तल्लो हेवामा अध्यक्ष परिवारको मनोमानी

तल्लो हेवामा अध्यक्ष परिवारको मनोमानी

१ अर्ब १० करोडको सम्पत्ति स्रोत खोज्न अख्तियारद्वारा सम्पत्ति शुद्धीकरणलाई पत्राचार

काठमाडौं : गतिलो नियमन नहुँदा पब्लिक लिमिटेड कम्पनीमा समेत नेतृत्वकर्ता सञ्चालकको हालीमुहाली सम्भव हुँदो रहेछ। उदाहरण हो– तल्लो हेवा खोला जलविद्युत् आयोजना।

आयोजनाका कार्यकारी अध्यक्ष सीताराम तिमल्सिनाले सञ्चालकहरूमा आफ्नै परिवारका सदस्यलाई राखेको, आयोजनाका नाममा किनेका सस्तो जग्गाहरूको १०औं गुणा मूल्य बढाएको, अन्य सेयरधनीहरूलाई नाफा वितरण नगरेको, एकलौटी गरी कर छली गरेको अख्तियारले पाएको छ। 

साथै, अध्यक्ष तिमल्सिना परिवारको ७३.३ प्रतिशत सेयरबापतको १ अर्ब १० करोड रुपैयाँको अख्तियारले स्रोत खोजेको छ। त्यसका लागि आवश्यक कारबाही अघि बढाउन अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।

पाँचथर फिदिममा सञ्चालित २२.१ मेगावाटको आयोजना निर्माणका क्रममा ठूलो अनियमितता भएको अख्तियार स्रोतबाट प्राप्त पत्रले देखाएको छ। 

आयोगको २०८० फागुन २९ गतेको निर्णयले विभागलाई कारबाही अघि बढाउन यही चैत ५ गते पत्रमार्फत निर्देशन दिएको हो। आयोगले सोहीबमोजिमको बेहोरा उल्लेख गर्दै राजस्व अनुसन्धान विभागलाई पनि पत्र पठाएको छ। २०६२ सालमा प्राइभेट कम्पनीमा दर्ता भएको माउन्टेन हाइड्रो नेपाल २०७३ सालमा लिमिटेडमा दर्ता भएको थियो। 

अख्तियारको पत्रमा भनिएको छ, ‘आयोजनाका सञ्चालक सीताराम तिमल्सिनाले आफ्नै घरपरिवारका सदस्य छोरा सतिश तिमल्सिना समेतको नाममा आयोजना निर्माण हुने स्थानहरूमा रहेको जग्गाहरू सुरुमा सस्तोमा खरिद गरेको देखिएको छ। सोही जग्गाहरूलाई दसांै गुणा मूल्य बढाइ आयोजनाको नाममा रजिष्ट्रेसन गरेका छन्।’ 

आयोजनाका सञ्चालकहरूमा सीतारामसँगै छोरा/छोरी प्रल्हाद तिमल्सिना, सतिस तिमल्सिना, रीता तिमल्सिना छन्। कम्पनीको जम्मा मूल्यांकन ३ अर्ब ६६ करोड ७५ लाख रुपैयाँमा ७०:३० को कर्जा तथा स्वपुँजी अनुपात कायम गरिएको छ। परियोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा अन्य ११ बैंकको सहवित्तीयकरणमा ७० प्रतिशतको हिसाबले हुन आउने २ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। परियोजना निर्माणको क्रममा लागत बढ्न गई ४ अर्ब ८१ करोड ८९ लाख पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ। 

त्यसमा कर्जा स्वपुँजी अनुपात ७०:३० कायम रहने गरी साविकको कर्जा २ अर्ब ५६ करोड वृद्धि भई ३ अर्ब ३१ करोड हुन पुग्यो। बाँकी ३० प्रतिशतले हुन आउन १ अर्ब ५० करोड ८९ लाख स्वपुँजी लगानी गर्नुपर्ने देखियो। उक्त लगानीको स्रोतमध्ये २६.७५ प्रतिशत अन्य सेयर लगानीकर्ताको र बाँकी ७३.३ प्रतिशत तिमल्सिना परिवारको रहेको अख्तियारको पत्रमा भनिएको छ। 

त्यसमध्ये सीताराम तिमल्सिनाको ४७.८० प्रतिशत, निजको छोराहरू तिमल्सिना र प्रह्लाहद तिमल्सिनाको ८.८५ र श्रीमती रीता तिमल्सिनाको ९.५० प्रतिशत रहेको छ। अध्यक्ष तिमल्सिना परिवारतको ७३.३ प्रतिशतले हुन आउने १ अर्ब १० करोड रुपैयाँको अख्तियारले स्रोत नभेटाएको हो।

‘निज सीताराम तिमल्सिनाको परिवारको परियोजनामा लगानीको ७३.३ प्रतिशतले हुने १ अर्थ १० करोड रुपैयाँकोे स्रोत एकिन नभएकाले उल्लेखित सम्पत्ति के कसरी के कुन स्रोतबाट आर्जन भयो र सो सम्पत्तिको स्रोत के हो ?’ अख्तियारको पत्रमा भनिएको छ । यस सम्बन्धमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ आकर्षित हुने भन्दै अख्तियारले सो ऐनअनुसार कानुनबमोजिम जे, जो गर्नुपर्ने हो कारबाही गर्न र सोको जानकारी यस आयोगलाई दिने भनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हो । अख्तियारले सोसम्बन्धी आवश्यक कारबाही अघि बढाउन विभागलाई निर्देशन पनि दिएको छ। 

आयोगले तालुकको मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी गराएको छ । साथै विद्युत् विकास विभागलाई पनि कम्पनीलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। 

विद्युत् विकास विभागले विद्युत् ऐन, २०४९ नियमावली, २०५० तथा अनुमतिसम्बन्धी निर्देशिका बमोजिम विद्युत् उत्पादन तथा प्रसारणको अनुमति दिइसकेपछि त्यस्ता आयोजनाको अनुगमन निरीक्षण तथा नियमन गर्नुपर्ने हुन्छ । तर, उक्त विभागले सोअनुसार अनुगमन नगरेको र सेयर सदस्यहरू ठगिनबाट रोक्न प्रभावकारी अनुगमन नियमन गर्न र कानुनविपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्न ऊर्जा मन्त्रालयमार्फत विभागलाई सुझाव लेखी पठाउने भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.