कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला

कैलालीमा ४ सय गाईगोरुका कंकाल फेला
कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा रहेको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा गाईगोरुका कंकाल । तस्बिर : शिवराज भट्ट

धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा चार सयभन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन् । सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा चार सय बढी गाईगोरुका कंकाल फेला परेका हुन् । 

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो । 

लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको जानकारी दिइन् । मासिक आठ हजार तलब दिने गरी आठ जना हेरालु राखेका थियौं । ती पशुलाई चिसोमा बस्ने ओत र खाना नभएपछि मर्न थालेका हुन्’, उनले भनिन् ।

चार सय बढी चौपाया मरेको खबरपछि वडाध्यक्ष राना आत्तिएका छन् । उनले आफूलाई पशुचौपाया मरेका बारे कसैले जानकारी नगराएको बताए । भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रानाले आफूलाई कुनै जानकारी नै नभएको बताए । 

वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् । हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् । ‘भदौदेखि नै कान्जी हाउसका गाईहरू मर्न थालेका छन् भन्ने सुनेको हुँ’, स्थानीय ७३ वर्षका डिल्लीसिंह खत्रीले भने ।

null

वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको आरोप छ । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए । वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ । स्थानीय  विराज विष्टले कान्जी हाउसमा पशुचौपाया हुलेर राखेको र तिनको उपचार, खाना र ओतको ब्यवस्था नगरिएकाले गौहत्या भएको आरोप लगाए ।

‘कान्जी हाउसको सबै जिम्मेवारी नगरपालिका र वडाको हो । अहिले वडाका कसैले पनि हामीलाई थाहा छैन भनेर पन्छिरहेका छन् । यो सुनियोजित रूपमा गरिएको गौहत्या हो’, विष्टले भने । सामुदायिक वनमा २/३ कठ्ठामा तारबार लगाइएको छ । त्यसभित्र पाँच सयभन्दा बढी पशुचौपाया राखिएको थियो । त्यसमध्ये चार सय मरिसकेका छन् । मरेका केही पशुचौपाया तारबारभन्दा बाहिर यत्रतत्र फालिएका छन् भने आधाभन्दा बढी तारबारभित्रै छन् ।

तारबारभित्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन् । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन् । भदौबाट मर्न थालेका पशुचौपाया माघसम्म लगातार मरेको हेरालु नरबहादुर बोहराले बताए । ‘दानापानी भएन । चिसोमा ओत लाग्ने ठाउँ पनि भएन । शरीरमा फोकाफोका पनि आएका छन् । त्यसपछि चौयापा मर्न थाले’, उनले भने । कात्तिक १५ गतेदेखि हेरालुका रूपमा काम गर्न थालेका बोहराले सबैभन्दा बढी गाईगोरु माघमा मरेको बताए । ‘माघमा चिसो धेरै भयो । चरन क्षेत्र पनि सुक्खा बगरजस्तै छ । खानेकुरा पनि केही भएन’, उनले भने । 

उनका अनुसार हिउँदको कठ्यांग्रिँदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानाका लागि कुनै व्यवस्था नै गरिएको थिएन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.