू नै हावी भएपछि पार्टीमा एक किसिमले क्यान्सर नै लाग्यो’, खड्काले भनिन्, ‘अब माओवादी सकिने कि सच्चिने ? भन्ने प्रश्न आयो। माओवादीको भेषमा रहेका खाओवादीहरूको छानबिन गरी कारबाही गर्ने व्यवस्था विधानमा ल्याउनुपर्छ।’

विधान सम्मेलनले माओवादीलाई चुस्तदुरुस्त बनाउनुपर्ने केन्द्रीय सदस्य राजु खड्काले सुझाव दिए। ‘विधानले नै पार्टी जीवनमा मुख्य असर पार्दछ,’ खड्काले भने, ‘पार्टीले लिएको विचारको आधार विधान बनाउनुपर्छ। पार्टी निर्माणको आधार, बाटो र भविष्य निर्धाण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’ संगठनको जीवन नै विधान भएको उल्लेख गर्दै खड्काले भने, ‘शान्तिकालमा आएपछि माओवादीको चरित्रमाथि नै प्रश्न उठेको छ।’ समयानुकूल फिट खाने विधान बन्नुपर्ने र त्यसकै आधारमा पार्टी संगठन चलाउनुपर्ने उनको भनाइ थियो। नेतृ खड्काका अनुसार माओवादीले वर्गीय राजनीति र विचार छोड्यो। त्यसैले ओरालो लाग्यो। फेरि माओवादीले आफैंलाई आफैंले चिन्नुपर्ने बेला आएको छ। त्यो खाले विधान चाहिन्छ। त्यसमा केन्द्रीय सदस्य इन्दु शर्मा थप्छिन्, ‘सिद्धान्त नाप्ने कसी व्यवहार हो। माओवादी व्यवहारमा स्खलित भयो। पार्टीमा जुँगाको लडाइँ देखियो।’ 

अधिवेशन प्रतिनिधि दिलीपकुमार प्रजापतिले जातीय छुवाछूतलाई गम्भीर अपराधका रूपमा पार्टीले लिनुपर्ने बताए। अर्का प्रतिनिधि पर्शुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्यांकन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछूतलाई गम्भीर रूपमा लिने व्यवस्था गर्नुपर्ने सुझाव दिए। पार्टीको चुनाव चिह्न् परिवर्तन गर्नुपर्ने सुझाव समूहमा आएको रम्तेलले जानकारी दिए। 

त्यस्तै अर्का नेता वामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिए। प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउने गरी विधानमा व्यवस्था हुनुपर्ने उनको भनाइ थियो। ‘पार्टीका सदस्यभन्दा पनि पार्टी शुभचिन्तकको अध्यक्षमा अनुशासन समिति बनाएर शक्तिशाली बनाउनुपर्छ,’ उनले भने। वैज्ञानिक समाजवादमा जाने गरी प्रस्तावना लेखिनुपर्नेमा प्रतिनिधि झक्कुप्रसाद सुवेदीले जोड दिए। उनले पनि जातीय छुवाछूत गम्भीर रूपमा लिनुपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए।  

हालसम्म १३ समूहले विधानमाथि सुझाव पेस गरिसकेका छन्। मंगलबारदेखि काठमाडौंमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.