कृषिमा भविष्य खोज्दै युवा : गाउँमै लगानी गरेर मनग्य आम्दानी

कृषिमा भविष्य खोज्दै युवा : गाउँमै लगानी गरेर मनग्य आम्दानी

दैलेख : परिवारको उज्वल भविष्यको सपना बोकेर डुङ्गेश्वर गाउँपालिका–६ का युवा देवेन्द्र गोदारले लामो समय भारतमा रोजगारी गरेरै बिताए। उनले त्यहाँ होटल क्षेत्रमा काम गर्थे। रोजगारीको खोजीमा भारत पुगेका गोदारले झण्डै १४ वर्ष भारतमै काम गरे। घर खर्च चलाउनकै लागि भारतमा रोजगारी गरिरहन उनको मनले मानेन। त्यहाँबाट फर्किएर उनले तरकारी खेती गर्ने योजना बनाए। ‘भारतमा काम गरेर परिवारको खर्च चलेकै थियो, तर त्यहाँको कमाईले सधैंलाई पुग्दैन भन्ने लाग्यो, फर्किएर तरकारी खेती सुरु गर्ने सोँच बनाएँ,’ उनी भन्छन्।

गोदारले तरकारी खेती सुरु गरेको झण्डै ८ वर्ष भयो। हाल उनले १५ रोपनी जग्गामा तरकारी खेती र १० रोपनी जग्गामा घाँस खेती गरिरहेका छन्। गोदारले मौसम अनुसारको तरकारी फलाउँछन्। मुख्यगरी टमाटर खेती गरिरहेका गोदारले वर्षे सिजनमा टमाटर, काउली, बन्दा र हिउँदे सिजनमा काक्रा, फर्सी, करेला लगाएतका तरकारी उत्पादन गर्छन्।

उनी अहिले कृषि पेशामा गाउँमै राम्रो भविष्य देखिरहेका छन्। ‘बाहिरी मुलुकको मजदूरीले सधैंलाई पुग्दैन्, उमेर छउन्जेललाई मात्रै हो, बुढेसकालसम्मका लागि भने होइन, त्यहाँको कमाईले केहि समयका लागि त पुग्ला तर त्यसले भविष्य बन्दैन्,’ गोदार भन्छन्। आफ्नै गाउँमा केहि न केहि पेशा सुरु गर्नुपर्छ भन्ने सोचले कृषि पेशा रोजेको उनी    बताउँछन्। हाल उनले दैनिक ज्यालादारीमा स्थानीय युवाहरूलाई समेत रोजगारी दिइरहेका छन्। 

उनलाई गाउँकै कृषि पेशा र आम्दानीले सन्तुष्टि दिएको बताउँछन्। उनले सुरुमा २६ लाख र पुनः ४२ लाख रुपैयाँ तरकारी खेतीका लागि लगानी गरेका थिए। मेहनत र परिश्रम अनुसार आम्दानी पनि राम्रो भइरहेको गोदारको भनाइ छ। कर्णाली प्रदेशमा मूल्यको ग्यारेन्टी नहुँदा तरकारीको मूल्य घटबढ भइरहन्छ। सरकारले किसानलाई अनुदान भन्दा पनि बजारको ग्यारेन्टी गरिदिनुपर्ने उनी बताउँछन्।

परिश्रम गरे गाउँमै कमाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, दुल्लु नगरपालिका–८ का युवा रामबहादुर   सिंहले। सोनु कृषि फर्मका सञ्चालक रहेका सिंह दैलेखकै अगुवा कृषकका रुपमा गनिन्छन्। २०६६ ताका सुन्तला जातका फलफूलका बिरुवा उत्पादन गर्ने नर्सरी सुरु गरेका सिंहले वर्षेनी ४० देखि ५० हजार बिरुवा उत्पादन र बिक्री गर्ने गरेका छन्। कृषि पेशामा लागेका युवाहरूलाई स्थानीय सरकारले बेवास्ता गर्ने गरेको उनको दुःखेसो छ। सिंह भन्छन् ‘सरकारले उत्पादित कृषिजन्य सामग्री र बीउबिजनको बिक्री वितरणका लागि उचित बजारीकरणको व्यवस्था गरिदिए कृषि पेशामा लागेका युवालाई धेरै राहत मिल्ने थियो।’ 

यहि नगरपालिकाको भण्डारी गाउँका स्थानीय युवा कलम भण्डारीले पनि कृषि पेशा अंलागेका छन्। गाउँमै लगानी गरिरहेका उनको नाम मौषमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने युवा कृषकका रुपमा अग्रपंतीमा आउँछ। यो गाउँमा भण्डारीमात्र होइन यहाँका २० बढी युवाहरू व्यावसायिक तरकारी खेतीमा आबद्ध छन्। यहाँका किसानको घरपिच्छे तरकारी खेती छ। अर्गानिक उत्पादनमा जोड दिइरहेका भण्डारी लगाएतका किसानको गाउँलाई जलवायूमैत्री कृषि नमूना गाउँको रुपमा परिचित छ। मेहनत र परिश्रम गरे गाउँमै राम्रो उत्पादनसँगै आम्दानी हुने भण्डारी बताउँछन्। ‘धेरै पैसा कमाउने सपना बोकेर विदेश जाने युवाले गर्न सके आफ्नै भीरपाखामा सुन फलाउन सक्छन्,’ भण्डारी भन्छन्। व्यावसायिक रुपमा कृषि पेशामा लागेका युवाहरूलाई सरकारले उचित सम्बोधन गर्न सके युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ। 

दैलेखकै अर्को उदाहरणीय युवा कृषक हुन्, डुङ्गेश्वर गाउँपालिका–२ उम गाउँका सुनिलराज बिसी। त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा साहित्यमा स्नातकोत्तर गरेका बिसी नर्सरी सञ्चालन गरी सफलमात्रै होइन, उदाहरणीय समेत युवा कृषक बनेका छन्। उनले गाउँमै फलफूल प्रजातीका नर्सरी सञ्चालन गरि मनग्य आम्दानी गरिरहेका छन्। २०७३ मा स्नातकोत्तर सकेर गाउँ फर्किएका सुनिलले आफ्नै बारीमा मेहनतको बीउ रोप्न सुरु गरेका थिए। अनी बने सफल कृषक। व्यवसाय सुरु गर्दा सुनिलले अलैची नर्सरीबाट सुरु गरेका थिए। अलैँचीको बेर्नाबाट वार्षिक सात लाखसम्म आम्दानी गरेका उनले हाल पाँच रोपनी जग्गामा नर्सरी सञ्चालन गरेका छन्। गाउँमै केहि गर्नुपर्छ भन्ने सुनिलको हुटहुटीले आफूमात्र होइन गाउँटोलका अन्य युवायुवतीहरूलाई समेत व्यावसायिक तरकारी खेती गर्न प्रेरणा थपेका छन्। ‘पढे लेखेका मान्छे भएर के दुःख पाउने काममा लागेको होला’ भन्दै गाउँलेहरूले नभनेका पनि होइनन् तर पढे लेखेकाले नै केही गर्नैपर्छ भन्नेमा म विश्वास गर्छु,’ बिसीले भने।

यी केही प्रतिनिधिमुलक युवाहरू हुन्। उनीहरूजस्तै दैलेखका युवाहरूले स्थानीय स्तरमै कृषि पेशामा भविष्य खोजिरहेका छन्। अहिले देशमा रोजगारीको अवसर नभएको भन्दै दिनहुँ हजारौँ–हजार युवाहरू विदेश पलायन भइरहेका छन्। खेतीपाती गर्न अफ्ठेरो मान्दै पढेलेखेका कयौँ युवाहरू जागिरको खोजीमा देशभित्रकै शहरहरूमा भौतारिरहेका छन्। यस्तो अवस्थामा यहाँका केहि युवाहहरू भने आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने प्रयासमा छन। ती युवाहरूले गाउँघरमै कृषि पेशामा सुन्दर भविष्य देखिरहेका छन। 

आफ्नै लगानीमा केही गर्नेभन्दा पनि अर्कैको काम गरेर आयआर्जन गर्ने सोँच विपरीत यहाँका युवाहरू आफ्नै पसिनामा आफ्नो र परिवारको भविष्य खोज्दै स्वरोजगार बन्ने अभियानमा छन्। गाउँमै लगानी गरिरहेका युवाहरूले मनग्य आम्दानी गरिरहेको बताउँछन्। कृषि पेशामा लागेका युवा उद्यमीलाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको कृषि पेशामा आबद्ध युवाहरूको भनाइ छ। 

गुराँस गाउँपालिका–२ की जमुना रावल भन्छिन् ‘युवा पुस्तामा कृषिप्रतिको मोह बढ्नु सकारात्मक पक्ष हो, कृषि पेशामा लागेका हामी जस्ता युवा पिँढीलाई सरकारले प्रोत्सहन गर्नुपर्छ।’ स्थानीय सरकारले युवा उमेरका कृषक लक्षित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सके कृषि पेशामा युवापिँढीको आकर्षण अझ बढ्ने उनको बुझाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.