दृष्टिविहीनले प्रधानमन्त्रीलाई भने: कि बाँच्ने आधार देऊ कि मारिदेऊ
काठमाडौंः नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेको छ । समितिले तत्काल शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न पनि माग गरेको छ ।
समितिले शुक्रबार रिपोटर्स क्लब नेपालमापत्रकार सम्मेलन गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई ढाँटेको आरोप पनि लगाएका छन् ।
सरकारले आफूहरुलाई रोजगारीको व्यवस्थान गरे जीवननिर्वाह भत्ताको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । ‘सरकारले केही गर्न नसक्ने हो भने मारिदिए हुन्छ’, उनीहरुले आक्रोशित हुँदै भने ।
आफ्नो योग्यता र क्षमताको आधारमा जीवन जिउन खोज्दा पनि राज्यले सहयोग नगरेको भन्दै नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितीका सदस्यहरुले गुनासो पोखेका छन् ।
‘राज्यले हामीलाई न्याय दिनुपर्यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्था हुनुपर्यो’, उनीहरुले भने, ‘हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदि हामी माग्ने भए देशका सबै गायक तायिका माग्ने हुन्, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजाय दिने भए भ्रष्टाचारी र दलाललाई दिनुहोस, हामीलाई होइन ।’
कार्यक्रममा राष्ट्रिय अपाङ्ग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले सरकारले अपांगता भएकाहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्ति जनाएका छन् । हालै आएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा समेत अपांगता भएका व्यक्तिहरुबारेमा कुनै सम्बोधन नगरेकोमा पनि उनको आक्रोश थियो ।
संघर्ष समितिका उपाध्यक्ष दिपराज परियारले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई अवहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए । आफूहरुले पशुपतिनाथ मन्दिर परिसरमा कला र गला प्रस्तुत गर्दै आएकोमा पशुपति क्षेत्र विकाषकोष र महानगरीय प्रहरी मिलेर बाद्यबाधनका सामाग्री खोसेकोमा आक्रोश पोखे ।