रफिकाको फुटबल ‘क्रेज’

रफिकाको फुटबल ‘क्रेज’

नेपालीमा एउटा उखान छ, ‘हुने बिरुवाको चिल्लो पात’ । यही उखान लागू हुन्छ, १२ वर्षीया रफिका अवालेमा । सफल फुटबल खेलाडी बन्न चाहने रफिकाको ‘फुटबल कला’ गज्जबको छ । उनी बललाई ‘स्विङ’ गर्न र ‘बाइसिकल किक’ हान्न खप्पिस छिन् ।

ललितपुर भैंसेपाटीकी रफिका फुटबल भनेपछि हुरुक्क हुन्छिन् । सानैदेखि फुटबल ‘क्रेजी’ रफिकालाई सफल खेलाडी बनाउन परिवारले पनि सहयोग गरिरहेका छन् । उनको इच्छालाई पूरा गर्न परिवारले तन, मन, धनले सघाइरहेको छ ।

सानैदेखि फुटबलप्रति विशेष चाह राख्ने रफिका तीन वर्षअघि जुनियर फुटबल एकेडेमीमा पुगिन् । एकेडेमीमा पुगेपछि उनको फुटबलप्रतिको मोह अझ बढ्न पुग्यो । एकेडेमीमा उनले निखारिने मौका पाइन् । सुरुमा फुटबलका केही ‘टेक्निक’ सिक्न एकेडेमी पुगेकी रफिका अहिले सफल खेलाडी बन्ने ध्याउन्नमा छिन् ।

 सुरुमा फुटबलका केही ‘टेक्निक’ सिक्न एकेडेमी पुगेकी रफिका अहिले सफल खेलाडी बन्ने ध्याउन्नमा छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पहिलो ब्याचका खेलाडी प्रज्वलप्रताप क्षत्रीले सञ्चालन गर्दै आएका जुनियर फुटबल एकेडेमीमा रफिकाले आफ्नो कलालाई निखार्ने अवसर पाएकी थिइन् । उनले आफ्नै उमेरसमूहका छात्रसँगै फुटबल खेल्न थालिन् । तर, किक हान्न थालेको छोटो अवधिमै उनी आफ्ना छात्र साथीभन्दा अब्बल सावित भइन् । कोचले सिकाएको हरेक ‘स्टेप’लाई नियाल्ने र त्यसलाई तत्कालै अनुसरण गर्ने बानीले उनी अरूभन्दा विशेष बनिन् ।

जुनियर फुटबल एकेडेमीले हरेक शनिबार र आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन साना बालबालिकालाई लक्षित गर्दै फुटबल सिकाउँदै आएको छ । बालुवाटारको एक्सेल फुटसलमा हुने ट्रेनिङमा रफिका भैंसेपाटीबाट पुग्ने गर्थिन् । छोरीको फुटबलप्रतिको लगाव देखेर राज अवाले आफैं छोरी लिएर बालुवाटार पुग्थे । दुई घन्टासम्म छोरीको खेल नियालेर बस्थे र ट्रेनिङ सकिएपछि छोरीलाई लिएर घर फर्कन्थे ।

आईडीएल मोडल स्कुल, धोबीघाटमा कक्षा ७ मा अध्ययनरत रफिका भर्खर १२ वर्षकी भइन् । जुनियर फुटबल एकेडेमीमा तीन वर्ष बिताएकी उनी अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लबमा ट्रेनिङ गर्छिन् । डेढ महिना नेपाल पुलिस क्लबका महिला खेलाडीसँग ट्रेनिङ गरेकी रफिका अहिले आर्मीको सिनियर खेलाडीसँगै फुटबल कला सिक्दै आएकी छन् । उनी हरेक दिन ट्रेनिङमा सहभागी हुन्छिन् ।

सानै उमेरकी रफिकाको ‘स्किल’ देख्नेहरू भने चकित पर्छन् । सिनियर खेलाडीले गर्न नसक्ने स्किल उनले सरल रूपमा गर्छिन् । त्यही कारण जहाँ गए पनि रफिकाले सबैबाट तारिफ पाउने गरेको उनका बुवा राज अवाले बताउँछन् । ‘पुलिसमा ट्रेनिङ गर्दा पनि त्यहाँका गुरुले राम्रो छ भन्नुभएको थियो । आर्मीका प्रशिक्षक किशोर केसीले पनि फिजिकल रूपमा कमजोर भए पनि स्किल भने उत्कृष्ट रहेको बताउँदै आउनुभएको छ,’ अवालेले भने ।

जुनियर फुटबल एकेडेमीका सञ्चालक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षत्री रफिकाको जिज्ञासु स्वभावका कारण सानै उमेरमा धेरै ‘स्किल’ सिकेको बताउँछन् । ‘रफिका सानैदेखि जिज्ञासु थिइन् । एक पटक सिकाएको कुरा टपक्क टिपिहाल्ने क्षमता उनमा छ’ प्रशिक्षक क्षत्री भन्छन् । यसका साथै दुवै खुट्टा चलाउन सक्ने र ‘स्कोरिङ पावर’ भएकाले राष्ट्रिय टोलीको जर्सीमा देखिन सक्ने क्षत्री बताउँछन् ।

रफिका ट्रेनिङमा मात्र उत्कृष्ट छैनन् । फुटबलमा प्रतियोगितामा पनि उनले आफूलाई अब्बल सावित गर्दै आएकी छन् । उनी जुनियर फुटबल एकेडेमीको फुटबल फेस्टिभलमा उत्कृष्ट खेलाडी चुनिइन् । यसैगरी विभिन्न फुटसल प्रतियोगितामा पनि सहभागी भएर पुरस्कार जित्दै आएकी छन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि उनी कहिले छुटाउँदिनन् । हरेक पटक सहभागी भएर पुरस्कार जित्दै आएकी छन् ।

रफिका खेलकुदसँगै पढाइमा पनि अब्बल छिन् । ‘कक्षामा पहिलो, दोस्रो नभए पनि पढाइमा राम्रै गरिरहेकी छ । पढाइ र खेलकुद दुवैमा उत्तिकै मेहनत गरिरहेकी छ’ बुवा राज अवाले भन्छन्, ‘पढाइ नै बिग्रिने गरी खेल्न दिएका छैनौं ।’ रफिका पनि पढाइ बिग्रिने गरी नखेलेको बताउँछिन् । ‘हाम्रो मुख्य काम पढाइ हो । पढाइ नै बिग्रिने गरेर खेल्नु पनि राम्रो होइन,’ रफिका भन्छिन् । उनले खेलकुद र पढाइ दुवैलाई व्यवस्थापन गर्दै आइरहेको राज अवाले बताउँछन् ।

फुर्सदको समयमा घरको कोठामा होस् या आँगनमा रफिका फुटबलसँगै रमाइरहेकी हुन्छिन् । कोठामै फुटबल खेलेर धेरै सामान फुटाएकी रफिकाका लागि घरको कम्पाउन्डमै सानो मैदान बनाइएको छ । उनी फुर्सदको समयमा त्यहीँ रमाउँछिन् ।

रफिकाको लक्ष्य पनि कुशल खेलाडी बन्नेछ । यही लक्ष्य पूरा गर्न उनी हरेक दिन मेहनत गरिरहेकी छन् । उनले आर्मीका सिनियर खेलाडीसँगै वार्मअप गर्छिन् । उनीहरू जत्तिकै दौडिन्छिन् ।

अहिले सारा विश्व विश्वकप फुटबलमा डुबेको छ । फुटबल भनेपछि हुरुक्क हुने रफिका पनि विश्वकपमा चासो राख्दै आएकी छन् । उनले जर्मनीलाई ‘सपोर्ट’ गर्दैछिन् । त्यही कारण उनी साबिक विजेता जर्मनीको ‘जर्सी’मा देखिने गर्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.