न्यायमा साथ पाइनन्, गाउँ पनि छाड्नुपर्यो
काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–५ स्थित ग्रामीण बस्ती गोदामचौरमा २०७४ मंसिरमा भएको सामूहिक बलात्कारको घटनाका दुई अभियुक्त १० महिनापछि पक्राउ परेका छन्। २१ वर्षीया युवतीमाथि बलात्कार, ज्यान मार्ने उद्योग र चोरीको मुद्दामा पाटन उच्च अदालतबाट पुर्पक्षका थुनामा राख्ने फैसला भएको सातापछि फरार अभियुक्तद्वय विशालध्वज कार्की र पवन कुवँरलाई प्रहरीले बुधबार गोदावरीबाटै समातेको हो।
दुवै जनालाई आआफ्नै घरबाटै पक्राउ गरिएको महानगरीय अपराध महाशाखाबाट एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। यो प्रकरणमा संलग्न ३२ वर्षीय रघु सिलवाल फरार छन्। उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा चलाइएको थियो। तर गोदामचौरकी ती २१ वर्षीया विवाहित युवतीको बलात्कारमा संलग्न तीनै जनालाई जिल्ला अदालतले पीडितले बयान फेरेको जनाउँदै साधारण तारखेमा थुनामुक्त गर्न आदेश दिएको थियो। तर जिल्ला अदालतको आदेश बेरीतको ठहर गर्दै पाटन उच्च अदालतले प्राप्त प्रमाणका आधारमा अभियुक्त तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। अदालतले थुनामा राख्ने आदेश दिएपछि उनीहरू फरार छन्।
त्यसपछि महानगरीय प्रहरी वृत्त सातादोबाटोले महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखासँगको समन्वयमा उनीहरूको खोजी थालेको थियो। ‘हामीले फरार रघुसहित तीनै जनालाई निरन्तर पछ्याइरहेका थियौँ, उपत्यकाबाहिर जाँदै–आउँदै लुकिरहेका उनीहरूलाई बुधबार घरैबाट समात्यौं’, अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘लामो समय ‘लोकेसन ट्रेस’सहितका विधि प्रयोग गरेर दुई अभियुक्तलाई पक्रन सफल भएका छौँ।’
पीडित नै विस्थापित
आर्थिक रूपमा सम्पन्न पीडक युवालाई जिल्ला अदालत ललितपुरको एक नम्बर बेन्चका न्यायाधीश बालमुकुन्द दवाडीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएसँगै पीडित विस्थापित भएका थिए। बलात्कृत युवतीका लागि उनको परिवारले न्याय खोज्दा पीडक पक्षले पटकपटक घर नै जलाइदिने धम्की दिएको खुलेको छ। ‘घटना अघि बढाए घरसमेत जलाइदिने धम्की दिएका थिए’, पीडित युवतीकी आमाले भनिन्, ‘ज्वाइँ डरले घर जानै मान्नुहुन्न, छोरी अझै निको भइसकेकी छैन।’
बलात्कारका क्रममा ती युवाले उनको टाउको ढुंगाले हानेर फुटाइदिए। हातका धेरै ठाउँ किच्याएर भाँचिदिए। पूरै शरीर थिलथिलो बनाइदिएर मरेको ठानी फालिदिए। परिवारले भोलिपल्ट भेट्टाएपछि आईसीयूमा राखेर उपचार गरेको एक सातामा मात्रै उनको होस खुल्यो।
पीडक पक्षले जिल्ला अदालतलाई समेत आफ्नो प्रभावमा पारेको युवतीको परिवारले गुनासो गरेको गरेका छ। तीन जना पीडकमध्ये दुईको आर्थिक अवस्था मजबुत भएकाले न्यायिक निकायलाई समेत प्रभावमा पारेर आदेश दिन लगाएको पीडित युवतीकी आमाले बताइन्। ‘छोरीका छिमेकी मौन बसिदिएकाले पीडक र उनका परिवारले पटकपटक धम्की दिएका छन्’, उनले भनिन्।
गाउँमा गुन्डागर्दी गरेर आतंक मच्चाउँदै आएका विशालध्वज कार्की गोदामचौरमा कुटपिट, जबर्जस्ती असुली, कुटपिट र धम्की घटनामा संलग्न थिए। बुधबार पक्राउ परेका तिनै विशालध्वजसहित तीन जनाले बलात्कारका क्रममा युवतीको टाउको फुटाइदिएपछि एकै ठाउँमा ३२ टाँका लगाइएको थियो। टाउकोकै अर्को घाउमा सात टाँका लगाइएको थियो। ढुंगाले हानेर भाँचिदिएको हात प्लास्टर गरेर उपचार गरिएको छ। बलात्कारका क्रममा उनको कानसमेत च्यातिदिएका थिए।
ललितपुरको गोदामचौरमा युवतीमाथि सामूहिक बलात्कारमा संलग्न दुई युवा । तस्बिर : नेपाल प्रहरी
अदालतले अभियुक्तलाई छाडिदिएपछि आफ्नो परिवारलाई पटकपटक धम्की दिइएको पीडित युवतीकी सासूले बताइन्। पीडक पक्षले बलात्कारी आरोप लगाएर थुनाएको भन्दै जे पनि गर्ने भन्दै डर देखाएको उनको भनाइ छ। ‘अदालतले पीडकलाई छाडेपछि हामी पनि लुक्दै हिँड्ने अवस्था आयो’, उनले भनिन्, ‘हामीलाई मार्ने धम्कीसहितका खबर पठाउन थालेपछि डराउँदै हिँड्नुपर्यो। अनि छोरालाई समेत गाउँबाट भगाउनुपर्यो।’
युवतीकी आमाले छिमेकी कसैलाई पनि पीडकपक्षले बोल्न नदिएको बताइन्। आफ्नो र छोरीको परिवार गरिब भएकै कारण गाउँका कसैले साथ नदिएको उनको गुनासो छ। ‘निर्मला पन्तको जस्तो गाउँ नै उल्टेको भए मेरी छोरीले बेलैमा न्याय पाउँथिन्, बलात्कृत भएर पनि अझै हिंसामा पर्नुपर्ने थिएन’, उनले भनिन्। जिल्ला अदालतको आदेशमा अभियुक्त छुटेपछिको पीडा वर्णन गरिसाध्य नभएको उनले बताइन्। ‘छोरीको इज्जत लुटेर ज्यान लिन खोज्नेलाई जिल्ला अदालतले साधरण तारखेमा छाडेपछि छोरी र श्रीमान् घर फर्किन सकेनन्’, उनले भनिन्, ‘छोरीले न्याय खोज्दाखोज्दै गाउँबाट विस्थापित हुनुपरेको छ।’
गाउँबाट विस्थापित भएका युवती र उनका श्रीमानलाई ललितपुरमै एउटा संस्थाले आश्रय दिइरहेको छ। युवतीमाथि बलात्कार भएको स्थानबाट उनको घरको दूरी केबल ५ मिनेट मात्रै छ। सामूहिक बलात्कारपछि फालिएकी युवतीको लामो समय त्रिवि शिक्षण अस्पतालमा उपचार गरिए पनि ठीक भइसकेकी छैनन्।
उनको शरीरका चोट निको हुँदै गए पनि मानसिक पीडाले उत्तिकै पिरोलिरहेको छ। निरन्तर उपचारपछि केही तंग्रिएकी उनको दाहिने हात राम्रो चलेको छैन भने टाउकोमा गहिरो चोट छ। ‘लामो प्रयासपछि दुई जनालाई पक्राउ गर्यौं’, अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘अर्का युवकलाई पनि चाँडै पक्राउ गर्ने कोसिस जारी छ।’
प्रतिवेदन नआउँदै थुनामुक्त
जिल्ला अदालत ललितपुरकै रेकर्डमा पक्राउ परेका अभियुक्तहरूको प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षणका पठाइएको वीर्यको प्रतिवेदन नआउँदै न्यायाधीश दवाडीले उनीहरूलाई छाड्न आदेश दिएका थिए। सामूहिक बलात्कृत भएकी युवतीको शरीरबाट निकालिएको शुक्रकीट, रौं र रगतसहितका विभिन्न प्रमाणको विधि विज्ञान प्रतिवेदन प्राप्त नै नभई अदालतको विवादास्पद आदेश आएपछि आलोचना भएको थियो।
तर जिल्ला अदालतको आदेशलाई त्रुटिपूर्ण ठहर गर्दै पाटन उच्च अदालतले अभियुक्तहरूलाई थुनामा राख्ने आदेश दिएको थियो। जिल्ला अदालतले गम्भीर प्रकृतिको घटनामा अभियुक्तहरूलाई साधारण तारेखमा छाडिदिएपछि प्रहरीले नै गरेको कार्यक्रममा तत्कालीन माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले आलोचना गरेकी थिइन्।
आफ्नो आदेशलाई लिएर न्यायाधीश दवाडीले आफूले साधारण तारखेमा छाडेर सफाइ नदिएको बताएका थिए। उनले तारखेमा छाडिएकाले ती युवा कानुनी दायरामै रहने स्पष्टीकरण पनि दिएका थिए।
न्याय खोज्दै आमा
छोरीमाथि सामूहिक बलात्कार भएपछि आमा महिलामाथि हुने सबै किसिमका हिंसाको विरोधमा अहिले सक्रिय छिन्। एउटा संस्थामा आ श्रय लिइरहेकी छोरीलाई छाडेर उनी अहिले पनि न्यायका लागि हुने विभिन्न कार्यक्रममा निस्किरहन्छिन्।
साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका लागि न्याय खोज्दै गरिएका सबै आन्दोलनमा उनी पुगिरहेकी छन्। ‘मेरो छोरी जस्तै अरूका छोरीले यस्तो हिंसा भोग्नु नपरोस्, जसले यो चोट भोगेको छ, उसलाई मात्रै थाहा हुन्छ पीडा’, उनले भनिन्, ‘मेरी छोरीका लागि न्याय माग्दा कसैले साथ दिएनन्, अब हिंसामा परेका अरूका छोरीका लागि म न्याय खोज्दै हिँड्छु।’
के थियो घटना ?
२०७४ मंसिर २ गते शनिबार साँझ आफू काम गर्ने ललितपुरकै एक डेरीबाट घर फर्किने क्रममा ती युवतीलाई गोदावरी खोलानजिकै तीन जना युवाले सामूहिक बलात्कारपछि निर्घात कुटपिट गरी मरेको ठानेर फालेका थिए। आफन्तले उनलाई मंसिर ३ गते बिहान गोदावरी खोलानजिकै तोरीबारीमा बेहोस अवस्थामा भेट्टाएका थिए।
अर्धनग्न अवस्थामा भेटिएकी उनी बेहोस थिइन् भने टाउको, हात, खुट्टामा र तिघ्रामा गहिरो चोट लागेको थियो। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचारको एक सातापछि मात्रै उनको होस खुलेको थियो। होस फिरेपछि प्रहरीसँगको बयान र किटानी जाहेरीका आधारमा तीनै जना युवक पक्राउ परेका थिए।
घटनापछि पीडित युवतीका परिवारले जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दर्ता गराएका थिए। पीडित परिवारको जाहेरीपछि गोदावरी नगरपालिका–१ गोदामचौरकै ३२ वर्षीय रघु, २० वर्षीय पवन र २० वर्षकै विशालध्वज कार्कीलाई ललितपुर प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो।
प्रहरीले सरकारी वकिलमार्फत तीनै जनाविरुद्ध जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीको आरोपसहित जिल्ला अदालत ललितपुरमा मुद्दा चलाएको थियो। तर अदालतले २०७४ पुस २६ गते तीनै जनाविरुद्धको किटानी जाहेरीमा ‘बलियो प्रमाण नभएको’ र पीडितले ‘बयान फेरेको’ भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।