'यो सरकारलाई रीत दोहोर्याउने मन्दिरको पुजारी जस्तो नठान्नू'
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दीर्घकालिन सोचसहित अघि बढ्नु पर्ने बताएका छन् । मन्त्री तथा सचिवहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयनबारे शुक्रबार सिंहदरबारमा निर्देशनदिँदै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आए र जनाधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताए । प्रधानमन्त्री ओलीले जनअपेक्षा पुरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिए ।
यो सरकार बिहान उठ्ने, मन्दिर जाने, पुजा गर्ने र भोलि उठेर त्यही रीत दोहोर्याउने मन्दिरको पुजारी जस्तो होइन यो सरकार’, उनले भने, ‘देशलाई हामीले नयांँ ढंगले अघि बढाउनुपर्छ । विगतको निरन्तरता मात्रै होइन ।’
प्रधानमन्त्री ओलीले विकासप्रतिको नयाँ दृष्टिकोण बनाउनु पर्ने पनि उल्लेख गरे । ‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम कसरी गर्ने, त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’, प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनामा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’
जमिनको सदुपयोग गरौँ
खेर गएको जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको धारणा छ । ‘जनताको अपेक्षा सरकारले सबै थोक गरिदेओस भन्ने हुन्छ’, उनले भने, ‘तर सरकारसँग त्यो सामथ्र्य नहुने भएकाले जनतालाई आफैँ सक्षम बन्न सिकाउनु पर्छ ।’
सरकारको नीति तथा कार्यक्रम र बजेटका बिषयमा असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाट जवाफ दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
सरकार शुसासनमा दृढ रहेकाले सबै मन्त्री र सचिबहरुलाई यसको प्रत्याभूति दिन प्रधामन्त्री ओलीले निर्देशन दिएक । ‘सरकार भ्रष्टाचारबारे शून्य सहनशील छ । त्यसकारण साथीभाइ, कार्यकर्ताका काम भनेर अपारदर्शी र अनियमितत नगर्नुहोस’, प्रधानमन्त्री ओलीले भने ।