३० वर्षपछि जब छोरा घर फर्किए...

३० वर्षपछि जब छोरा घर फर्किए...
३० वर्षपछि घर पुगेका हर्कबहादुर कामीलाई स्थानीयले भव्य स्वागत गरेपछि बाबु नदेसँग फोटो खिचाउँदै। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : माया मारिसकेका छोरा ३० वर्षपछि घरमा टुप्लुक्क आइपुग्दा बुवाआमाको मन कस्तो होला ? भेरी नगरपालिका–१ रावतगाउँका ८५ वर्षीय नदे कामीको जीवनमा यस्तै घटना भएको छ। आइतबार उनका ५५ वर्षीय छोरा हर्कबहादुर कामी घर आइपुगे, नदेका लागि सपना जस्तै भयो। 

उनले छोरालाई अँगालोमा बेरे। हर्षका आँसु खसाले। गाउँभरिका मानिस जम्मा भए। पुनर्जन्म भएको भन्दै माला र अबिर दलिदिएर खुसी साटासाट गरे। हर्कलाई लिन उनका भान्जा गणेश महर भारतको कोलकातासमेत गएका थिए। भारतदेखि गणेशले सहयोगी बनी घरसम्म पु¥याए। आइतबार हर्कबहादुर घर फर्कने भन्ने सूचना पाएपछि गाउँभरिका आफन्त हातमा माला र टीका लिएर बसिरहेका थिए।

भारतको कोलकाताको एउटा अस्पतालमा उपचाररत हर्कलाई भारतीय प्रहरीमार्फत नेपाल प्रहरीको सहयोगमा फेला पार्न सफल भएको उनका भान्जा गणेशले बताए। ‘मामा कोलकातामा लामो समयदेखि मानसिक रोगसम्बन्धी उपचार गराइरहनुभएको रहेछ। मामाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले जानकारी गराई दियो र हामीलाई थाहा भयो’, उनले भने।

३० वर्षपछि छोरासँग भेट्न पाएपछि बाबु नदे कामीले आँखाबाट आँसु खसालिरहेका थिए। ‘मलाई लागेकै थिएन छोरासँग भेटघाट हुन्छ भनेर’, उनले भने, ‘हामी कहिल्यै भेट्न सक्दैनौं होला जस्तो लागेको थियो। आज भगवान्को कृपाले छोरासँग भेट भयो।’ उमेरले आठ दशकभन्दा बढी काटिसकेका नदेले छोरा घर फर्केपछि खुसियालीको आँसु रोक्न सकेनन्। 

नदेका पाँच छोरीहरूमा एउटा मात्रै छोरा थिए हर्कबहादुर। धर्मकर्ममा विश्वास राख्ने नदे लामो समयदेखि कालेगाउँस्थित शिवालयको कुटीमा बस्छन्। एउटा मात्रै भाइ घरमा आउँदा खुसीका आँसु रोक्न सकेनन् दिदीबहिनीले पनि। उनी घरबाट बेपत्ता हुँदा २५ वर्षका मात्र थिए।

उमेरले ६० काटिसकेकी महिमा चनाराले आफ्नो भाइ हर्कबहादुर घर आएपछि खुसीको आँसु रोक्न नसकी भाइलाई अंकमाल गरिन्। ‘आज हामीसँग खुसीको सीमा नै छैन, मेरो भाइ यसरी घर आउला भन्ने सोचेकै थिइन्’, उनले भनिन्, ‘हामीले माया मारिसकेका थियौं, भाइ आउँदा रित्तो घर भरिएको छ।’

उनका पाँच दिदीबहिनीमध्ये एकले भाइलाई भेट्ने सपना पूरा नहुँदै संसार छोडिन्। हर्कबहादुर आउँदा घर परिवार मात्रै होइन, गाउँका आफन्त इष्टमित्र समेत खुसीले गदगद छन्। परिवारको सम्पर्कमा नभएका हर्कबहादुर मानसिक रूपमा कमजोर छन्।

हर्कबहादुरलाई मानसिक रोगको उपचारका लागि काठमाडौंसम्म लैजानुपर्ने भान्जा गणेश महरले बताए। ‘केही औषधि लिएर आएका छौं’, उनले भने, ‘औषधि सकिएपछि मामालाई काठमाडौं लिएर जानुपर्ने देखिन्छ।’ मामाको उपचारका लागि आर्थिक सहयोग गर्नसमेत उनले अपिल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.