यसरी जन्मदिनको सार्थकता

यसरी जन्मदिनको सार्थकता

‘तिमीले हरेक दिन जन्मदिन जसरी बाँच्नुपर्छ’ प्यारिस हिल्टनको यो भनाइभन्दा विपरीत तरिकाले जन्मदिन मनाउने चलन बढ्दो छ हिजोआज हाम्रा सहरबजार र गाउँघरमा। आर्थिक रूपमा सम्पन्न परिवारले मात्र होइन, जन्म दिन सामान्य परिवारले पनि मनाउन थालेका छन्। बालबालिका, युवा र ज्येष्ठ नागरिकको पनि जन्म दिन मनाउने चलन छ। धेरैजसो बालबालिकालाई जन्म दिन मनाउन खुब रहर लाग्छ। उनीहरू त जन्म दिनमा छरछिमेक र स्कुलका साथीहरूलाई चकलेट बाँड्छन्।

आजका युवाहरूको जन्म दिन मनाउने तरिका भने अलिक फरक छ। साथीभाइहरूलाई निमन्त्रणा गर्ने। सबैजना वरिपरि बस्ने, केक ल्याउने, केकवरिपरि मैनबत्ती बाल्ने, निभाउन लगाउने अनि सबैले ‘ह्याप्पी बर्थ डे टु यु’ भन्ने। निमन्त्रितहरूलाई केक खुवाउने। निम्ता स्वीकार गरेर जोजो आउँछन्, उनीहरूले दिएको उपहार लिने र उनीहरूलाई पार्टी दिने। पार्टीमा माछा, मासु, बियर, ह्विस्की खाने र टोल नै थर्किने गरी नाचगान गर्ने। यो जन्म दिन मनाउने कुनै नयाँ परम्परा होइन, विकृति हो। यो असल संस्कारको अभाव हो। जबकि असल संस्कारविनाको मानिस लँगडोसरह हुन्छ। बाटो बिराएको वटुवाजस्तो हुन्छ।

जन्म दिन मनाउने विषयमा एकजना डेरावालको भोगाइ यस्तो छ– ऊ चारतले घरको एउटा कोठामा डेरा गरी बस्थ्यो। हरेक बिहान ढोकामा ढकढक आवाज आउँथ्यो। आँखा मिच्दै ढोका खोल्यो। निमन्त्रणा सुन्नुपथ्र्यो, ‘सर गुड मर्निङ, आज मेरो वर्थ डे। भरे पार्टी छ, आउनुस है।’ यस्ता निमन्त्रणाले उसलाई तनाव हुन्थ्यो, जाऊँ भने महँगा उपहार किन्ने पैसा छैन। नजाऊँ भने भोलिदेखि गिल्ला गर्ने हुन् कि भन्ने डर। उसलाई धेरैको जन्म दिन त घरमा जुठो परेको छ भनेर टार्नुपरेछ।

अरूका छोराछोरीको जन्मदिनमा जाँदाजाँदा एक दिन आफ्नै छोराछोरीले उसलाई भनेछन्, ‘ड्याडी, आज मेरो बर्थ डे। मेरो पनि जन्म दिन भव्यसँग मनाउने। साथीभाइहरूलाई बोलाउने, पार्टी दिने, नाचगान गर्ने है।’ छोराको प्रस्तावले उसको होसहवास उडेछ। डेरावाल मात्र होइन, ऊजस्ता निम्न आयआर्जन गर्ने धेरै मानिस जन्म दिन मनाउने रबैया परम्पराले हैरान भएका छन्। हुनेखानेले त मनाउलान्, तर बिहानबेलुका एक पेट दालभात कसरी जुटाऔं भन्नेहरूले कसरी जन्मदिन मनाउने ?

म सानो छँदा हजुरआमा भन्नुहुन्थ्यो— नानी, आज तेरो जन्मदिन हो। नुहाउनू, चोखो लुगा लगाउनू, मन्दिर जानू, भगवान्को पूजा गर्नू र दिनभरि सात्विक भोजन गर्नू। माछामासु नखानू। नयाँ उद्देश्य लिनु। वर्षभरिको योजना बनाउनू। आफूभन्दा ठूलाका हातबाट टीका लगाएर आशीर्वाद लिनू। जन्मदिने आमाबुवालाई सम्झनू। सबैसँग प्रसन्न हुनू। कसैसँग नरिसाउनू।

हुनेखानेले त मनाउलान्, तर बिहानबेलुका एक पेट दालभात कसरी जुटाऔं भन्नेहरूले कसरी जन्मदिन मनाउने ?

मेरी हजुरआमाले जन्मदिनका बारेमा जुनजुन कुरा सिकाउनुभएको थियो, त्यो पूर्वीय संस्कार हो। पूर्वीय संस्कारअनुसार जन्म दिनमा घर, आँगन र मन्दिरमा दियो बाल्नू। मन्दिरमा पूजा र प्रार्थना गर्नू। घरवरिपरिका बालबालिकालाई बोलाएर मालपुवा, खिर, हलुवा, तरकारी पकाएर खुवाउनू।

जन्मदिन होहल्ला गर्नका लागि होइन, सम्बन्धित व्यक्तिलाई उत्साह र ऊर्जा प्राप्त होस् भन्ने उद्देश्य राखेर मनाउने हो। घरमा कसैको जन्मदिन छ भने त्यस दिनभरि घरमा तोरी या तिलको तेल राखेर दियो बाल्नू। बत्ती निभ्न नदिनू। आफूभन्दा ठूलाबडाकहाँ गएर टीका लगाउनू र आशीर्वाद लिनू।

त्यस्तै हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा कृष्णमन्दिरहरूमा मेला लाग्छ, बालबालिकालाई मेला देखाउनू। त्यस दिन श्रीकृष्णप्रति भक्तजनले झुकेर श्रद्धा प्रकट गरेको देखाउनू। बालबालिकालाई जन्मदिनमा एक वर्षभित्र नयाँ काम गर्ने संकल्प गर्न लगाउनू। त्यसबाट उनीहरूलाई सद्भाव, प्रेम र नयाँ मार्गदर्शन मिल्छ। मनोबल बढ्नेछ र उत्प्रेरणा थपिनेछ।

यसैगरी जन्म दिनका दिन भोका व्यक्तिलाई बोलाएर पूर्ण सन्तुष्ट हुने गरी खुवाउनू, नांगालाई लुगा दिनू, कुकुरलाई खान दिनू, गाईलाई पुरी पकाएर खुवाउनू। बालआ श्रम र अनाथालयहरूमा गएर बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाटै परिकार पकाएर लगेर खुवाउनू, नुहाइदिनू, लुगा धोइदिनू, तिनीहरू बस्ने कोठा सफा गरिदिनू, लुगा, पैसा दिनू, अस्पतालहरूमा गएर भर्ना भएर उपचार गर्न समस्यामा परेकाहरूलाई औषधी किनिदिनू, उपचार खर्च दिनू।

यसरी जन्म दिन मनाउँदा बालबालिकाले आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने, अरूलाई सेवा गर्नुपर्ने रहेछ भन्ने बुझ्छन्। यसले उनीहरू गलत बाटोमा लाग्नबाट जोगिन्छन् भने नैतिक संस्कार सिक्छन्। यति गर्न सक्यौं भने मात्र पनि हिल्टनले भनेजस्तो जन्म दिन मनाउनुको सार्थकता रहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.