कसैका आँखा ओभाना रहेनन्

कसैका आँखा ओभाना रहेनन्

‍दैलेख : मंगलबार मध्यान्हपछि दैलेखको श्रीस्थानघाट धुवाँले भरिएको थियो। त्यस क्षेत्रमा रुवाबासी मात्रै सुन्न सकिन्थ्यो। ललितपुरको बालकुमारीमा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका युवक सुजन राउतको अन्तिम दाहसंस्कारको दृश्यले कसैका आँखा ओभाना थिएनन्। गत शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा दैलेखको महाबु गाउँपालिका–६ का सुजनको मृत्यु भएको थियो। आन्दोलनका क्रममा प्रहरीको घातक बल प्रयोगबाट छातीमा गम्भीर चोट लागेपछि उनी सडकमै बेहोस भएर लडेका थिए। 

साथीहरूले एम्बुलेन्स बोलाएर किस्ट अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त घटनामा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि निधन भएको थियो। कोरिया गएर आफ्नो परिवारको आर्थिक हैसियत बलियो बनाउने सपना बोकेर उनी झन्डै एक महिनाअघि मात्रै काठमाडौं पुगेका थिए। 

उनको शव मंगलबार काठमाडौंबाट गृह जिल्ला दैलेख ल्याएर अन्त्येष्टि गरिएको छ। सुजनका बुबा भक्तबहादुर राउतको एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते निधन भएको थियो। उनको ब्रेन ट्युमरबाट निधन भएको हो। बुबा बितेपछि आमा नन्दा र भाइबहिनीको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो। सुजनको घरमा अब आमा, एक बहिनी र एक भाइ छन्।

सुगर र प्रेसरको बिरामी सुजनकी आमा नन्दा राउत कटुवाललाई छोराको मृत्युको खबर आइतबार मात्रै भनिएको थियो। शुक्रबार नै निधन भएका सुजनको आईसीयूमा राखेर उपचार भइरहेको आमा नन्दालाई भनिएको थियो। सुजनको मृत्यु भएको तीन दिनपछि आइतबार बिहान भान्जाको निधन भइसकेको खबर दिदीलाई दिएको मामा यामराज कटुवालले बताए। छोराको मृत्युको खबर सुनेर आमा नन्दा, भाइबहिनी बेहोसीमै थिए। आफन्त र छरछिमेकी बिक्षिप्त थिए। हजारौं सपना बोकेर घरबाट काठमाडौं पुगेका सुजन बन्द बाकसमा हेलिकप्टरमार्फत घरमा पुगे। 

सुजनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत दैलेख पुर्‍याइएको हो। सेनाको हेलिकप्टर जब दैलेखको आकाशमा देखियो, तब सुजनको शवको पर्खाइमा बसेका आफन्त र छरछिमेकीहरू भक्कानिन थाले। बिरामी रहेकी सुजनकी आमाले छोराको शव बाकसमा देख्नेबित्तिकै आफूलाई सम्हाल्न सकिनन्। आफ्नो मुटुको टुक्रालाई आफूबाट अलग गराइएपछिको बिक्षिप्त बनेकी नन्दाले आफ्नो जीउने आधार नै सकिएको भन्दै छाती पिटीपिटी रुँदाको क्षण व्यक्त गर्न लायक थिएन। उनले बारम्बार सुजनलाई बोल्न आग्रह गरिरहिन्। 

बुवा बितेपछि आमा, बहिनी र भाइको पालन पोषण गर्ने जिम्मेवारी काँधमा बोकेका सुजनको मृत्युले छरछिमेकी, आफन्तहरूमा सन्नाटा छाएको छ। सुजनको शव घरमा ल्याइपुर्‍याएपछि श्रद्धाञ्जलि दिन उपस्थित भएकाहरू सबैका आँखा रसाए। भावविह्वल बने। जिल्ला सदरमुकामदेखि श्रीस्थान घाटसम्मको शवयात्रामा सहभागी हजारौंका आँखा ओभाना थिएनन्। एक आशालाग्दा युवा गुमाउँदा दैलेख जिल्ला नै शोकमा डुबेको छ। गत शुक्रबारदेखि अस्पतालको शवगृहमा रहेको सुजनको शव मंगलबार दैलेख ल्याइएको हो। सोमबार सरकार र मृतक परिवारबीच चारबुँदे सहमतिपछि पीडित पक्ष शव बुझ्न तयार भएका थिए।

‘कहिल्यै नफर्किने गरी छोरालाई मारिदिए’

‘मम्मी, घरपरिवारका लागि म छु, म केही गर्छु त भनेर घरबाट गएको छोरालाई कहिल्यै नफर्किने बनाइदिए, मारिदिए, हाम्रो त साहारा दिने मान्छे पनि राखिदिएनन्’, घरको साहारा छोरा गुमाउनु पर्दाको पीडामा सुजनकी आमा नन्दा बर्बराउँछिन्।

न भोक, न प्यास न त निद्रा नै।  कोरिया जाने सपना बोकेर काठमाडौं गएको छोरा सुजन ललितपुरको बालकुमारीमै अस्ताएपछि नन्दा बिक्षिप्त छिन्। आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन्। आफन्त र छरछिमेकीको सान्त्वनाले उनको मनले के मान्थ्यो र ! उनी अहिले चारैतिर उही छोरा सुजनलाई मात्र देख्छिन्। 

‘पढ्न गएको छोरा, फर्म भरेर परीक्षा दिन नपाउँदै मारिदिए, कहिल्यै नफर्किने बनाइदिए, अहिले त्यही छोरो मात्रै देखिन लाग्यो, अरू छोराछोरी साना छन्, हुर्किएको छोरा मारिदिए, हाम्रो जिन्दगी बर्बाद बनाइदिए,’ नन्दा भन्छिन्। नन्दाले लगातार विपत्ति भोग्दै आएकी छन्। नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर राउतलाई गुमाइन्। उनको ब्रेन ट्युमरबाट निधन भएको थियो। पति वियोगमा रहेकी नन्दाले एक महिनापछि आमा गुमाएकी थिइन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.