भोजपुरिया माटोको मोह
आफ्नो मातृभाषा भोजपुरीको गीत, संगीतमा औधी रुचि राख्छन्, वीरगन्जका आनन्दप्रसाद गुप्ता । उनी आफ्ना पुर्खाहरू युरोपको सुरिनाम, नेदरल्यान्डजस्तो देशमा बसोबास गर्ने गरेको अनि त्यहाँ पनि भोजपुरी भाषा जोगाएर राखेको त सुनेका थिए तर कसैसँग भेटेका थिएनन् । २०७४ चैतको अन्तिम साता ठमेलस्थित होटेल होली हिमालयमा नेदरल्यान्डबाट आएका गायक राजमोहनको भोजपुरी भाषामा आधा दर्जनभन्दा बढी गीत सुन्न पाउँदा उनी मक्ख थिए ।
प्रेस क्लब अफ इन्डियाद्वारा आयोजित दिल्लीको एक सांगीतिक कार्यक्रममा भाग लिन जाँदै गरेका राजमोहन पत्नी मालतीसहित एक रातको लागि काठमाडौं बसे । त्यही एक साँझ पनि संगीतमय बनाए । फोटो पत्रकार उषा तितिक्षुले संयोजन गरेको कार्यक्रममा कवि विप्लव प्रतीकलगायत भोजपुरी अवधी, थारू, मैथिलीलगायत गायक, कवि, गीतकारहरूको उपस्थिति थियो ।
गीत सुनाउनुभन्दा अगाडि राजमोहनले थोरै आफ्नो पृष्ठभूमि बताए । उनका पुर्खाले बताएअनुसार उनको पुख्र्यौली घर नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशकोे बस्ती गाउँ रहेछ । मामा घर छपरा गाउँ । सुगौली सन्धि अगाडि छपरा पनि नेपाली भूमिमै पथ्र्यो । भारतमा अंग्रेज शासकको बेला फर्किंदा गोरेहरूले दासको रूपमा हजारौं मजदुर आफूसँगै लगेका थिए उनीहरू । खासगरी उखु खेतमा काम गराउन भनी उनीहरू लगिएका थिए । यही क्रममा गायक राजमोहनको परिवार पनि सुरिनाम पुग्यो । सुरिनाममा दुई लाख भारतीय मूलका भोजपुरीवासी छन् । डेढ वर्षपहिले राजमोहनहरू सपरिवार नेदरल्यान्डमा छन् । त्यहाँ पनि दुई लाखकै हाराहारीमा भोजपुरीवासी रहेको उनले जानकारी दिए ।
डचहरूको नीति आफ्नो संस्कृति थोपर्ने थिएन । त्यसैले बसाइँसराइ गर्दा राजमोहनका पुर्खाहरू ढोलक, तबला, बाँसुरी, मुरली आदि सँगै लिएर भजनकीर्तन गर्दै गए । अनि पराइभूमिमा पनि गुन्जाए भोजपुरी संगीत । त्यसैको सिको गरे राजमोहनले पनि । उनी गुनगुनाए-
सात समुन्दर पार कराइके
एक नवा देशके सपना देखाइके
कैसे हो भर माइके
ले गइल सुरिनाम बटाइके
कपडा, लत्ता, खर्च रहे ना
गँठरिम बाँधके...।
अर्थात् सात समुद्र पार गराएर, नयाँ देशको सपना देखाउँदै सुरिनाम लग्यो । बाटो खर्च थिएन । कपडा, लत्ताको भारी बाँधेर हिँडियो ।
राजमोहन मामाघर भारत, छपरा सम्झेर नोस्टाल्जिक भइरहेका थिए । संयोग पनि कस्तो, साइकलबाट विश्व भ्रमणमा निस्किएकी सविता महतो (२३) पनि छपराकै थिइन्, जो राजमोहनको कार्यक्रममा आएकी थिइन् ।
भारतमा अंग्रेज शासकको बेला फर्किंदा उनीहरूले दासको रूपमा हजारौं मजदुर आफूसँगै लिएर गए । यस क्रममा गायक राजमोहनको परिवार पनि सुरिनाम पुग्यो र त्यहीँ भोजपुरी गीत गाउन थाल्यो ।
राजमोहनका पुर्खाहरू निकै पहिले सुरिनाम गए पनि उनी त्यहाँ १२ वर्षको उमेरमा पाइला टेकेका थिए । हिन्दुस्तानको गाउँको सम्झनाले गजल, खयाल, पुरी, दादरा, रवीन्द्र संगीतमा डुबे । अन्ततः २१ वर्षको उमेरमा गुरु नै थापेर संगीत सिक्न थाले । गीतसंगीतसँगै अनुसन्धानमा लागे । आफैं गीत, कविता रचे । नेदरल्यान्डसबाटै उनले भोजपुरीमै दुई कविता संग्रह प्रकाशन गरेका छन् । उनी आफूलाई समस्यामूलक मान्छे ठान्छन् । त्यो नभएको भए भाव कसरी फुर्ला र ? उनी प्रतिप्रश्न गर्छन् । उनले सन् २०१२ मा भोजपुरीमै पपगीतको एल्बम पनि ल्याएका छन् । सरनामी भोजपुरी भाषामा पश्चिमा देशबाट एल्बम निकाल्ने पहिलो हुन्, उनी ।
कुनै नयाँ धुन शायरी फुर्यो भने उनले श्रीमती मालतीलाई सबैभन्दा पहिले सुनाउँछन् । उनी श्रीमतीलाई जज मान्छन् । र, गुन्गुनाउँछन् ।
उल्टा सिधा जिन्गी कइके
हमार तुँ
कहाँ चलगइले ।
अर्थात् मेरो जिन्दगी उल्टो पाल्टो पारेर तिमी कहाँ पो गयो ?
उनका कुरा सुन्दा नारीवादी जस्तो पनि लाग्छ । उनको खरो टिप्पणी छ । धर्म पुरुषले बनाए । गीता, रामायण, पुरुषले लेखे । नारी आफूलाई बलियो सावित गर्नु छ भने अनाइकमा सीतालाई घर निकाला गर्ने रामलाई पूजा गर्न छाडाँं । बिदेसिँदै गरेका श्रीमान् सम्झिएर श्रीमतीको विलौना जोडेर उनले भोजपुरियाको बिदेसिया गीत गुन्गुनाए-
रेलिया वैंरग पियाको लिए जाए रे
जौने टिकटवासे सैया मोरे जैंहे
आधी रातमे सहरुवा जरी जाइ रे
जौने सहरवामे पिया मोरे नोकर
गोली डागे सहिबवा मरी जाए रे
राती सपना दिखाए पिया हमको
केकर सइया बिठाए पिया हमको
अर्थात् जुन सहरमा मेरा स्वामी जानेछन्, त्यो सहर नै जलोस् । जुन सहरमा नोकर बस्नेछन्, गोली लागेर त्यसको मालिक नै मरोस् । सपना देखाएर स्वामीले मलाई खै कसको पो जिम्मा लगाएर गए ।
उनी आफूलाई अझै गायक ठान्दैनन् । तर, गर्वका साथ भन्छन् ‘पेट भने गाएरै पालेको छुँ ।’ स्टेज सोमा उनको माग बढेको छ ।
‘मैं अकेला इस सहरमे’ नारा लेखिएको हल्का कालो रङको टिसर्ट र जिन्समा रहेका उनको मुहारमा झ्याप्पै दाह्री थियो । हजुरबुवाहरू छोटु, मोहन र बुवा हरिनारायणपछि गायक राजमोहन (६३) चौथो पुस्ताको रूपमा नेदरल्यान्डस, सुरिनाममा छरिरहेछन्, भोजपुरी संगीतको सुगन्ध । भोजपुरिया माटोको मोह उनको हरेक सासमा छ ।
उनको कथा पनि यथाशीघ्र प्रकाशित हुँदैछ । उनी दूरदराजमा भोजपुरी भाषा, संगीतमा एक्लै फिरन्ताझैं लागेका छन् । त्यसैले त ‘मैं अकेला इस सहरमे’ नारा लेखिएको टिसर्ट लगाउन रुचाउँछन् ।
त्यसो त भोजपुरी गीत भारत र नेपालमा निकै अश्लील पनि मानिन्छ, त्यो उनी पनि स्वीकर्छन् । उनको कुनै गीतमा भने अश्लीलताको गन्ध छैन । द्विअर्थी गीतको विरुद्धमा छन्, उनी । उनको काविलियत देखेर अहिले दिल्लीका मोहम्मद इरफान शैयदले साथ दिइरहेका छन् । उनको गीत प्रोमोट गर्न शैयद भाइहरूको सहयोगले अब भोजपुरी श्लील सांगीतिक अभियानमा एक्लो छैन भन्ने लागेको छ, उनलाई ।
सुरनामी भोजपुरी भाषीहरू हरेक वर्ष जुन ५ लाई प्रवासी दिवस मनाउँछन् २०१८ जुन ५ (२२ जेठ) राजमोहनका पुर्खाहरू भारतबाट सुरिनाम गएको एक सय ४४ वर्ष टेक्दैछ । चार वर्षपहिले सोही दिन भोजपुरीको ‘दुई मुठ्ठी एल्बम’ निकालेका उनले यस वर्षको प्रवासी दिवसमा भोजपुरी कथा संग्रह लिएर आउँदैछन् ।