मलमास मनोविज्ञान

मलमास मनोविज्ञान

भृकुटीमण्डपस्थित एक चिया पसलमा गफिइरहेका एक युवकले आफ्ना साथीलाई भने, ‘अब बिहे गरेपछि त ढुक्क भयो होला नि ? राति अबेर आएर आफैं खाना बनाउनुपर्ने बाध्यता पनि हट्यो होला ।’ प्रत्युत्तरमा अर्का युवकले भने, ‘कहाँ त्यसो हुनु, मलमासले गर्दा सँगै बस्न पाएकै छैन । ससुरालीतिर महिनै दिन बार्ने चलन रहेछ । गाउँमा साथीचाहिँ श्रीमतीसँग सात दिन मात्र छुट्टिएर बस्यो ।’

‘हैट ! केको एक महिना बार्नुपर्छ । चार महिनाअघि विवाह गरेका मेरा बहिनी ज्वाइँ अस्ट्रेलियामा सँगै बसेका छन् । मेरो विवाह गरेको साल पनि मलमास थियो । खै मैले त बार्दै बारिनँ । हामी कोठामा सँगै बस्यौं ।’ उनले जवाफमा भने । उनीहरूको कुरा सुनेपछि सोधखोज गर्दा एक युवा झापाका रहेछन् भने अर्का युवक नेपालगन्जका नवविवाहित । झापामा भन्दा नेपालगन्जमा मलमास धेरै बार्ने चलन रहेछ । नवदम्पतीलाई सँगै बस्न पटक्कै दिइँदो रहेनछ ।

 के हो मलमास ?

यस वर्ष जेठ मसान्तभर मलमास छ । मलमास के हो भन्ने बारेमा धेरै चर्चा परिचर्चा सुनिन्छ । सूर्य र चन्द्रमाको गतिअनुसार महिना र वर्ष चल्छन् । सौरमास सूर्यको गतिअनुसार चल्छ भने चन्द्रमास चन्द्रमाको गतिअनुसार चल्छ । सौरमास ३० दिनको भएजस्तै चन्द्रमास नक्षत्रअनुसार २७ दिनको हुन्छ ।

‘सूर्य र चन्द्रमाको गति समान हुँदैन । चन्द्रमाको छिटो हुन्छ । चन्द्रमाको गतिअनुसार वर्षमा तीन सय ५४ दिन हुन्छन् भने सूर्यको गतिअनुसार तीन सय ६५ दिन र सवा ६ घन्टा ।’ नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठका उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले भने, ‘यसरी ३२ महिना १६ दिन चार घडी बितेपछि मलमास आउँछ । यसलाई अधिक मास, उब्रिएको मास पनि भन्ने गरिन्छ ।’ यी दुईवटा मासको अन्तर मिलाउन पनि ल्याइएको हो ।’

मलमास गणितमा आधारित रहेको सौरमास र चन्द्रमास सँगै हिँड्नुपर्छ भन्ने मान्यताअनुसार आएको बराल बताउँछन् । साथै लामा महिना भएको बेलामा मात्र मलमास पर्ने उनको भनाइ छ ।

‘यी दुवै महिना सँगै हिँड्न नसकेपछि ठीकठीक समयमा गरिएका कर्मको शुभफल प्राप्त नहुने स्थिति आयो । यसरी तीन वर्षमा करिब ३३ दिनको अन्तर हुने भयो । यसकै आधारमा धर्मशास्त्रमा मलमासको उल्लेख गरिएको हो ।’ वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराई भन्छन्, ‘मलमास आएपछि समय फेरि उही गतिमा हिँड्न सक्छ । मलमासलाई पश्चिमाहरूले लिप इयरको रूपमा मान्छन् ।’

यसरी अशुद्ध मानिएको महिनाका बारेमा रोचक कथा छ । मलमासलाई अशुद्ध भनेर देवीदेवताले पनि स्वीकार गरेनछन् । प्रत्येक महिनाका आआफ्नै देवता भए पनि आफू तिरस्कृत भएको, कुनै देवताले मतलब नगरेको महसुस गरेर मलमासले भगवान् विष्णुको आराधना गरेछन् । विष्णु भगवान् प्रसन्न भएर सोधेछन्, ‘तिमीलाई के आवश्यक छ ? किन खुसी छैनौ ? ’ त्यसपछि मलमासले भनेछन्, ‘मलाई अत्यन्तै दुःख छ । मलाई सबैले अशुद्ध मानेर हेप्छन् । सबैले निन्दा गर्छन् । यसबाट छुटकारा पाऊँ ।’

त्यसपछि विष्णु भगवान्ले तिमीलाई कसैले स्वीकार नगरे पनि म तिमीलाई माया गर्छु भनेर जवाफ दिएछन् । अब तिमी मलमास होइन, ‘पुरुषोत्तम मास’का नामले पुकारिनेछौ भनेर वरदान दिएछन् । यसरी मलमासबारे कालमाधव, धर्मसिन्धु, पुरुषार्थ चिन्तामणि आदि ग्रन्थमा चर्चा पाइन्छ । ‘मलमासमा विवाह, व्रतबन्ध, वास्तुपूजाजस्ता धार्मिक कृत्य गर्न बर्जित गरिएको छ ।’ भट्टराईले भने, ‘यस वर्षको मलमासमा जन्मिएका र मृत्यु भएका व्यक्तिको जन्मोत्सव र वार्षिक आगामी वर्षको असार महिनाको सम्बन्धित तिथिमा गर्नुपर्छ ।’

संस्कृतिविद् प्रा.डा. जगमान गुरुङ विवाह भएको एक वर्ष पनि नपुग्दै मलमास आएमा नवदम्पतीलाई सँगै बस्न धर्मशास्त्रमा बर्जित गरिएको बताउँछन् । ‘दम्पती सँगै हुँदा शारीरिक सम्पर्क हुन्छ । यसले जायजन्म हुन सक्छ । मलमासको अर्थ फोहोरी महिना भन्ने हुन्छ । यस्तो महिनामा जन्मिएको जातक राम्रो हुँदैन ।’

‘आफ्नो भावी सन्तान हरहिसाबले असल होस् भन्ने चाहना कसलाई हुँदैन र ? ’ गुरुङ प्रश्न गर्छन् । यसकारण पनि नवदम्पतीले मलमास बार्नु आवश्यक छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.