गोरेसहित चार जनालाई काठमाडौं झिकाइने
काठमाडौं : साढे ३३ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्न ‘गोरे’ भनिने चूडामणि उप्रेतिसहित चार जनालाई काठमाडौं झिकाइने भएको छ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण विभागले आवश्यक छानबिन गर्न गोरे, निलम्बित एसएसपी श्याम खत्री, डेविट भनिने छिरिङ वाङ्दा घले र भुजुङ गुरुङलाई काठमाडौं पठाउन कारागार व्यवस्था विभागलाई पत्र लेखेको छ ।
शुद्धिकरणले काठमाडौं झिकाएकै मौका छोपेर गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समितिले उनीहरूलाई पुनः छुट्टाछुट्टै र सामूहिक बयान लिने तयारी गरेको समितिका एक सदस्यले बताए । उनका अनुसार गोरेले विमानस्थलबाट हुने सुन तस्करीका बारेमा समितिलाई केही सूचना दिएका छन् । ती सूचना एसएसपी खत्रीसँग मेल खाने देखिएको छ । ‘भुजुङले गोरेमाथि लगाएको आरोपबारे जिल्ला अदालत मोरङमा गोरेले इन्क्वारी बयान दिएका थिए ।
दुवैजनालाई एकै ठाउँमा राखेर सोधपुछ गर्दा केही नयाँ तथ्य फेलापर्छ भन्ने हाम्रो ठम्याई हो, समितिका ति सदस्यले भने, ‘गृहमन्त्रीज्यूले पनि एक पटक मुख्य अभियुक्तमाथि पुन सोधपुछ गर्ने आदेश भएपछि समितिले तयारी गरेको हो ।’ सम्पत्ति सुद्धिकरणले बयान लिएपछि चारै जनालाई प्रहरीकै हिरासतमा राखेर समितिले सोधपुछ गर्ने तयारी गरेको छ ।
समितिले गोरे–डिएसपी प्रजित केसीसँग भएको फोन सम्वादका बारेमा समेत गोरेसँग सोधपुछ गर्ने भएको छ । त्यस्तै गोरेले छिरिङ आफूभन्दा माथिल्लो तहको तस्कर भएको बयान समितिलाई दिएपनि उनीहरूले छुट्टाछुट्टै अदालतमा बयान दिएपछि थप नयाँ तथ्य केलाउन बयान लिने तयारी समितिले गरेको छ । ‘गोरेलाई केही सोधपुछ गरियो, छिरिङ र खत्रीले समितिले बयान लिनै नपाइ सिधै अदालतमा गएर हाजिर भएकाले थप सोधपुछ गर्नुपर्ने आवश्यकता औंल्याइएको हो’, समितिका ति सदस्यले भने, ‘ अभियुक्तले अदालतमा जहिल्यै आफूलाई बचाउने गरी बयान दिने चलनै हो ।’
अग्रवालको घरमा छापा
समितिले सुन तस्करी मध्येका आरोपी मोहन कुमार (एमके) अग्रवालको घरमा शुक्रबार साँझ छापा मारेको छ । अग्रवाल कालिकास्थानमा बस्दै आएपनि अहिले उनको परिवारका एकजना सदस्य पनि बसेका छैनन । सुन तस्करीको नेटवर्क चलाइरहेका अग्रवाल प्रायः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर आएको सुनमा लगानी गर्ने र भारत पठाउने मुख्य व्यक्ति रहेको ठहर समितिको छ ।
गायव पारिएको साढे ३३ किलो सुन एमके अग्रवालले नै मगाएको समितिको विभिन्न अनुसन्धानबाट खुलेको थियो । समितिले अग्रवालको घरबाट ३० लाख नगद, ३ थान सुनाका ढिक्का, गरगहना, विभिन्न बैंकका चेक तथा नेपाल–भारत आउजाउ गरेको कागजात पनि बरामद गरेको छ ।