दाइजोको निहुँमा बिहे भाँडेको आरोपमा बेहुलासहित ५ जना विरुद्ध मुद्दा दर्ता

दाइजोको निहुँमा बिहे भाँडेको आरोपमा बेहुलासहित ५ जना विरुद्ध मुद्दा दर्ता
सुन्नुहोस्

वीरगन्ज : दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिँडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँचजना विरुद्ध  प्रहरीले विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

वीरगन्ज महानगरपालिका-२४ रामगढवामा सोमबार राति बिहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री मागेका विषयमा बेहुली पक्षसँग विवाद हुँदा कुटपिटसमेत भई बिहे नै भाँडिएको थियो। त्यसमा संलग्न बेहुला,उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीक‌ै घरबाट सोमबार मध्यरातमा नियन्त्रणमा लिएको थियो।

मंगलबार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा  बेहुला बाराको कलैया-४ का २८ वर्षीय उमेश साह,उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरू ४२ वर्षीय राकेश कुमार साह ,४० वर्षीय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर-५ का  ४५ वर्षीय को रामएकवाल साहविरुद्ध विवाह सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। उनीहरू विरुद्ध मंगलबार नै पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए।

बिहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगन्जकै नारायणी अस्पतालकी ल्याब टेक्निसियन हुन्।

वीरगन्ज-२४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको बिहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधि चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबीच कुटाकुटसमेत भएको थियो। त्यसपछि बेहुला उमेश बिहे नगर्ने भन्दै जग्गेबाट उठेर हिँडेका थिए। लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाहस्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

मंगलबार बिहान वडा प्रहरी कार्यालय श्रीपुरमामा दुवै पक्षबीच भएको छलफलमा बेहुलीले दाइजोको लोभी केटासँग बिहे नै नगर्ने जवाफ दिएर आफ्ना अभिभावकका साथ घर लागेकी थिइन्।

बेहुलीका मामाका अनुसार बेहुला पक्षले यसअघि नै दाइजोमा नगद ८ लाख ५० हजार,मोटरसाइकल बापत ३ लाख २५ हजार,६५ हजारको ल्यापटप र सुनको ओैंठी बेहुली पक्षबाट लिइसकेको थियो। यसबाहेक सोमबार राति जग्गेमा विवाहको विधि चलिरहेकै बेला बेहुला उमेशले दाइजोमा थप एउटा सुनको सिक्री पनि चाहिने र त्यो नपाए बिहे नै नगर्ने भन्दै निहुँ खोजेर झगडा गरेर मारपिट गर्दै बिहे नै भाँडेको बेहुलीका मामाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.