माओवादी केन्द्रका सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

माओवादी केन्द्रका सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
सुन्नुहोस्

काठमाडौं : माओवादी केन्द्रले पार्टीका सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न विधान अधिवेशनमा नेता-कार्यकर्ताले ‘टिके प्रथा हटाएर प्रत्यक्ष प्रणालीबाट सबै कमिटीको नेतृत्व चयन’ गर्नुपर्ने दबाब दिएका थिए। चर्को दबाबपछि पार्टी  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब पार्टीका हरेक कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट छनोट हुन्छन्।’ दाहालको यस्तो घोषणालाई विधान अधिवेशनका प्रतिनिधिले ताली बजाएर स्वागत गरेका थिए। ‘टिके प्रथा’ले पार्टी र नेता दुवै बिग्रिएको भन्दै पार्टी रूपान्तरणको चार महिने अभियानका क्रममा भुइँतहबाटै पार्टी नेतृत्वको चौतर्फी विरोध भएको थियो। 

तीन दिन चलेको विधान अधिवेशनको समापनमा अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको हरेक कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्नेबारे विधानमै व्यवस्था गर्ने निर्णय गरेका छौं। अब हाम्रो पार्टीमा प्रत्यक्ष निर्वाचन प्रणालीको ढोका खुल्यो।’ 

एक वर्षभित्र हुने विशेष महाधिवेशनपछि प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टीका कमिटी गठन गरिने उनले बताए। अध्यक्ष दाहालका अनुसार केन्द्रीय कमिटीको निर्वाचनपछि त्यही कमिटीले पदाधिकारी चयन गर्नेछ। अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका २० समूहले नै पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुनुपर्ने दबाब दिएका थिए। ‘टिके प्रथाले सिंगो पार्टी नै थला परे जस्तो कार्यकर्ताले महसुस गरे,’ केन्द्रीय सदस्य दीपक साउदले भने, ‘पार्टीलाई समयानुकूल, चलायमान र आकर्षणको केन्द्र बनाउनुपर्ने आवश्यक छ। त्यसका लागि कार्यकर्ताले पत्याएको नेतृत्व आउनुपर्छ।’

कमिटी गठन गर्दा जनवादी केन्द्रीयताको आधारमा गर्ने माओवादीले निर्णय गरेको छ। कमिटीमा बस्नेहरूको योग्यताबारे कार्यविधि र नियमावलीमा उल्लेख गरिने पनि उनले बताए। पार्टी जीवनमा भएको पहिलो विधान अधिवेशनलाई प्रतिनिधिहरूले अनौठो मानेका छन्। तर, विधान लागू हुन्छ कि हुँदैन ? भन्नेमा प्रतिनिधिहरू विश्वस्त छैनन्। केन्द्रीय सदस्य दीपबहादुर योञ्जनले भने, ‘विधान जसरी पनि कार्यान्वयन गर्छौं भनेर अध्यक्षले भन्नुभएको छ। अब विधान, नीति र विधिमा पार्टी चलेन भने कठिनै हुन्छ।’ उनका अनुसार अबको महाधिवेशन केन्द्रबाट सुरु हुन्छ। महाधिवेशनको मिति अहिले तोकिएको छैन। सम्भवतः एक वर्षमा हुन्छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले विधान अधिवेशन ओजपूर्ण भएको दाबी गरे। यस्तै विधान अधिवेशनले केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय बनाउने निर्णय गरेको छ। ‘वैचारिक, सैद्धान्तिक, दार्शनिक बहस माथिल्लो स्तरबाट भयो। २१ औं शताब्दीको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरेर नयाँ विचार धाराको निर्माण गर्ने पक्षमा हामी पुगेका छौं,’ सापकोटाले भने, ‘यसले विशेष महाधिवेशनको आधार तयार गरेको छ। समाजवादी विचारधारा, मूल्यमान्यता, मार्गचित्र प्रस्तुत गर्ने गरी विधानको प्रस्ताव तयारसहित छोटो विधान तयार हुन्छ।’  

समाजवादी मोर्चाकै माध्यबाट वाम शक्तिको आधार बनाउँदै जाने पक्षमा माओवादी उभिएको छ। उसले समग्र वामपन्थी शक्तिको पनि एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने विधान अधिवेशनबाट निर्णय गरेको छ।

‘लोकतान्त्रिक समाजवाद र कम्युनिस्टहरूको एकीकरण र पुनर्गठनलाई अनिर्वाय भनेका छौं’, प्रवक्ता सापकोटाले भने, ‘अझ हामीले सामाजिक न्यायसहितको वैज्ञानिक समाजवादको बाटो निर्धारण गरेका छौं।’ 

पार्टीभित्र शुद्धीकरण अभियान चलाउने माओवादीले नीति लिने अधिवेशनबाट निर्णय गरेको छ। पार्टीका भ्रष्ट नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने कुरा बैठकमा चर्को रूपमा उठेको थियो। ‘पार्टी पदाधिकारीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सापकोटाले भने, ‘अब पार्टीभित्र शुद्धीकरण अभियान बेजोड ढंगले हुन्छ।’

पार्टीलाई जीवनत बनाउन, सरकारको काम प्रचार गर्न चैत १ गतेबाट जनजागरण अभियान चलाउने अधिवेशनले निर्णय गरेको छ। हुलाकी राजमार्ग केन्द्र तराई मधेस जनजागरण अभियान चलाउने, पूर्व–पश्चिम राजमार्ग र हिमाल, पहाड र तराईलाई लक्षित गरेर उत्तर–दक्षिण अभियान चलाउने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.