डाक्टर उपेन्द्र देवकोटाको निधन
काठमाडौँः वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार अपरान्ह निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको उनका सहयोगी तारा अधिकारीले जानकारी दिएका छन् ।
पित्तथैलीको क्यान्सरका कारण करीब एक वर्षदेखि पीडित डा देवकोटाको निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए । छ महिनाअघि नेपालमै रहँदा बिरामी भएपछि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भएका थिए । त्यहाँ पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित फर्किएका थिए । बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो ।
पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराह्न १ बजेसम्म श्रद्धाञ्जलिका अस्पताल परिसरमा राखिनेछ । त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।
वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको थियो। पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई मेडिकलको भाषामा 'कोलान्जिओकार्सिनोमा' भन्ने गरिन्छ।
उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको बेलायतको किङ्ग्स कलेज अस्पतालका चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।
नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए। नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।
कलेजोभन्दा तल र सानो आन्द्रासँग जोडिएर पित्तथैली रहेको हुन्छ। पित्त थैलीको काम भनेको कलेजोले उत्पादन गर्ने पित्तलाई पित्तनलीको बाटोबाट जम्मा गर्नु हो । पित्तकै कारण मानिसले खाने खाना र खानामा हुने चिल्लो पदार्थ सजिलै पचाउन सम्भव हुन्छ । पित्तथैलीको क्यान्सर भएमा शल्यक्रियाबाटै उपचार गरिने गरिन्छ । शल्यक्रिया सम्भव नभएमा केमोथेरापी पनि गरिन्छ ।