कविता : चितुवा
हामीले यो मर्दैमर्दै छाडिगएको
हाम्रो खप्पर खसेको माटोमा
फर्कन्छौं है– शिर उभ्याउन
केसरी घाम टल्काएर निधारको झन्डामा ।
‘हामी त तरुलभ्याकुर खाँदै, रनवन घुम्दै
कुम्भकर्ण पर्वतदेखि हिमालय पर्वतसम्म खेलिहिँड्ने
वनवासी हौं’*
तिम्रो नीतिको भालाले कोख छाम्न थालेपछि
अगुल्टो भएर फर्कन्छौं है– सिमेन्टको जंगल ।
इतिहासको ओछ्यानबाट
ब्यूँझेको छ साकेला यलाखोममा*
त्यहाँ देखिनेछ
वुकीफूलको* कान निमोठेर कोकुले जन्माएको आगो
अक्कासको बगैंचाबाट जूनफूल टिपेर
आफ्नो थाप्लोको फूलबारीमा रोप्दै
समयको लगाम समात्ने नाना
देखिनेछ बाजे– तालेत* तन्काउदै
हुचिलको आँखातिर ।
हामी चितुवा ।
पस्छौं मूतको आफ्नै हरक सुँग्दै
भुतभुते खेल्न यहि माटोको धुलोमा
यानि कि
हाम्रा विरूप भनिएका पञ्जाहरू
आजभोलि बेस्सरी चिलाउन थालेको छ ।
*साकेला गीतको एक हरफ : अरुण उपत्यका
*यलाखोम : काठमाडौं
*वुकीफूल : एक प्रकारको फूल, जसको झुसबाट आगो बाल्न सकिन्छ
*तालेत : प्राचीन किराँती हतियार