दुर्गातिवारी–बलु हत्याकाण्ड : अभियुक्तमाथि थुनछेक बहस जारी
भैरहवा : रूपन्देहीका व्यवसायी दुर्गा तिवारी, वसन्त पौडेल (बलु) को हत्या र नारायण बस्नेतको हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको आरोपमा पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा सुरु भएको बहस शुक्रबार पनि चल्ने भएको छ। न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा बिहीबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले शुक्रबारका लागि तोकिएको जिल्ला अदालत प्रशासन शाखाका अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए।
प्रहरीले तत्कालीन एमालेको युवा संघ रूपन्देहीका जिल्ला अध्यक्ष सुजु मल्ल, माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, उत्तम आचार्य, विवेक गुरुङ, राम गुरुङ, तुलसीराम न्यौपाने, रोशन खड्का र हरिप्रसाद श्रेष्ठविरुद्ध २ वटा संगठित कर्तव्यज्यान र २ वटा संगठित रूपमा ज्यान मार्ने उद्योग गरी ४ वटा मुद्दा जिल्ला अदालतमा दायर गरिएको छ।
सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला र न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डेले थुनछेक बहस गरेका थिए। उनीहरूले इन्काउन्टरमा मारिएका मनोज पुनको साथबाट फेला परेको ‘मेमोरी कार्ड’मा रहेको अडियो रेकर्ड घटेको घटनासम्बन्धी प्रमाण रहेको कारण अभियुक्तलाई थुनामा राखी कारवाही अघि बढाउन आदेश माग गरेका थिए।
अभियुक्तले मनोज पुनलाई सूचना दिने, तिवारी, पौडेलको हत्याकाण्ड र बस्नेतमाथि भएको गोली प्रहार घटनामा संग्लन रहेको बताउँदै अभियुक्तले समाजमा आतंक सिर्जना गर्न भूमिका रहेकाले तारेखमा छोड्न नमिल्ने उल्लेख गरे। ८ जना प्रतिवादीमध्ये सुजु मल्ल, लेखनाथ न्यौपाने र उत्तम आचार्यको तर्फबाट आधा दजर्नबढी अधिवक्ताले बहस गर्दै दायर गरिएको अभियोगपत्रअनुसार अभियुक्त दोषी नदेखिएकाले उनीहरूलाई साधारण तारेखमा छाड्न माग गरेका थिए। प्रहरीले दायर गरेका मुद्दामा यथेष्ट तथ्यगत प्रमाण नभएकाले थुनामा राख्न आवश्यक नरहेको जिकिर उनीहरूले गरे।