कविता : सीमा क्षेत्रको बासिन्दा
वारि बसेको छ
आँखा उघार्दा पारि देखिन्छ
घरबार यता छ
नेकेवदी उता राखिन्छ
ऊ न कसैको पक्षमा बोल्न सक्छ
ऊ न कसैको विपक्षमा उभिन सक्छ
कसैले ओढ्छ,
उसलाई त्यो पनि मञ्जुर छ
कसैले ओछ्याउँछ,
उसलाई त्यो पनि मञ्जुर छ
आवश्यकताले यस्तो बनाएको छ उसलाई
पेटमा अजिंगर बस्छ
र, टाउकोमा पेट छ
बरु नदीमा बग्दै आएको काठ भए
कसैले त कुनै घाटमा उताथ्र्यो
यहाँ त ऊ—
एउटाको पहरेदार र अर्काको सुराकी भएको छ
भाग्न सक्तैन चाहेर पनि ऊ— आफूबाट
पाइला सार्नुअगावै
पर्खालमा अनुदित भइदिन्छ उसको बाटो
र, ड्याम्प ! अनुहारमा आएर ठोक्किन्छ
भाषा एउटा छ, भूगोल अर्कै छ
झन्डा एउटा छ, झन्झट अर्कै छ
खोल्नु हुन्न मनका कुराहरू— मनमै राख्नुपर्छ
बोल्यो भने के हुन्छ यसको परिणाम
पटकपटक उसले देखेको छ
मर्ने आजै मर्छ
र, सरकारले भोलिपल्ट
कूटनीतिक वार्ताको पहल गर्छ
देशको कुनै सीमाक्षेत्रको बासिन्दा हो ऊ
घरिघरि हेर्छ—
सिमाना भएर बग्ने नदीलाई
र, जानी नजानी— दिनहुँ
आफ्नो आँसुले
त्यसको आयतन बढाउने गर्छ !!