भुइँमान्छेका सारथि रामकुमार

भुइँमान्छेका सारथि रामकुमार

विकास निर्माणका काममा सरकारको मात्रै भर पर्नु हुँदैन। सबैले तन, मन, धन दिएर गाउँ विकास गर्ने हो भने हामीले सोचेको विकास नहुने कुरै छैन।

जहाँजहाँ उनी जान्छन्, त्यहाँत्यहाँ नयाँ कामको सुरुवात गर्छन्। कुनै ठाउँमा पार्कको अवधारणा ल्याउँछन् त कही विवादलाई निरूपण गरेर सामाजिक शक्तिलाई विकासमा रूपान्तरण गर्छन्। हो, रामकुमार कार्की जो दु:खी, गरिब र सामुदायिक संस्थालाई मुठ्ठी खोलेरै दान गर्न कहिल्यै पछि पर्दैनन्। चाडवाडमा दलित तथा गरिब बस्तीमा पुग्छन्। उनीहरूलाई भोज खुवाएर कहिले दसैंको टीका लगाएर दसैं मान्छन् त पुस–माघको शीतलहरमा न्यानो लुगाफाटो लिएर घर पुग्छन्। कहिले त उनी आफ्नो पूरै महिनाको तलबै पीडितहरूलाई थमाइदिन्छन्। पीडामा मलमपट्टी लगाइदिन्छन्। सामाजिक गर्न सधैं अग्रसर रहन्छन्, महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीका मनकारी व्यक्तित्व रामकुमार।

सहयोग गर्दै, मन जित्दै : ‘हरित विद्यालय’ बनाउन उनले महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयलाई हालै महिनाभरको तलब दिए। मन्दीका बेला पनि उनले महँगा जातका ५ सय ४० बिरुवा किनेर स्कुलमा रोपिदिए। गरिब, मजदुरका बालबालिका पढ्ने स्कुलमा मिठाई बाँड्दै तिनलाई असल र दक्ष नागरिक बन्न हौसला दिए। मनकारी कार्कीको सहयोगले हरित अभियानले सार्थकता पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेकवाल महतो बताउँछन्। जनमुखी विद्यालयमा ‘विद्यालय रूपान्तरण अभियान’ सञ्चालन भइरहेको छ। जसबाट सात लाखबराबरको काम भइरहेछ। गार्डेन तथा चौतारा निर्माण, स्वास्थ्य शिविरजस्ता काम भएको शिक्षक धर्मेन्द्र महतो सुनाउँछन्, ‘मनकारीहरूको साथले सात महिनामै विद्यालयको मुहार फेरियो।’ पहाड उक्लिँदा होस् वा तराई झर्दा रामकुमारलाई माया र आदर गर्नेहरूको कमी हुँदैन। किनभने उनी भुइँमान्छेका सच्चा साथी हुन्। पिछडिएका दलित र विपन्न समुदायको न्यायका लागि लड्ने पात्र हुन्।

सार्वजनिक सेवाका खुल्ला किताब : उनी पेसाले सरकारी कर्मचारी हुन्, सिन्धुलीको घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत। महाभारतको विकट क्षेत्रमा बस्ने जनताको सेवामा खटिरहेका छन् उनी। हालै उपसचिव पदमा बढुवा भएका छन्। नागरिक समाज बर्दिबासका अगुवा नीलबहादुर लुम्रे भन्छन्, ‘कार्की सर, सरल व्यक्तित्वको धनी हुनुहुन्छ। प्रतिबद्ध तथा जनमुखी प्रशासक एवं इमानदारिताका प्रतीक पनि।’ सरकारले गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा देशका ७ सय ५३ स्थानीय तहमध्ये उनी प्रमुख रहेको घ्याङलेख गाउँपालिकाका तेस्रो नम्बरमा परेको छ। मधेसतिर निकै चर्चित उखान छ, ‘खेती गर्नु तरकारी, जागिर गर्नु सरकारी।’ रामकुमार यसबाट निकै प्रभावित छन्। त्यसैले उनले जीवनको ऊर्जाशील ३६ वर्ष सार्वजनिक सेवा खर्चिसकेका छन्।

२०४५ सालमा गाउँकै तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालयबाट उनी देशको सेवा खटिए, एक वर्ष अस्थायी शिक्षक बनेर। २०४६ कात्तिकदेखि सहलेखापाल पदमा घरेलु तथा साना उद्योग कार्यालय, लाहानमा पोस्टिङ भए। पहिलो सरकारी अनुभव लिँदै त्यहाँ उनी आठ वर्ष सेवामा रहे। जिल्ला प्रशासन कार्यालय सिन्धुली त कहिले निर्वाचन कार्यालय बझाङ पुगेर प्रशासनिक काम गरे। १७ वर्ष लगातार सिन्धुली, सर्लाही र महोत्तरीका जिल्ला वन कार्यालयमा काम गरे। पछिल्ला ९ वर्ष स्थानीय तहमा छन्। सार्वजनिक सेवामा उनले सँगालेको अनुभव कुनै किताबभन्दा कम छैन।

जब त्यो कामले चर्चा बटुल्यो ... : बर्दिबास नगरपालिकामा २६ महिना कार्यकारी अधिकृत रहे जतिबेला जनप्रतिनिधिविहीन अवस्था भएकाले सबै काम उनैले गर्नुपर्दा धेरै अनुभव बटुले। उनले बर्दिवासवासीको मन जितेर चर्चा कमाए। बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपालप्रसाद बराल भन्छन्, ‘२०७२ सालमा मधेस आन्दोलनले कुनै गाउँपालिका र नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउन सकेनन् तर उहाँले सबै दललाई मिलाएर ल्याएरै छोड्नु भयो। जसले निकै चर्चा पायो।’ खुल्ला दिसापिसाबले आक्रान्त मधेसको जनजीवनमा कार्कीले नयाँ मोड ल्याइदिएका थिए। बर्दिबास नगरपालिकालाई खुल्ला दिसामुक्त बनाए। एकीकृत नमुना मुसहर बस्तीका अगुवा मञ्जय सदा भन्छन्, ‘दल तथा सामुदायिक संस्थाहरूको बलमा उहाँको अभियानले पूरै नगर खुल्ला दिसामुक्त घोषणा भयो। घरघरमा शौचालय बने।’ मुसहर बस्तीमा बिहानी कक्षा सञ्चालन गरे। त्यहाँ बालबालिकालाई स्कुलमा बिहान–बेलुका पढाउने काम कार्कीबाटै सुरुवात भयो। नगरपालिकाको बजेटबाट उक्त बस्तीमा सामुदायिक भवन निर्माण गराए। शिक्षकको व्यवस्थापन मिलाए। पछि धुर्मुस–सुन्तलीले पनि सहयोग गरे। मुसहर बस्तीका बालबालिकाले स्कुलको दैलो टेके। २०७३ सालमा धुर्मुस—सुन्तलीलाई मुसहर बस्तीलाई एकीकृत नमुना मुसहर बस्तीको रूपमा बदले। प्रशासक कार्कीले त्यसमा पनि स्थानीय तहबाट समन्वय, सहकार्य र साथ दिएर अहम् भूमिका खेले। २०७४ मा नगरपालिका र जनश्रमदानमा चुरेस्थित कालापानीमा पार्क निर्माणमा समन्वय र सहकार्य गरेर नयाँ कामको सुरुआत गरे। पार्क बनाउँदा वन अतिक्रमण गरेको भन्दै सरकारी निकायहरूले धेरै दु:खको उनी सम्झन्छन्। तर, अहिले त्यही पार्कमा भारतीयका लागिसमेत प्रमुख पर्यटकीय गन्तव्य बनेको स्थानीय गणेश बस्नेत बताउँछन्।

गाडी थन्काउँछन्, बस चढ्छन् : कार्की जनसहभागितामा विकास निर्माणका काम गर्न मन पराउँछन्। ‘विकास निर्माणका काममा सरकारको मात्रै भर पर्नु हुँदैन। जनजनबाट पनि सहयोग जुट्नुपर्छ’, उनी भन्छन्, ‘हामी सबैले तन, मन, धन दिएर गाउँ विकास गर्ने हो भने हामीले सोचेको विकास नहुने कुरै छैन।’ उनी जनताको पसिनाबाट संकलित करको सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन्। उनी कार्य सम्पादन गर्दा सुशासन र पारदर्शितालाई पहिलो सूचीमा राख्छन्। ‘जहाँ स्वार्थ हुँदैन। त्यहाँ काम गर्न सबैले सहयोग गर्छन्’, अनुभव सुनाउँदै उनी भन्छन्, ‘म जनताको सेवक हुँ, जनता मेरा मालिक।’ जनताको पसिनाबाट प्राप्त करको सम्मान गर्नुपर्ने बताउँदै उनी थप्छन्, ‘नागरिकप्रति इमान्दार भएर काम गर्नुपर्छ।’ उनलाई सरकारले गाडी सुविधा त दिएको छ तर त्यो परेको बेला मात्रै चढ्छन् उनी। अरू बेला बस चढेर आउजाउ गर्छन्। छोटो दूरीमा त उनी पैदल वा साइकल चढ्छन्।

जनता र जनप्रतिनिधिका साझा पुल ! : सरल स्वभावका उनी जहाँ जान्छन्, त्यहाँ रचनात्मक काम गर्छन्। त्यहाँको विकास निर्माण, भूगोल, भाषा, संस्कृति, इतिहास खोजी गर्छन्। रूपान्तरणका लागि जनप्रतिनिधिलाई बहस चलाउन सघाउँछन्। स्थानीय तहमा जनप्रतिनिधि, दल, नागरिकबीचको विवाद मिलाउँछन्। ‘रामकुमार सरलाई के रात के दिन पालिकामा १८ घण्टासम्म कठोर काम गर्नुहुन्छ’, सिन्धुलीकै घ्याङलेख गाउँपालिकाका प्रमुख जगतबहादुर भोलन भन्छन्, ‘उहाँको काम गर्ने शैली निकै राम्रो छ। उहाँको कामबाट कर्मचारी पनि उत्प्रेरित छन्।’ प्रशासक कार्की भन्छन्, ‘काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी, मस्तिष्कमा समझारी बोकेर निजामती कर्मचारीहरूले नागरिकको पक्षमा काम गर्न सके सबैको साथ पाइन्छ। त्यसपछि त देशले अवश्य कोल्टे फेर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.