मुम्बईमा कुनै कहानी छैन : सुभाष घईको अन्तर्वार्ता
कान्तिपुर फिल्म एकेडेमीको निम्तो मान्न नेपाल आएका भारतका भेट्रान फिल्म निर्देशक सुभाष घई (७३) ले यहाँका फिल्मकर्मी, फिल्मका विद्यार्थीसँग सिनेमामाथिका आफ्ना अनुभव साटे। वर्तमानमा बनिरहेका फिल्ममाथि उनको एक लाइन टिप्पणी छ, ‘अहिलेका फिल्म फिल्म मात्र होइनन्, हाम्रा कहानी हुन्।’ उनले मनीषा कोइरालालाई ‘सौदागर’ फिल्मबाट हिन्दी सिनेमामा ब्रेक दिएका थिए। घईले ‘इक्वाल’ फिल्मका लागि नेसनल अवार्ड जितेका थिए। ‘ताल’, ‘राम–लखन’, ‘परदेश’लगायत थुपै्र हिट सिनेमाका निर्देशक घईसँग सिनेमा, फिल्म–यात्रालगायत विषयमा दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले गरेको संवाद :
लामो समय फिल्म निर्देशकको रूपमा काम गरेपछि अहिले फिल्म शिक्षणमा हुनुहुन्छ। ती दिन कसरी सम्झिनुहुन्छ ?
दिल्लीबाट मुम्बई पुगेको एउटा केटा थिएँ म। यदि मैले फिल्म उद्योगबाट केही पाएको छु भने त्यो सबै एफडीआईको प्रतिफल हो। त्यसैले मलाई लाग्छ, तालिम सबैभन्दा महत्वपूर्ण कुरा हो। लेखक, कलाकार, निर्देशक जे बन्न पनि तालिम आवश्यक छ। मैले एफडीआईमा तालिम लिएकै कारण आजको सुभाष घई बन्न सफल भएको हुँ। त्यसैगरी सभाना आजमी, नसिरुद्दिन साह सबै त्यही तालिम केन्द्रबाट आएका हुन्। यदि तालिम केन्द्र हुँदैनथ्यो भने त मैले कसैलाई चिन्दा पनि चिन्दिनथेँ किनभने न म यश चोप्राको छोरा थिएँ न त देवानन्द वा राजकपुरको नै। म त दिल्लीबाट आएको सीधासाधा केटो थिएँ। मसँग लेख्ने तालिमबाहेक केही थिएन। मलाई जे बनायो तालिमले बनायो। त्यसैले मेरो स्पष्ट धारणा छ, डाक्टर, पाइलट, इन्जिनियर बन्न जस्तै अभिनय र लेखनको लागि पनि तालिम चाहिन्छ। त्यसैले एउटा तालिम स्कुल हुन आवश्यक छ। नेपालमा पनि यस्तो तालिम केन्द्र खुलेकोमा म खुसी छु। यसलाई सफल बनाउन सरकारले पनि सहयोग गर्नुपर्छ।
अर्थात्, फिल्म लिबरल आर्ट हुँदाहुँदै एक प्रकारले प्राविधिक विषय पनि हो। यसलाई पनि तालिम चाहिन्छ !
एउटा कथालाई फिल्ममा रूपान्तरण गर्दा प्रविधि पनि चाहिन्छ। यसमा क्राफ्ट, कला र विज्ञान हुन्छ। त्यसैले त्यसलाई तालिम चाहिन्छ। आकाशबाट आएर कोही सफल बन्दैन। हुन सक्छ, कसैले ८, १० वर्ष घरमै अभ्यास गरेको होस्। घरमा १० वर्ष एक्लै अभ्यास गर्नुभन्दा उचित त आठ घण्टा तालिम गर्दा हुन्छ नि !
तपाईं फिल्मको सामाजिक दायित्वलाई कसरी व्याख्या गर्नुहुन्छ ?
रामायण, महाभारतजस्ता प्राचीन कथाहरूमा पनि एउटा समानता थियो – नाटक। त्यो नाटकले मनोरञ्जन पनि दिन्थे। साथसाथै तिनले पात्र बनाउँथे। रामायण, महाभारतको नाटक हेर्ने जोकोहीले पनि कतै म विभिषण त बनिनँ ! वा द्रौपदी बनेँ कि भनेर आफैंलाई प्रश्न गर्छ। ती नाटकबाट आध्यात्मिक र मानसिक समृद्धि प्राप्त हुन्छ। त्यसैले नाटक एक यस्तो माध्यम हो जसले व्यक्ति निर्माण गर्छ।
केही वर्षपहिले तपाईंले एउटा निर्मातामाथि आलोचना गर्नुभएको थियो, ‘फिल्म निर्माताहरू समाजप्रति जिम्मेवार भइरहेका छैनन्।’ तपाईंको मूल आसय कसलाई थियो ? के थियो ?
यसको अर्थ फिल्म निर्मातालाई लक्षित थिएन। कहिलेकाहीँ फिल्म निर्माताले आफ्नो सामाजिक दायित्व बिर्सिदिन्छन् जसले गर्दा उनीहरू सामाजिक रूपमा घृणा पैदा हुने सामग्री प्रस्तुत गर्छन्। फिल्म निर्माताहरू बहस सिर्जना गर्न सक्छन्। तर, फिल्मले आक्रोश र घृणा निर्माण गर्नु हुँदैन। फिल्मले शान्ति, मेलमिलाय, सहकार्य, राष्ट्रियता, परम्पराको सन्देश दिने हो। अहिले त टेलिभिजन च्यानलहरूले यस्तो बनाइदिएका छन् सत्य के हो भन्नेमा नै सबैजना अलमल छन्।
तपाईंलाई भारतीय सिनेमाका निर्देशकहरूले आफ्नो भूमिका इमानदारीसाथ निर्वाह गरिरहेछन् भन्ने लाग्छ ?
इमानदारी कसलाई भन्ने ? डकुमेन्ट्री बनाउनेले सबैभन्दा धेरै इमानदारीका साथ बनाइरहेछन्। तर, फिल्ममा त फिक्सन (आख्यान) आउँछ। फिक्सनले मनोरञ्जनात्मक हिसाबले नै सन्देश दिने हो। पुराना नाटक हेर्नुभयो भने सबैजसो कवितामा लेखिएको छ किनभने कविता गाइन्छ। त्यसरी गाइएको कविता सम्झनामा पनि बस्छ। फिल्ममा यस्तो मनोरञ्जन अझ बढी हुन्छ। त्यसमा विदुषक पनि आउँछ, द्वन्द्व पनि आउँछ, गीत–नृत्य पनि हुन्छ। तर, अन्तिममा फिल्मले एउटा सन्देश दिन्छ। जसरी मैले बनाएको फिल्म ‘परदेश’मा एउटा सन्देश छ– अमेरिकी सपना, भारतीय आत्मा। ‘ताल’ मा प्रेमको उदय।
के सिनेमाको सामाजिक दायित्वसँगै राजनीतिक भूमिका पनि हुन्छ ?
राजनीति समाजको एउटा निकै ठूलो पक्ष हो। त्यसैले फिल्ममा राजनीति अवश्य आउँछ।
सिनेमाको राजनीतिलाई कसरी व्याख्या गर्नुहुन्छ ?
खासै केही छैन। जसले जित्यो उही सिकन्दर। यसमा अरू कुनै राजनीति छैन। जसको फिल्म हिट हुन्छ उसैले जित्छ।
भारतीय सिनेमा उद्योगलाई हेर्दा हिन्दीको बाहुल्य धेरै पाइन्छ। किन ?
हिन्दी हाम्रो राष्ट्र भाषा हो, त्यसैले।
राष्ट्र भाषा त अरू पनि छन् नि !
अहिले तमिल फिल्म उद्योग पनि निकै अगाडि आइरहेको छ। त्यसैगरी अन्य भाषाका फिल्म पनि आइरहेछन्। भारतमा धेरै भाषा छन्। सबै भाषालाई स्वागत छ।
अन्तर्राष्ट्रिय सिनेमाको परिप्रेक्ष्यमा भारतीय सिनेमाको अवस्था कस्तो पाउनुहुन्छ ?
भारतले आफ्नो कथा भन्न अझै धेरै मेहनत गर्नुपर्छ। खासगरी आफ्नो पुरानो सांस्कृतिक कथा भन्नका लागि। त्यसभित्र पनि प्रतिस्पर्धा अझै बढी गर्नु छ। अहिले अन्तर्राष्ट्रिय सिनेमा जगत्ले भारतीय सिनेमालाई सम्मान गर्छ। तर, हामी अझै पनि ओस्कार वा क्यान्स जित्नेगरी अगाडि बढिसकेका छैनौं।
यो ‘आफ्नो कथा’ भनेको चाहिँ के हो ?
तपाईं जुन गाउँबाट आउनुभएको हो त्यो गाउँमा केही कथा अवश्य छन्। त्यही हो आफ्नो कथा। त्यसमा फिल्म बनाउनुस्, पक्कै सफल हुनुहुनेछ। मुम्बईमा आउनेहरूले पनि आफ्नो–आफ्नो कथा लिएर आउँछन् र त्यहाँ पुगेर फिल्म बनाउँछन्। त्यसैले मुम्बई कहानी भएको ठाउँ होइन, कहानीलाई फिल्म बनाउने ठाउँ हो।
त्यसो भए समकालीन भारतीय सिनेमाहरूले आफ्नो कथा भनिरहेका छैनन् त ?
भारत विशाल छ नि त ! सबैले आफ्नै कथा बताइरहेका छन्। हरियाणीमा ‘दंगल’ छ। पिकुमा ‘बंगाली’ परिवार छ।
भारतीय सिनेमाको भविष्य कस्तो देख्नुहुन्छ ?
एकदमै उज्ज्वल छ किनभने भारतसँग अझै पनि सुनाउन बाँकी १० हजार कथा छन्।