वर्ल्डकप-गीत
जुन १४ देखि रुसमा सुरु हुने फिफा वर्ल्डकपका लागि तयार पारिएको गीत ‘लिभ इट अप’ बजारमा आइसकेको छ । युट्युबमा गीतको डेढ करोडभन्दा बढी भ्युअर पुगिसकेका छन् ।
वर्ल्डकपसँगै विश्वभरि चर्चामा आउँछ- वर्ल्डकपका लागि तयार पारिएको गीत । यही जुन १४ देखि रुसमा सुरु हुने फिफा वर्ल्डकपका लागि तयार पारिएको गीत ‘लिभ इट अप’ बजारमा आइसकेको छ । युट्युबमा गीतको डेढ करोडभन्दा बढी भ्युअर पुगिसकेका छन्।
‘लिभ इट अप’मा विल स्मिथ, एरा स्फ्रेती र निक्की जामले आवाज दिएका छन् । स्मिथ अमेरिकन नायक, प्रोड्युसर, र्यापर, कमेडियन र गीत-लेखक हुन् । ग्रामी अवार्ड विजेता उनी पाँच वटा ‘गोल्डेन ग्लोब अवार्ड’ र दुई वटा ‘एकेडेमिक अवार्ड’का लागि सूचीकृत भइसकेका छन् ।
स्फ्रेतीले १९ वर्षको हुँदा एकल गीत ‘मनी पर मनी’ बजारमा ल्याएकी थिइन् । यस गीतले अल्वानियन भाषीहरूमाझ निकै चर्चा बटुलेको थियो । गायन क्षेत्रमा उनको ख्याति यसै गीतबाट चुलिएको हो । ‘लिभ इट अप’मा स्वर दिने अर्का गायक निक्की जामको वास्तविक नाम निक रिभेरा क्यामिनेरो हो । अमेरिकन गायक तथा गीत-लेखक निक्की ‘ट्राभेसुरास’, ‘एल पार्डन’ जस्ता गीतबाट चर्चित छन् ।
वर्ल्डकप अवधिभर यी तीन म्युजिक स्टारले हजारौं दर्शकलाई ‘लिभ इट अप’ गाएर मनोरञ्जन दिनेछन् । वर्ल्डकप एक महिना (१५ जुलाईसम्म) चल्नेछ । स्टेडियममा यो गीतले हजारौं दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ । इन्टरनेटमा यस गीतको विभिन्न भाषामा ‘लिरिक्स’ समेत पाउन सकिन्छ ।
गीत सार्वजानिक भइसकेपछि गायक विल स्मिथले भनेका थिए, ‘वर्ल्डकपले विश्वभरिका मान्छेलाई एकै ठाउँमा ल्याउँछ । उनीहरूलाई मनोरञ्जन दिन्छ । हामीले लिभ इट अप रिलिज गरेका छौं । गीतमा आत्मीयता झल्किएको छ । हामी विश्व नाचेको हेर्न चाहन्छौं ।’
विश्वकप नजिकिएसँगै विश्वभरिका फुटबलप्रेमीमा बेग्लै खाले उमंग चढ्न थालेको छ । सामाजिक सञ्जाल चहार्दा यस्तो लाग्छ- सारा संसार वर्ल्डकप पर्खिरहेको छ । सोसल साइटमा मन परेको देशको ‘जर्सी’ लगाएर फोटो पोस्ट् गर्न थालिएको छ । मन परेको देशको पक्षमा स्टाटस पोस्ट भएका छन् । जितहारको सम्भावना केलाउन थालिएको छ । विगतको स्थिति ल्याएर विश्लेषण गर्नेहरूको कमी छैन । जित-हारमा हजारौंको बाजी राख्नेहरूका चहलपहल बढ्न थालेको छ । घर, परिवार, समाजमा पनि वर्ल्डकपलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ । भनौं, फुटबलप्रेमीका लागि वर्ल्डकप एउटा उत्सव बनिदिएको छ ।
२०१८ को वर्ल्डकपको चर्चा बढेसँगै ‘लिभ इट अप’ पनि घन्किन थालिसकेको छ । गीतमाथि थुप्रै चर्चा-परिचर्चा सुरु भएको छ । तीन मिनेट २८ सेकेन्ड लामो यो गीत गत २५ मे का दिन संसारभर सार्वजनिक गरिएको थियो ।
वर्ल्डकप-गीत रिलिज भइसकेपछि निक्की जामले भनेका थिए, ‘फिफा वर्ल्डकपको लागि गीत रेकर्ड गर्न पाउनु मेरो जिन्दगीकै सबैभन्दा ठूलो उपलब्धि हो । थोरै कलाकारले मात्रै यस्तो अवसर पाउँछन् । मेरो भागमा त्यो अवसर आइपुगेको छ, खुसी छु ।’
केही समयदेखि फिफा र सोनी म्युजिकको सहकार्यमा वर्ल्डकपको अफिसियल गीत सार्वजनिक भइरहेको छ । वर्ल्डकपको गीतका लागि फिफा र सोनीले वर्षौँदेखि सहकार्य गर्दै आएको र त्यसमा आफूहरू सफल पनि हुँदै आएको सोनीका चेयरम्यान तथा सीईओ एफो भेर्दीले भनेका छन् । उनी भन्छन्, ‘हामी अत्यन्तै आभारी छौं, विल स्मिथ, निक्की जाम र एरा स्त्रेफीसँग । उनीहरू संसारको यो उत्सवमय कार्यक्रममा सहभागी भएका छन् ।’
फिफा वर्ल्डकपको गीतलाई लिएर सामाजिक सञ्जाल भने दुई भागमा बाँडिएको छ । केहीले यो गीतलाई अत्यधिक रुचाएका छन् भने गीतको आलोचकहरू पनि बढिरहेका छन् । गीतले वर्ल्डकपको झल्को दिन नसेकको भन्दै सामाजिक सञ्जालमा गीतको व्यापक विरोध भएको छ । युट्युबमा राखिएको गीतमा आलोचना गर्नेहरू पनि प्रशस्तै छन् । उनीहरूको भनाइ छ- यो गीत कसैगरी वर्ल्डकपका लागि उपयुक्त छैन ।
‘द इन्डिपेन्डेन्ट’ का लागि रोइसिन ओ. कोनोरले ‘लिभ इट अप’ माथि गरेको समीक्षाको हेडलाइनमै लेखिएको छ, ‘यो गीत सुन्नलायक नै छैन ।’ गीत वर्ल्डकपका लागि उपयुक्त नभएको र यसले दिने सन्देश नै ‘क्लिसे’ भएको ‘इन्डिपेन्डेन्ट’को भनाइ छ । वर्ल्डकपलाई सम्झना दिने विषयवस्तु ‘जिरो’ भएको समीक्षामा उल्लेख छ ।
वर्ल्डकपकै लागि बनाइने हुनाले यस्ता गीतले फुटबल प्रेमलाई झल्काउनुपर्ने धेरैको तर्क छ । वर्ल्डकप आयोजक राष्ट्र, त्यहाँको संस्कृतिलाई पनि गीतले समेट्नुपर्ने बताइन्छ । यसअघिका गीतमा फुटबल प्रेम र गीतको भिडियोमा आयोजक राष्ट्रको संस्कृति झल्किएको देखिन्थ्यो । गीतको शब्द र भाव फुटबलमै केन्द्रित हुनुपर्ने फुटबलप्रेमी बताउँछन् । तर, २०१८ को वर्ल्डकपका लागि बनाइएको गीतले दर्शकलाई निराश पारेको गीत-समीक्षकको भनाइ छ । विगतका गीतभन्दा ‘खराब’ रहेको भन्दै ‘लिभ इट अप’ले रिलिज भएको दिन देखि नै आलोचना खेप्न थाल्यो ।
हामीले एउटा जीवन पाएका छौं र यसलाई खुसी साथ बिताउँ भन्ने भाव छ, गीतको । जीवन फेरि पाइँदैन, त्यसैले अहिलेको जीवनलाई नै खुसीसाथ बिताउनुपर्छ भन्ने गीतको मुख्य सन्देश छ । गीतको कोरसमा ‘वन लाइफ, लिभ इट अप, कज यु डन्ट लिभ ट्वाइस’ सुनिन्छ ।
अत्यधिक चर्चा हुने भएकाले वर्ल्डकपमा गीत गाउन पाउनुले धेरै गायकगायिकाको जीवनमा महत्वपूर्ण अर्थ राख्छ । एक महिनासम्म गीतको यति धेरै चर्चा हुन्छ कि एउटै गीतले गायकगायिकालाई विश्वभरि स्टार बनाइदिन्छ । स्टेडियमदेखि गल्लीगल्लीसम्म वर्ल्डकप-गीत बज्छ । तपाईंलाई मन परोस÷नपरोस, गीत सुन्नुपर्ने बाध्यता आइलाग्छ । चर्चा मात्र होइन, गायकगायिकालाई आर्थिक रूपमा पनि मनग्ये फाइदा पुग्ने बताउँछ- इन्डिपेन्डेन्ट । ‘वर्ल्डकपको अफिसियल गीतमा सहभागी हुन पाउनु एउटा कलाकारका लागि ठुलो सफलता हो । ग्रहकै सबैभन्दा ठूलो खेलमा आफ्नो प्रतिनिधित्व हुनु चानचुने कुरै होइन,’ इन्डिपेन्डेन्टले लेखेको छ, ‘यसका लागि राम्रो पेमेन्ट पनि गरिएको हुन्छ ।’
एरा स्त्रेफी भन्छिन्, ‘२०१८ को वर्ल्डकप ‘सङ’को हिस्सेदार बन्न पाउँदा मलाई एकदमै खुसी लागिरहेको छ । मलाई हर्षित तुल्याएको छ, यो अवसरले । क्षमतावान् गायकहरू डिप्लो, विल स्मिथ र निक्की जामसँग गीत गाउन पाउनु मेरा लागि सफलता हो । म फुटबलप्रेमी पनि हुँ । वर्ल्डकप कहिले सुरु होला भनेर पर्खिरहेको छु ।’
यस अघि साकिरा, पिटबुल, केनानजस्ता गायकले वर्ल्डकपको गीत गाइसकेका छन् । साकिराले २००६ का लागि गाएको ‘वाका वाका’ गीत अहिलेसम्मै चर्चित छ । युट्युबमा मात्र यो गीतको भ्युअर एक अर्ब ८५ करोड नाघिसकेको छ । त्यस्तै २०१० को वर्ल्डकपका लागि बनाइएको गीत ‘वेभिन फ्ल्याग’ अहिले पनि धेरैले आफ्नो मोबाइलमा सुन्छन् । यस्ता गीतमा वर्ल्डकपका दृश्य देख्न पाइन्छ । फुटबल प्रेमका शब्दहरू सुन्न पाइन्छ ।
गीतले नै वर्ल्डकप नजिकिएको माहोल तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । फिफाका लागि सन् १९९० मा एडोआर्दाे बेननाटो र गिआना नानिनीले ‘अनस्टेट इटालियाना’ बानेलको गीत गाएका थिए । सन् १९९४ मा डारिल हलले ‘ग्लोरिल्यान्ड’ गाएका थिए । सन् १९९८ मा रिक्का मार्टिनले ‘ला कोपा डि ला भिडा’ गीत गायका थिए । सन् २००२ मा एनास्टासियाले ‘बुम’ बोलको गीत गाएका थिए । २००६ मा ‘द टाइम अप आवर लाइभ्स’ डिभोले गायका थिए । २०१० मा साकिराको ‘वाका वाका’ गीत वर्ल्डकपको अफिसियल गीतको रूपमा सार्वजनिक भएको थियो । ‘वी आर वन’ २०१४ को फिफा वर्ल्ड कपको अफिसियल गीत थियो ।