एपीएफले युनाइटेड सिक्कीमलाई हरायो
मलंगवा : लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा एपीएफ विजयी भएको छ। शुक्रबार भएको भारतको युनाइटेड सिक्किमसँगको खेलमा एपीएफ ट्राइबेकरमा ४-१ विजयी भएको हो।
दुबै टिमबाट २-२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। पहिलो हाफको ७ औं मिनेटमा एपीएफको तर्फबाट पहिलो गोल श्याम नेपालीले गर्दै टिमलाई अग्रता दिलाएका थिए। सिक्कीमको तर्फबाट १३ औं मिनेटमा पिएलसाग लामाले पहिलो गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए। तर, दुई मिनेट नपुग्दै १५ औं मिनेटमा एपीएफका तर्फबाट प्रविण स्याङतानले दोस्रो गोल गर्दै अग्रता आफ्नो पक्षमा बनाए।खेलको २७ औं मिनेटमा सिक्किमका नागेन तामाङले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
समय अभावका कारण अतिरित्त समय नथप्दै खेललाई ट्राइबेकरमा पुर्याइएको थियो। ट्राइबेकरमा सिक्कीम ४-१ ले पराजित भएको हो। खेल अवधिभर सिक्कीमको दबदबा देखाए पनि उसका सबै प्रहारलाई एपीएफका रक्षक राजु नगरकोटीले बिफल बनाएका थिए। नगरकोटी म्यान अफ द म्याच बने।
६८ लाखको लागतमा आयोजना गरिएको प्रतियोगिताका विजेताले सात लाख, उपविजेताले साढे तीन लाख पुरस्कारपाउनेछन्। प्रतियोगितामा सर्लाही ११, जावलाखेल युथ क्लब, थ्रि स्टार, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा रमपम ११, गोरखा ब्याईज रुपन्देही, विजय युथ क्लब हेटौडा, कास्की ११ र भारतको युनाईटेड सिक्कीम सहभागी छन्। शनिबारको खेल जावलाखेल युथ क्लब ललितपुर र रमपम झापा ११ को बिच हुने छ।