फुटबल हेर्न प्रतिबन्धत महिला
रसियामा जेठ ३१ देखि हुने विश्वकप फुटबलको रौनक विश्वभरि छ । महिला, पुरुष, बृद्ध, युवा सबै विश्वकपको व्यग्र प्रतीक्षामा छन् । प्रत्येक चार÷चार वर्षमा आयोजना हुने विश्वकप फुटबल रंगशालामै पुगेर हेर्ने सामथ्र्य सबैले राख्दैनन् । विश्वकप हेर्ने वैकल्पिक उपायका लागि विभिन्न तरिका अवलम्बन गरिन्छ । दुःखद् तथ्य के छ भने कतिपय देशमा कुनै पनि खेल हेर्न रंगशाला जान महिलालाई प्रतिबन्ध छ ।
महिलालाई फुटबल हेर्न प्रतिबन्ध लगाइएको देशमध्ये एक हो- इरान । राज्यले प्रतिबन्ध लगाए पनि खेलप्रेमी महिला भने रंगशाला जान छोडेका छैनन् । उनीहरू विभिन्न तरिका अपनाएर रंगशाला पुग्ने गरेका छन् । यस्तै घटना गत महिना इरानमा भयो ।
गत महिना इरानको राजधानी तेहरानको आदाजीमा भएको एक खेल हेर्न पाँच जना महिला पुरुषकै जस्तो दाह्री-जुँगा र नक्कली कपाल लगाएर रंगशाला पुगे । पुरुष दर्शकसँगै लहरै बसेर आफ्ना समर्थक टिमको खेल हेरे, रमाए । उनीहरू रमाइरहेकै थिए । तर, सँगै बसेका एकजना पुरुष दर्शकले उनीहरू महिला भएको चाल पाए । पुरुष दर्शकले उनीहरूको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे । भिडियो भाइरल बन्यो ।
ती साहसी र जिद्दी महिलाले रंगशालामा गएर कुनै अपराध नगरेको बताएका थिए । महिलालाई खेल हेर्न प्रतिबन्ध फुकुवा नगरेसम्म फरकफरक भेष धारण गरेर रंगशाला गइरहने उनीहरूले बताए । महिलामध्ये एक जनाले भनेकी थिइन्, ‘राज्यले सबै महिलालाई रंगशालामा खेल हेर्न दिने अनुमति नदिएसम्म हामी सधैं यस्तै गरिरहन्छौं ।’
बीबीसीका अनुसार, सोही खेल हेर्न फिफा अध्यक्ष जिआनी इन्फन्टिनो पनि रंगशाला पुगेका थिए । इन्फन्टिनोले इरानी राष्ट्रपति हसन रुहानीलाई महिलालाई खेल हेर्न अनुमति दिन आग्रह गरेका थिए । तर, राष्ट्रपति रुहानी उक्त प्रतिबन्धको विपक्षमै रहे पनि कट्टरपन्थीको विरोधका कारण प्रतिबन्ध हटाउन नसकेको बताएका थिए ।
इरानमा सन् १९७९ को मुस्लिम क्रान्तिपछि महिलालाई फुटबलसहित अन्य खेलकुदको कार्यक्रम हेर्न प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाउनुको खास कारण महिलाले अश्लील शब्द नसुनून् भन्ने रहेको बताइन्छ ।
महिलालाई रंगशाला जान प्रतिबन्ध लगाएको विषयमा सन् २००६ मा निर्देशक जाफर पनाहीले फिल्म ‘अफसाइट’ बनाएका थिए । फिल्ममा विश्वकप हेर्न लालायित महिला फुटबल-प्रेमीको संघर्षको कथा देखाइएको छ । फिल्म निकै रुचाइएको थियो ।
त्यस्तै अर्काे मुस्लिम राष्ट्र साउदी अरबका खेलप्रेमी महिला भने इरानी महिलाको तुलनामा केही ‘भाग्यमानी’ ठहरिएका छन् । साउदीका महिलाले केही महिना अघिदेखि फुटबल हेर्न रंगशाला जाने अनुमति पाएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, महिलासम्बन्धी एकदमै अनुदार मानिने राष्ट्र साउदी अरबले महिलालाई रंगशालामा प्रवेश दिएको छ । अनुमति दिएपछि महिलाहरू परिवारसहित फुटबल खेल हेर्न किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशाला पुगेका थिए । उनीहरूले इतिहासमै पहिलोपटक पुरुष दर्शकसँगै दर्शकदीर्घामा बसेर फुटबल हेरे । रंगशालामा फुटबल हेर्ने अधिकार त प्राप्त गरे तर पुलिसको प्रत्यक्ष निगरानीमा ।
- एजेन्सीको सहयोगमा