मेलम्चीका लागि कुटनीतिक दबाबको पहल

मेलम्चीका लागि कुटनीतिक दबाबको पहल

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सुचारु गर्न ठेकेदार कम्पनीलाई दबाबका लागि कुटनीतिक पहल सुरु गरेकी छन्। मन्त्री मगरले बिहीबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटी मेलम्चीका ठेकेदारका बारेमा इटाली सरकारसमक्ष पहल गरिदिन विशेष आग्रह गरेकी हुन्।

मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीसँगै बसेर समय तालिका र सोहीअनुसारको कार्ययोजना बनाएको साथै सार्वजनिक रुपमा ठेकेदारले प्रतिवद्धता गरेको भए पनि पछिल्लो एक महिनायता काम नगरेको जानकारी गराइएको थियो। तोकिएको समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएअनुरुप कार्य गर्न इटालीको ठेकेदार कम्पनी सिएमसी रेभिनाको मुख्यालयमा समेत पहल गरी समस्या समाधान गर्न इटलीको सरकारसँग कुटनीतिक पहलका लागि पहल भएको हो। मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसी–रेभिनाले खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीब्रता नदिएपछि इटालीको सरकारसँग यथार्थ अवस्थाबारे जानकारी गराउन यस्तो पहल गरिएको मन्त्री मगरले अन्नपूर्णलाई जानकारी दिइन्।

मगरले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि भनिन्, ‘कुटनीतिकरुपमा इटाली सरकारका मार्फतबाट निर्माण कम्पनीसँग सहजीकरणका लागि आग्रह गरेका हौं, ठेकेदारले आफैंले सहमत भएको कार्ययोजनालाई समेत पुरा गर्न खोजेन साथै बारम्बार झुठा प्रतिबद्धतामात्रै व्यक्त गरिरह्यो।’ ठेकेदारका कारण इटाली सरकारप्रति समेत नकारात्मक धारणा विकास हुने भएकाले तत्काल इटाली सरकारसँग कुटनीतिक संवाद गरी निर्माण कम्पनीलाई थप दबाब दिन जरुरी रहेको उनको भनाई छ। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना हो। ‘सरकारको प्राथमिकतामा परेकै आयोजना ढिलाइ हुँदा नेपालका अन्य आयोजनामा समेत असर पर्ने प्रष्ट छ, त्यसैले इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा यसबारेमा चासो व्यक्त गराउन नेपाल सरकारका तर्फबाट पहल गर्न आवश्यक ठानेका हौं।’

सरकारले सन् २०१३ मा पाँच वर्ष काम गरेको चिनियाँ कम्पनी सिआरसिसीसँगको ठेक्का तोडेर सिएमसी नामको इटाली कम्पनीलाई मेलम्ची निर्माणको जिम्मा लगाएको थियो। २७ किलोमिटरमध्ये सिएमसीले २४ किलोमिटर सुरुङ खनेर हाल फिनिसिङको काम गरिरहेको छ। मन्त्रालयका अनुसार अब झन्डै १० प्रतिशतमात्र काम बाँकी छ। परराष्ट्र मन्त्रालय पुगेका खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसिले चैत्र २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ब्रेक थ्रु भएपछि सार्वजनिक समारोहमै ठेकेदारले समयमा नै काम सक्ने प्रतिबद्धता जनाएको बताए। ‘त्यसपछि सबै पक्षमा मिलेर अगस्त महिनाको ३० तारिखसम्म सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएका छौं’, उनले भने, ‘ठेकेदार कम्पनीले माग दाबी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति गरेको थियो।’ तर पनि नियतवश काम नगरेको उनको बुझाई छ।

परराष्ट्र मन्त्रालयले भारतको नयाँदिल्लीस्थित इटालीको राजदूतावासमार्फत् नेपाल सरकारको आधिकारिक धारणा इटाली सरकारसमक्ष राख्नुपर्ने हुन्छ। खानेपानी मन्त्रालयको पहललाई सकारात्मक भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यस विषयमा विस्तृतमा छलफल गरेर इटाली दुतावासमार्फत् सरकारलाई जानकारी गराउने छु। कम्पनीको ठेक्का म्याद यही जेठ ३१ गते समाप्त हँुदैछ। आयोजनाको मुख्यकार्य भनिएको सुरुङ ब्रेक थ्रुको काम सम्पन्न भए पनि अन्य मुख्य कार्यहरु बाँकी छन्। मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भित्रको फिनिसिङ, हेडवक्र्स निर्माण, भेन्टिलेसन साफ्ट जडान लगायतका काम बाँकी छन्। सचिव बिसीले भने, ‘ठेकेदारले कार्ययोजनाअनुरुप आफ्नो पूर्ण क्षमताले कार्य गरे तोकिएकै मितिमा काम सम्पन्न (मेलम्चीको पानी सुन्दरीजलमा पथान्तरण गर्न) गर्न सकिनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.