खेलकुदले चर्चा राजनीतिमा सफलता

खेलकुदले चर्चा राजनीतिमा सफलता

काठमाडौं : खेलकुदमा चर्चा बटुलेर राजनीतिमा सफल हुने व्यक्तिमध्येका एक हुन्, बाबुलाल सुब्बा। विगत ३२ वर्षदेखि खेलकुदमा निरन्तर क्रियाशील सुब्बाले पछिल्लो समय सफल जनप्रतिनिधिको परिचय बनाएका छन्। खेलकुदसँगै राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका उनी मेचीनगर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष हुन्।

मार्सल आर्ट्सको रहरले खेलकुदमा

तत्कालीन दुवागढी गाविसका सुब्बालाई मार्सल आर्ट्स खुब मन पथ्र्यो। उनी चलचित्रमा ‘फाइट’को दृश्य आउना साथ रोमाञ्चित हुन्थे। टेलिभिजन र ठूलो पर्दामा यस्तो दृश्य चलिरहँदा आफूले पनि एक दिन यस्तै कला देखाउँछु भन्ने अठोट लिन्थे। 

बाबुलाल विद्यालय जाँदा र फर्कंदा गाउँको चौरमा चलचित्रको दृश्यजस्तै ‘फाइट’ खेलिरहेको देख्थे। उनीहरूको कलाकौशल र चर्चिकलालाई एक टकले हेरिरहन्थे। आफूले कहिले खेल्ने होला भनेर आफैलाई प्रश्न गर्थे। उनी विद्यालय जाँदा र फर्किंदा टक्क रोकिन्थे र अरुले खेलेको हेरिरहन्थे। यो कुरा धेरै पछि छिमेकका गुणरत्न थापाले थाहा पाए। उनले बाबुलाललाई ‘उनीहरूले जस्तै खेल्ने हो’ भनेर सोधे। गुणरत्नको कुरा सुन्नासाथ बाबुलालको मुहारमा खुसी भरियो। उनले बाल सुलभमा ‘खेल्ने हो’ भन्दै दौडिए। 

गुणरत्न झापा जिल्ला खेलकुद विकास समितिका कर्मचारी थिए। उनले तेक्वान्दो प्रशिक्षक हरि भुजेलको तेक्वान्दो डोजाङमा लगेर उनको भर्ना गरिदिए। त्यतिबेला झापामा तेक्वान्दोको मात्रै प्रशिक्षण हुन्थ्यो। त्यसैले बाबुलाल पनि तेक्वान्दोमै भर्ना भएका थिए। त्यसपछि अरू खेलाडीसँगै बाबुलालले प्रशिक्षण गर्न थाले। २०४८ सालदेखि तेक्वान्दो खेल्न थालेका उनले २०५५ सालमा प्रथम डान ब्ल्याकबेल्ट उतीर्ण गरे। यसबीचमा उनले विभिन्न प्रतियोगितामा पनि प्रतिस्पर्धा गरे। अन्तर डोजाङ, अन्तर जिल्ला र अञ्चलस्तरीय प्रयिोगितामा सहभागिता जनाए। 

उनले केही अन्तर्राष्ट्रिय प्र्रतियोगितामा पनि प्रतिस्पर्धा गरे। सन् २०१९ मा दक्षिण कोरियामा आयोजना भएको वल्र्ड पिस तेक्वान्दो फेस्टिभलमा उनले दुई स्पर्धा प्रतिस्पर्धा गरेका थिए। एकल पुम्सेमा कांस्य पदक जितेका उनले ब्याककिकमा भने रजत पदक जितेका थिए। यही प्रतियोगितामा उनले अस्मिता सुब्बाको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। यसैगरी सन् २०१९ मै थाइल्यान्डमा आयोजना भएको दोस्रो थानपा इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा ४५ वर्षमाथिको एकल पुम्सेमा स्वर्ण पदक जितेका उनले सन् २०२३ मा संयुक्त अरब इमिरेट्सको फुजराहमा सम्पन्न तेक्वान्दो च्याम्पियनसिपमा टिम व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए। 

प्रथम डान ब्ल्याकबेल्ट उत्तीर्ण गरेपछि बाबुलालले सक्रिय खेलाडी जीवनसँगै प्रशिक्षण यात्रा पनि सुरु गरेका थिए। २०५५ सालमा ढुवागढी डोजाङ स्थापना गरे। जुन डोजाङ झापाकै दोस्रो पुरानो डोजाङ हो। पछिल्लो समय भने उनी दुवागढीसँगै मेचीनगर डोजाङमा पनि निःशुल्क प्रशिक्षण गराउँदै आएका छन्।

राजनीति र प्रशिक्षण सँगसँगै

बाबुलाल २०५५ सालदेखि नै राजनीतिमा होमिएका थिए। माओवादी निकटको क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यका रूपमा उनले राजनीतिमा पाइला राखेका थिए। विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका उनले दुवागढीको कमान्डरसँगै अध्यक्षको भूमिका पनि निर्वाह गरे। उनी आवद्ध पार्टीले भूमिगत रूपमा सशस्त्र द्वन्द्व चलाए पनि बाबुलाल धेरै समय भूमिगत बस्नु परेन। खेलकुदमा पनि लागेका कारण उनलाई सुरक्षाफौजले चासो दिँदैन थियो। २०५९ मा भने उनी माओवादीमा संलग्न रहेको कुरा सुरक्षाफौजले थाहा पायो। त्यसपछि मध्यरातमा उनको घरमा सुरक्षाफौजले घेरा हाल्यो। उनी त्यो घेरा तोडेर भाग्न सफल भए। त्यसपछि करिब एक वर्ष भूमिगत रुपमा पार्टीको काम गरे। 

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि बाबुलाल २०६३ मा दुवागढीको पार्टी अध्यक्ष भए। १० वर्ष दुवागढीको अध्यक्ष बनेका उनी २०७४ देखि मेचीनगर नगरपालिकाको सह–इन्चार्ज छन्। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी मेचीनगर नगरपालिकाको वडा नम्बर १४ को अध्यक्षमा निर्वाचित भएका थिए। 

राजनीतिमा सक्रिय भए पनि उनले दुवै डोजाङमा नियमित रुपमा प्रशिक्षण गराउँदै आएका छन्। एउटा डोजाङमा बिहान प्रशिक्षण गराउँछन् भने अर्को डोजाङमा बेलुका। दुवै डोजाङमा साढे दुई सय जनाले नियमित प्रशिक्षण गर्दै आएका छन्। ‘आफ्नो समय व्यवस्थापन गर्ने हो भने राजनीति, समाजसेवा र खेलकुदलाई अगाडि बढाउन सकिन्छ। यसकालागिआफूमा इच्छाशक्ति हुनुपर्छ’, बाबुलाल भन्छन्। 

छैटौं डान ब्ल्याकबेल्ट बाबुलाल झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष पनि हुन्। उनी राष्ट्रिय निर्णायक पनि हुन्। विभिन्न प्रतियोगितामा उनले निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएका छन्। 

सामाजिक काममा पनि सक्रिय

बाबुलाल सुब्बा खेलकुद र राजनीतिसँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्। पछिल्लो समय जनप्रतिनिधिका रुपमा सामाजिक काममा सक्रिय उनी त्यसअघि पनि सदैव समाज सेवामै सक्रिय हुन्थे। स्थानीय स्तरमा हुने विभिन्न सामाजिक काममा सक्रिय सहभागिता जनाउँदै आएका थिए। 

अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य

बाबुलाल खेलकुदमा लागेको तीन दशक नाघिसक्यो। त्यसैले उनी चाहेर पनि खेलकुदबाट अलग हुन नसक्ने बताउँछन्। उनी आफूले सकुञ्जेल खेलाडी उत्पादनको काम गरिरहने बताउँछन्। ‘खेलकुद मेरो अभिन्न अंग बनिरहेको छ। यसबाट चाहेर पनि अलग हुन सक्तिनँ’, उनी भन्छन्, ‘अब अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा केन्द्रित हुन्छु।

आफ्नो खेलाडीले भोलिका दिन एसियाली र ओलम्पिक खेलकुद खेलेको हेर्ने इच्छा छ।’ उनको प्रशिक्षणमा अस्मिता सुब्बाले थाइल्यान्ड र दक्षिण कोरियामा भएको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पदक पनि जितेकी थिइन्। पुम्से विधामा प्रतिस्पर्धा गरेकी अस्मिताले थाइल्यान्डमा स्वर्ण र दक्षिण कोरियामा कांस्य पदक जितेकी थिइन्। अरु खेलाडीले पनि विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याइरहेका छन्।

बाबुलालले डोजाङ स्थापनादेखि नै खेलाडीलाई निशुल्क प्रशिक्षण गराउँदै आएका छन्। उनको डोजाङमा आर्थिक रुपमा विपन्न र लोपोन्मुख जातिका धेरै जनाआउने भएकाले पनि उनले कसैसँग शुल्क लिएका छैनन्। ‘मेरा अधिकांश खेलाडी लोपोन्मुख जाति राजवंशी, सन्थाल, ब्रिजा, सोरेज, मेचेसँगै विभिन्न दलित बालबिालिका छन्। लोपोन्मुख र विपन्न विद्यार्थीसँग शुल्क लिनै मनले मानेन’, उनी भन्छन्, ‘सकेसम्म आफैले उनीहरूलाई सहयोग गर्दै आएको छु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.