असार १५ मै विनियोजन विधेयक पारित

असार १५ मै विनियोजन विधेयक पारित

काठमाडौं : प्रतिनिधिसभाले विनियोजन विधेयक शुक्रबार बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संसद्मा प्रस्तुत गरेका थिए।

आर्थिक वर्ष नसकिँदै मध्य असारमै विनियोजन विधेयक पारित भएका कारण सरकारलाई आर्थिक वर्षको सुरुवातबाटै बजेट कार्यान्वयनमा सहज हुनेछ। बजेट आ िश्रत आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक भने पारित हुन बाँकी छन्। यी तीन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पारित भइसकेकाले सोमबारभित्र प्रतिनिधिसभाबाट पारित गरिने संसद् सचिवालयले जनाएको छ।

विगतमा समयमा बजेट नआउने भएका कारण संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक सीमा तोकिएको थियो। जेठ १५ मा बजेट प्रस्तुत भए असार भित्र पारित गर्ने र आर्थिक वर्षको सुरुवात साउन १ देखि नै बजेट कार्यान्वयन गर्ने उद्देश्यले संविधानमै बजेट पेस गर्ने दिन तोकिएको हो।

मन्त्रीहरूले आआफ्नो मन्त्रालयअन्र्तगत उठेका प्रश्नको जवाफ दिने क्रम बिहीबार समाप्त भएको थियो भने प्रधानमन्त्री केपी ओलीले शुक्रबार जवाफ दिएका थिए। जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्री डा.खतिवडाले विनियोजन विधेयक पारितका लागि प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए। सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गरेको उक्त प्रस्तावको विपक्षमा कांग्रेस र केही साना दलले मतदान गरेका थिए। सत्तापक्षसँग दुई तिहाई मत रहेका कारण सभामुख महराले बहुमतबाट विनियोजन विधेयक पारित भएको घोषणा गरेका थिए।

अर्थमन्त्री डा.खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफलमा विपक्षी भन्दा पनि सत्तापक्षीय सांसदले नै चर्को विरोध जनाएका थिए। मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेर बजेट छुटयाएको भन्दै सत्तापक्षका अधिकांश सांसदले बजेटको चर्को विरोध गरेका थिए। सत्तापक्षीय सांसदकै प्रस्तावमा बिहीबार पुराना आयोजना निर्माण गर्नुपर्ने भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि नै छलफल गरिएको थियो।

रेल सवाल जवाफ

विनियोजन विधेयकमाथि जवाफ दिन उभिएका प्रधानमन्त्री केपी ओलीलाई कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले रेलबारे व्यंग्यात्मक प्रश्न गरेका थिए। प्रधानमन्त्री ओलीलाई प्रश्न गर्ने अन्तिम वक्ता डा.रिजाल थिए। तर ओलीले डा.रिजालकै प्रश्नको सुरुमै व्यंग्यात्मक जवाफ फर्काउँदा बैठकमा हाँसो गुञ्जिएको थियो।

कांग्रेसका डा.रिजालले प्रधानमन्त्री ओलीलाई सोभियत युनियनका नेता र रेलबारेको कथा सुनाएका थिए। ‘लेनिनले एकपटक पार्टी पोलिटब्युरो सदस्यलाई पिकनिक लैजाने योजना बनाए। पिकनिक स्थल तोकियो तर त्यहाँसम्म रेल जान नसक्ने रहेछ। रेल्वेको ट्रयाकभन्दा अगाडि पिकनिक लैजाने तय भए पनि पिकनिक रोकियो। स्टालिनका बेला किन ट्रयाक चाहियो। बिनाट्रयाक पनि चलाइ दिए हुन्छ भन्ने आयो। कुर्सेभको पालामा न्युट्रल गियरमा राखे पुग्छ किन रेल चलाइराख्नु प‍¥यो भनियो। ब्रोजनेभको पालामा किन अगाडि जानुप‍¥यो पछाडि फर्किए हुन्छ भनिएछ’, रिजालले भने, ‘हाम्रो कम्यनिस्ट पार्टीको सरकारमा आफ्नो रेल नबने अर्काको देशको रेल चलाउने त होला नि ? ’ रिजालले प्रश्न गरेका थिए।

रिजालको प्रश्न लगत्तै रोष्ट्रमबाट जवाफ दिन पुगेका प्रधानमन्त्री ओलीले भने,‘विद्धान भनेको विद्धान नै हुन्छ। तिथिमिति पनि याद छ। कहाँ रेल ट्रयाक, कहाँ लिक बिना, ड्राईभर को थियो, सबै याद छ।’ ओलीले अगाडी भने, ‘विद्वतालाई सलाम छ। ५ वर्षमा आफ्नै रेल आउँछ, कुँद्छ।’

केही मान्छेहरू राम्रो कुरासँग झस्किने गरेको भन्दै ओलीले भने, ‘ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा को उड्छ ? गरिब देशमा किन चाहियो ? भन्नेहरू थिए। तर आज त्यही विमानस्थल साँघुरो भएको छ। अन्यत्र पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन्।’

ओलीले तत्कालीन राजा महेन्द्रले पनि कोदारी राजमार्ग बनाउने निर्णय गर्दा अहिले आफूलाई अहिले जस्तै प्रश्न गर्ने गरिएको स्मरण सुनाए। ‘कोदारी बनाउँदा उधुम थियो। मोटर चढेर कम्युनिस्ट आउँदैन भनेर महेन्द्रले जवाफ दिनुपरेको थियो’, ओलीले भने।

एकथरि मान्छेले महत्व नबुझेर विरोध गरेपनि एकथरिले बुझेर पनि विरोध गर्ने गरेको ओलीले बताए। ‘केही मान्छे अनौठो मान्छन्। केही मान्छे राम्रो कुरासँग पनि झस्कन्छन्। मैले रेलसँग झस्कनेको बुझिन’, ओलीले भने। मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरको पनि ट्वीन टावर र गान्टिङ आइल्याण्ड बनाउँदै निकै आलोचना भएको थियो ओलीले उदाहरण दिँदै भने।

प्रधानमन्त्री ओलीले चन्द्रशमशरेले त्रिचन्द्र कलेज बनाएपछि आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्दैछु भनेको उदाहरण पनि पेश गरे। ‘अहिले त बुझेरै हो विरोध गरेको। विद्वानले गान्टिङ आइल्याण्ड नबुझे जस्तो कि, त्रिचन्द्र कलेज जस्तो हो ? ओलीले जवाफ फर्काउँदा प्रश्नकर्ता कांग्रेस नेता रिजाल हाँस्दै बसेका थिए। अन्य सांसदहरूको जवाफ दिइसकेपछि पनि प्रधानमन्त्रीले अन्तिममा रिजाललाई व्यंग्य कसे। ‘जसले जे भने पनि लिकमै रेल चलाउँछौं। डाक्टर नडाक्टरसँगै चढांैला।’

प्रधानमन्त्री ओलीले पुरातत्व विभाग खारेज गर्नुपर्ने भनी नेमकिपाका सांसद प्रेम सुवालले प्रश्नको जवाफ पनि व्यंग्यात्मक शैलीमा फर्काए। ‘पुरातत्व विभाग खारेज जस्ता कुरा आवेगमा नबोलौं,’ ओलीले भने, ‘गाउँपालिका अध्यक्ष पुरातात्तिवक विज्ञ हुन्छ र ? ’ कर्मचारी खटाउन सरकार असफल भन्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफमा ओलीले भने, ‘ अहिलेको सरकार कुनै पनि क्षेत्रमा असफल हुन जान्दैन र मान्दैन।’

‘हस्पिटलभित्र नारावाजी गर्न पाइन्न’

प्रधानमन्त्री ओलीले विरोध गर्ने अधिकारको प्रयोग पनि कानुन र विधिसम्मत हुनुपर्ने बताए। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले राजधानीका विभिन्न भागमा विरोध नगर्न सरकारले निषेधित क्षेत्र तोकेको बारे प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए। ‘भारतमा जानुभयो भने राष्ट्रपति– प्रधानमन्त्री कार्यालय अघि चौर भेटियो भन्दैमा विरोध गर्न पाइन्छ ? ’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘हस्पिटलभित्र नाराबाजी भए बिरामीले उपचार पाउँदैनन्। पढाउने ठाउँमा हडताल, विद्यार्थी पढ्न नपाउने ? जे भएपनि यो सरकार लाचार छाया बनेर बस्दैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.